• १३ चैत २०८२, शुक्रबार

आलु खेती विस्तार

blog

सल्यान बागचौर नगरपालिका–१२, बाफुखोलामा गरिएको आलु खेती । तस्बिर : प्रतीक इच्छुक शर्मा

सल्यान समाचारदाता

सल्यान, चैत १३ गते । सल्यानमा आलु खेती विस्तार गरिएको छ । कृषि विकास कार्यालयले जिल्लाको बागचौर नगरपालिका, वनगाढ कुपिन्डे नगरपालिका, दार्मा गाउँपालिका र छत्रेश्वरी गाउँपालिकामा आलु खेती विस्तार गरेको हो । 

कार्यालयका अनुसार छ वटा व्यक्तिगत फार्म, तीन किसान समूह र चार सहकारी छनोट गरी कार्यक्रम कार्यान्वयन अघि बढाइएको छ । कार्यक्रम अन्तर्गत करिब २५ हेक्टर क्षेत्रफलमा आलु खेती विस्तार गरिने छ । यसबाट एक सयभन्दा बढी किसान प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको कार्यालयले जनाएको छ । 

कार्यालय प्रमुख महेश आचार्यका अनुसार किसानको आयस्तर वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा सहभागी किसानलाई मिनी ट्रिलरलगायत कृषि औजार, ड्रम, सिँचाइका लागि कुलो निर्माण, प्राविधिक सहयोग तथा तालिम उपलब्ध गराइने छ । जिल्लाको वनगाढ कुपिन्डे–१२, निगालचुला तथा बागचौर–११ र १२ को बाफुखोला क्षेत्र बर्खे आलु उत्पादनका लागि परिचित मानिन्छन् । जिल्लाका सबै पालिकामा हिउँदे आलु उत्पादन हुँदै आएको छ ।

गत वर्ष जिल्लामा ५२ हजार तीन सय मेट्रिक टन आलु उत्पादन भएको थियो, जसको मूल्य करिब एक अर्ब ७१ करोड रुपियाँ बराबर रहेको छ । त्यसमध्ये २९ करोड रुपियाँ बराबरको आलु जिल्लाबाहिर निकासी गरिएको कार्यालयले जनाएको छ । जिल्लामा चार हजार ४३५ हेक्टर क्षेत्रफलमा आलु खेती भइरहेको छ । जसमध्ये दुई हजार ७०५ हेक्टरमा बर्खे र एक हजार ७३० हेक्टरमा हिउँदे आलु उत्पादन हुँदै आएको छ ।