• १३ साउन २०८१, आइतबार

भारतबाट फर्कनेमा काेरोनाको सङ्क्रमण देखिँदै

blog

–फाइल फाेटाे

कञ्चनपुर, साउन ८ गते । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको सङ्क्रमण देखिन थालेको छ । भारतबाट फर्कनेमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि सीमाक्षेत्रमा स्वास्थ्यकर्मीले उच्च सतर्कता अपनाएका छन् ।    

शङ्कास्पद व्यक्तिको एन्टिजेन विधिबाट कोरोना परीक्षणको कार्य सीमाक्षेत्रमै गर्ने व्यवस्था गरिएको छ । सीमा नाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक चारदेखि पाँच जनामा कोरोनाको सङ्क्रमण देखिन थालेको छ । भारतबाट फर्कने शङ्कास्पद व्यक्तिको एन्टिजेन विधिबाट परीक्षण गर्दा दैनिक नतिजा पोजेटिभ आउनेको सङ्ख्या बढ्दो रुपमा छ ।    

एक साताको अवधिमा २२ जना बढीमा कोरोनाको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । “आज बिहान मात्रै एन्टिजेन परीक्षण गर्दा चार जनाको नतिजा पोजेटिभ देखिएको छ”, उहाँले भन्नुभयो, “गत मङ्गलबार मात्रै नौ जनाको एन्टिजेनको नतिजा पोजेटिभ देखिएको थियो ।”    

दैनिक दुई सयभन्दा बढीको एन्टिजेन परीक्षण हुँदै आएको छ । एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएकालाई सीमाक्षेत्रबाटै एम्बुलेन्समार्फत महाकाली प्रादेशिक अस्पताल पठाउने व्यवस्था गरिएको छ । “एन्टिजेनको नतिजा पोजेटिभ आएकालाई निःशुल्क रुपमा एम्बुलेन्समार्फत् अस्पताल पठाउने गरेका छौँ”, उहाँले भन्नुभयो, “अस्पतालमा परामर्शपश्चात होम आइसोलेशनमा पठाइने गरिएको छ ।”

कोरोना परीक्षणका लागि आवश्यक पर्ने किटलगायतका सामग्रीको हालसम्म अभाव नरहेको उहाँले बताउनुभयो । दैनिक सीमा नाका भएर फर्कनेको सङ्ख्या चारदेखि पाँच सयको सङख्याको हाराहारीमा रहने गरेको छ ।

भारतबाट फर्कने व्यक्तिमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि परीक्षणकोलाई तीव्रता दिइएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताउनुभयो । कोरोनाविरुद्धको जनचेतना फैलाउने कार्यसँगै पालिकामा कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो ।