• १८ चैत २०८२, बुधबार

जलजलामा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

blog

सेनाद्वारा सञ्चालन गरिएको स्वास्थ्य शिविर । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी,चैत १८ गते । बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका-४, मल्लाजमा नेपाली सेनाको बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

सेनाको नयाँ रणभीम गुल्म अन्तर्गत रहेको दुर्लुङ्गथुम ब्यारेक पर्वतको आयोजना र जलजला गाउँपालिका ४ नम्बर वडा कार्यालयको संयोजनमा फट्केढुङ्गा आधारभूत विद्यालय परिसरमा एकदिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

शिविरमा सैनिक अस्पताल पोखरा र प्रदेश अस्पताल बेनीबाट खटिएका चिकित्सकले बिरामीको स्वास्थ्य परीक्षण गर्ने  व्यवस्था मिलाइएको छ ।

शिविरमा नम्बर २३ फिल्ड एम्बुलेन्स गुल्म बागलुङ र क्लिनिक नेपाल भरतपुरको प्राविधिक सहयोग गरेको गुल्मपति सेनानी चिरञ्जीवी सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरमा स्त्री तथा प्रसुति, हड्डी तथा जोर्नी, दन्त,छाला सम्बन्धी रोग, उच्च रक्तचाप, मधुमेह, कान, नाक, घाँटी तथा आँखा र अन्य रोगको परीक्षण गरी निःशुल्क औषधी  वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

उहाँले भन्नुभयो, “दुर्गम भेगमा बसोवास गर्ने गरिब तथा विपन्न परिवार, दलित समुदाय लगायतका नागरिकलाई स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउन बृहत् स्वास्थ्य शिविरको आयोजना गरेका हौँ । शिविरले रोग लुकाएर बसेका सर्वसाधारणको रोगको पहिचानमा पनि सहयोग पुग्ने आशा गरेका छौँ । स्वास्थ्य परीक्षण गरी रोग अनुसारको औषधी पनि वितरण गरिएको छ ।’’

शिविरमा करिब चार सय देखि पाँच सयको स्वास्थ्य परीक्षण गरी औषधी वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । शिविरलाई सफल पार्नका लागि गाउँपालिका र वडाले आवश्यक सहयोग उपलब्ध गराएको जलजला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष भरतबहादुर क्षेत्रीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “गाउँमा विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा पाएपछि बिरामी खुसी भएका छन् ।” शिविरमा माझफाँट, बासखर्क र लेखफाँटका बस्तीबाट सर्वसाधारण स्वास्थ्य परीक्षणका लागि आएका छन् ।