काठमाडौँ, माघ १७ गते । अपाङ्गता भएका व्यक्तिहरू देश बनाउने र जनताको सेवा गर्ने हुटहुटीले चुनावी मैदानमा होमिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा गरी करिब ८६ जना अपाङ्गता भएका व्यक्ति प्रतिस्पर्धामा हुुनुहुन्छ । प्रत्यक्षतर्फ भने प्रमुख दलहरूबाट जम्मा एक जना चुनावी मैदानमा हुनुहुन्छ । नेकपा (एमाले) बाट दाङ क्षेत्र नम्बर १ मा रेवतीरमण शर्माले घिमिरे चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । प्रत्यक्षतर्फ उहाँबाहेक अन्य अपाङ्गता भएका व्यक्ति चुनावी मैदानमा नभएको राष्ट्रिय अपाङ्ग महासङ्घले जनाएको छ ।
महासङ्घका अध्यक्ष देवीदत्त आचार्यले भन्नुभयो, “अपाङ्गता भएका व्यक्ति प्रतिस्पर्धा गर्न नसक्ने अवस्था त होइन तर दलहरूको टिकट वितरण प्रणाली नै समस्याग्रस्त छ । कसले खर्च गर्न सक्छ भनेर हेरिन्छ । उनीहरूले संविधानको व्यवस्थालाई हेर्दैनन् ।” समानुपातिक समावेशी सहभागिताको हकलाई दलहरूबाटै बेवास्ता हुने गरेको अध्यक्ष आचार्यको भनाइ छ । अपाङ्गता भएको व्यक्ति कसरी चुनाव लड्न सक्छ ? भन्ने बुझाइ दलहरूमा व्यप्त रहेको पनि उहाँको गुनासो छ । आचार्यले भन्नुभयो, “उनीहरूलाई घरदैलोमा पुग्नै समस्या हुन्छ । दुःख हुन्छ, सक्दैनन् भन्ने तर्क दिएर अवसर र अधिकारबाट वञ्चित गरिएको छ । धेरै चासो देखाए जस्तो गरी पाखा लगाइएको छ । हामी अन्यसरह प्रतिस्पर्धा गर्न सक्छौँ ।”
छ लाख ४८ हजार जनसङ्ख्या रहेको अपाङ्गता भएका व्यक्ति विभिन्न २१ दलबाट ८५ जना समानुपातिक उम्मेदवार हुनुहुन्छ । समानुपातिक उम्मेदवारहरू पनि चुनावी कार्यक्षेत्रमा अरू सरह खटिएको आचार्यको भनाइ छ । समानुपातिकमा प्रमुख दलहरूले भन्दा नयाँ दलहरूले धेरै सङ्ख्यामा अपाङ्गता भएका व्यक्तिलाई समानुपातिकमा उम्मेदवार बनाएका छन् । नेपाली कांग्रेसले एक जना मदनकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले एसुदाकुमारी बराल र रामबहादुर थापालाई उम्मेदवार बनाएको छ । नेपाली कम्युनिस्ट पार्टीले प्रेमबहादुर बयक, पासाङ शेर्पा र बिनिता विकलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पवन शाही, चोलाप्रसाद बस्याल र महेश्वर घिमिरेलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय परिवर्तन पार्टीले अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवार बनाएको छ । भुवनेश्वरी खरेल, राजेश प्रतेल, प्रकाश भट्टराई, सञ्जित दास र हिक्मतबहादुर मल्ल राष्ट्रिय परिवर्तन पार्टीका समानुपातिक उम्मेदवार हुनुहुन्छ । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले खगेन्द्रकुमार थापा, धनपति मन्याल, रत्नबहादुर विश्वकर्मा र पुल्ती सारा सार्कीलाई उम्मेदवार बनाएको छ । त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीले रुक्सना कपाली, महेशकुमार गुरुङ, नीलकण्ठ पौडेल र मीरा साहलाई समानुपातिक उम्मेदवार बनाएको छ ।