पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, चैत १८ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा देखिएको अवरोध र ढिलासुस्ती अन्त्य गर्न पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल सक्रिय हुनुभएको छ। विगत सात वर्षदेखि यात्रुले खेप्दै आएको सास्ती कम गर्न र निर्माण कार्यलाई तीव्रता दिन उहाँले स्थलगत अनुगमन गरी सरोकारवाला निकायलाई निर्देशन दिनुभएको हो।
दाउन्ने बजार, घिउखोला र विश्वकर्मा मन्दिर आसपासको करिब ७ किलोमिटर क्षेत्र अत्यन्त संवेदनशील मानिन्छ। वर्षायाम सुरु भएसँगै सडक हिलो र चिप्लो हुने भएकाले सवारीसाधन उकालो चढ्न नसक्ने, बिचमै रोकिने र सडक अवरुद्ध हुने समस्या दैनिकजसो दोहोरिँदै आएको छ।
नारायणगढ–बुटवल सडक योजना (पश्चिम खण्ड) का आयोजना प्रमुख, निर्माण कम्पनीका प्रतिनिधि र सुरक्षा निकायका अधिकारीसहित अनुगमनमा पुग्नुभएका प्रजिअ नेपालले समस्या समाधानका लागि तत्काल पहल थाल्न निर्देशन दिनुभयो। उहाँले वर्षामा अत्यधिक चिप्लिने स्थानहरूमा तत्काल ग्राभेल हालेर आवागमन सहज बनाउन र निर्माण कार्यमा थप जनशक्ति परिचालन गरी कामलाई गति दिन आयोजना र निर्माण कम्पनीलाई सचेत गराउनुभएको छ।
साथै, सडक जामको प्रमुख कारण मानिएको अव्यवस्थित ओभरटेक र लेन अनुशासनको अभाव नियन्त्रण गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको छ। प्रजिअ नेपालले तिलकपुरस्थित धर्मकाँटाको समेत निरीक्षण गर्दै ओभरलोड मालवाहक सवारीका कारण सडक थप जीर्ण बनेको भन्दै त्यस्ता सवारीलाई जरिवानासहित कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिनुभयो।
दाउन्ने खण्डको निर्माण कार्य दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालको सुस्त कार्यशैली र न्यून जनशक्तिका कारण चुनौती देखिएको छ। यद्यपि, दाउन्ने पश्चिम आयोजना प्रमुख पशुपति ज्ञवालीले आगामी वैशाख महिनाभित्र दाउन्ने खण्डको एकतर्फी निर्माण सम्पन्न गर्ने दाबी गर्नुभएको छ।
२०७५ साल माघ २४ गते सम्झौता भई साढे तीन वर्षमा (२०७९ साउन) सक्ने गरी सुरु भएको बुटवल–नारायणगढ सडक विस्तार आयोजना पटक–पटकको म्याद थपमा अल्झिएको छ। तेस्रो पटक थपिएको म्यादमा पनि काम नसकिएपछि अहिले चौथो पटकका लागि २०८३ साल साउन पहिलो सातासम्म म्याद थप गरिएको छ।
प्रजिअको पछिल्लो सक्रियताले निर्माण कार्यले गति लिने र यात्रुले भोग्दै आएको सास्ती केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।