वासुदेव शर्मा
जाजरकोट, चैत १६ गते । नेपाल प्रेस युनियन जाजरकोट शाखाले प्रदान गर्ने स्वर्गीय रविन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार यस वर्ष बालकुमार शर्मा र सुरेन्द्रबहादुर सिंहलाई प्रदान गरिएको छ।
स्वर्गीय रविन्द्र शमशेर शाहको सम्झनामा स्थापना गरिएको एक लाख रुपियाँको अक्षयकोषबाट वार्षिक रूपमा एक जना क्रियाशील पत्रकारलाई पुरस्कार दिने व्यवस्था रहेकामा यस वर्ष नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष तथा रेडियो हाम्रो पाइलाका प्रबन्ध निर्देशक बालकुमार शर्मा र नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष सुरेन्द्रबहादुर सिंहलाई जनही १५ हजार रुपियाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष राजेन्द्रबहादुर कार्कीले स्वर्गीय शाह स्मृति पत्रकारिता पुरस्कारले पत्रकारिताको ओज बढाउने बताउनुभयो। समाजसेवामार्फत गरिब, दलित, विपन्न, सीमान्तकृत तथा जोखिममा परेका नागरिकलाई सहयोग गरी समाज परिवर्तन गर्ने बानी शाहमा रहेको उल्लेख गर्दै उहाँले शाहले जनताप्रति पुर्याएको योगदानको सकारात्मक चर्चा गर्नुभयो।
जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीले पुरस्कार वितरण गर्दै पुरस्कृत पत्रकारहरूलाई बधाई दिनुभयो। उहाँले सत्यतथ्य सूचना प्रसारणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै पत्रकार समाजको ऐना भएकाले समाजमा लुकेर रहेका राम्रा–नराम्रा कामको खोज, अनुसन्धान गरी बाहिर ल्याउनुपर्ने बताउनुभयो।
भेरी नगरपालिका–३ माथिल्लो थाप्ले निवासी समाजसेवी शाहको २०७३ चैत १५ गते हत्या भएको थियो। उहाँकै सम्झनामा स्थापना गरिएको उक्त पुरस्कारले पत्रकारिताको गरिमा र सामाजिक उत्तरदायित्वलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।
नेपाल प्रेस युनियन जाजरकोटका अध्यक्ष वासुदेव शर्माले समाजसेवाका क्रममा हत्या गरिएका स्वर्गीय शाहप्रति श्रद्धासुमन व्यक्त गर्दै स्मृति पुरस्कारले पत्रकारहरूको मनोबल र पेशागत ओज बढाउने विश्वास व्यक्त गर्नुभयो।