काठमाडौँ, साउन ८ गते । सेवाग्राही नआएपछि सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने कार्यक्रम प्रभावित हुने भएको छ । आगामी २०८० सालसम्म २५ लाख सवारीसाधनमा नम्बर प्लेट जडान गर्नुपर्ने सम्झौता छ । हालसम्म करिब ३० हजार सवारीसाधनमा यस्तो नम्बर प्लेट जडान भएको छ ।
यातायात व्यवस्था विभागका अनुसार नम्बर प्लेट जडान गर्न आउने सेवाग्राहीको सङ्ख्या निकै कम छ । यही अनुपातमा जडान गरिँदै जाने हो भने सम्झौता अवधिभित्र मुस्किलले ५० प्रतिशत
सवारीसाधनमा यस्तो नम्बर प्लेट जडान हुनेछ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले भन्नुभयो, “सेवाग्राही आउनेक्रम जारी छ तर भीड छैन । सेवाग्राहीको गति बढ्न सकेन ।”
हालसम्म दुई लाख १५ हजारप्रति इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ । थप नम्बर प्लेटको माग आएपछि उत्पादन गरिन्छ । कार्यालयबाट माग आएपछि कम्पनीले प्लेट उत्पादन गरी उपलब्ध गराउने गरेको छ ।
यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख मदन पोखरेलले हाल दैनिक १५० वटा निवेदन प्राप्त हुने गरेको जानकारी दिनुभयो । सेवाग्राही नहुँदा परियोजनाको उद्देश्य पूरा नहुने सम्भावना रहेको विभागका पदाधिकारीहरू बताउँछन् ।
इम्बोस्ड नम्बर प्लेट निर्माणका लागि २०७३ जेठमा पाँच वर्षमा २५ लाख इम्बोस्ड नम्बर वितरण गर्नेगरी डेकाटुरसँग चार अर्ब ६७ करोड रुपियाँमा सम्झौता भएको थियो । हालसम्म ३४ करोड रुपियाँ विभागले भुक्तानी दिइसकेको छ ।
इम्बोस्ड नम्बर प्लेट जडान गरेबापत विभागले दुईपाङ्ग्रे सवारीसाधनलाई दुई हजार पाँच सय रुपियाँ र ठूला सवारीका लागि तीन हजार छ सय रुपियाँ शुल्क लिएको छ । सो रकममध्ये ७० प्रतिशत कम्पनीलाई भुक्तानी हुन्छ भने ३० प्रतिशत राजस्वमा जम्मा हुन्छ ।
सम्बन्धित यातायात व्यवस्था कार्यालयहरू पनि २०७८ मङ्सिर १ गतेपछि नयाँ दर्ताका लागि आएको सवारीसाधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन उदासिन देखिएको विभागले जनाएको छ ।
त्यस्तै २०७८ फागुनपछि किनबेच भई नामसारी गर्न आएका सवारीसाधन र २०७९ जेठ १ गतेपछि नवीकरण गर्न आएका सवारीसाधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि कार्यालयहरू नै कार्यान्वयनमा उदासिन देखिएका छन्् ।