सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा), चैत १८ गते । पछिल्ला केही वर्षयता धनकुटा जिल्लामा लागूऔषध सेवन र कारोबार उल्लेखनीय रूपमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आर्थिक वर्ष २०७७–७८ देखि चालु आर्थिक वर्ष २०८२–८३ सम्म मुद्दा दर्ता संख्या, पक्राउ पर्ने व्यक्तिहरू र बरामद हुने लागुऔषधको परिमाण निरन्तर बढ्दै गएको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख शरत कुमार थापा क्षेत्रीका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ मा हालसम्म १५ मुद्दा दर्ता भइसकेका छन्। यस अवधिमा ३० पुरुष र १ महिला गरी जम्मा ३१ जना पक्राउ परेका छन्। बरामद भएको लागूऔषधमा १५ ग्राम २ सय ६५ मिलिग्राम खैरो हिरोइन, ७ किलोग्राम गाँजा र २ हजार ८० ट्याब्लेट क्याप्सुल समावेश छन्।
सबैभन्दा बढी मुद्दा आर्थिक वर्ष २०८१–८२ मा दर्ता भएका थिए – ५७ मुद्दामा ५८ जना पक्राउ परेका थिए। सो वर्ष २० ग्राम २ सय २४ मिलिग्राम खैरो हिरोइन, ४ सय १४ किलो २ सय १० ग्राम गाँजा र ४ हजार ८५ ट्याब्लेट क्याप्सुल बरामद भएको थियो।
आर्थिक वर्ष २०८०–८१ मा २० मुद्दा दर्ता भए र ३० जना पक्राउ परेका थिए। बरामद लागुऔषधमा ३ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन, २५ किलो ६५ ग्राम गाँजा र ४ हजार २८७ ट्याब्लेट क्याप्सुल समावेश थियो।
आ.व. २०७९–८० मा स्थिति झन् गम्भीर हुँदै २१ मुद्दा दर्ता भए, ३६ जना पक्राउ परे। सो वर्ष ४५० मिलिग्राम खैरो हिरोइन, ४ किलो २९ ग्राम गाँजा, १ हजार ७२० ट्याब्लेट क्याप्सुल, ३ एम्पुल र ३ बोतल कोरेक्स बरामद गरिएको थियो।
आ.व.२०७८–७९ मा १० मुद्दा दर्ता भई २० जना पक्राउ परेका थिए। बरामद गरिएको लागुऔषधमा २ ग्राम ५० मिलिग्राम खैरो हिरोइन, २९ किलो ५ सय ग्राम गाँजा, ३० ट्याब्लेट, ५ एम्पुल, २०२ वटा गाँजाको बोट, ५२ सिरिन्ज र १६ लिगोकेन समावेश थियो।
आ.व. २०७७–७८ मा ५ मुद्दा दर्ता भए र ७ जना पक्राउ परेका थिए। सो वर्ष ६ सय ६० मिलिग्राम खैरो हिरोइन र १४५ एम्पुल डाइजेल्याब बरामद गरिएको थियो।
प्रहरीका अनुसार लागुऔषध नियन्त्रणका लागि कडाइ बढाएपछि कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परिरहेका छन् र बरामद हुने लागुऔषधको परिमाण बढेको छ। ब्राउन सुगर भित्र्याउने समूह र प्रयोगकर्तामाथि निगरानी बढाइएको छ र फरार व्यक्तिहरूलाई अदालतको पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिने कार्य भइरहेको छ।
जिल्लामा प्रहरी सादा पोशाक र अन्य सुरक्षा निकायको सहकार्यमा नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ। साथै तेह्रथुम, संखुवासभा, पाँचथर र भोजपुर जिल्लासँग समन्वय गरी फरार प्रतिवादी पक्राउ गर्ने र सीमा नाकामा कडाइ गर्ने काम तीव्र रूपमा भइरहेको छ।
प्रहरीका अनुसार लागुऔषध प्रयोगकर्ता र कारोबारीमध्ये अधिकांश बेरोजगार, किशोर र विद्यार्थी छन्। भारतबाट ब्रुपिनर्फिन, डाइजिपाम जस्ता लागूपदार्थ भित्रिने गरेको र गाँजाको खेती धनकुटामै हुने गरेको छ। यद्यपि, आम नागरिकको सक्रिय सहयोग नभएसम्म अभियान अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको प्रहरीले जनाएको छ। नियन्त्रणमा नआए लागुऔषध सेवन र कारोबार अझै बढ्ने सम्भावना रहेको छ।