• २७ पुस २०८१, शनिबार

मेगा बैंक १३औं वर्षमा प्रवेश : वित्तीय सूचकमा उत्साहमुलक उपलब्धि

blog

काठमाडौं, साउन ७ गते । मेगा बैंक नेपाल लिमिटेड १२ औं वर्ष पूरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ । शनिबार १२ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले बैंकलाई देशकै अग्रणी बैंक बनाउन अहम् भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

त्यस्तै, अध्यक्ष शाहले मेगा बैंकले तर्जुमा गरेका रणनीतिक पञ्चवर्षीय योजना, बजेटको सही प्रक्षेपण र कार्यान्वयनले छोटो समय (१२ वर्षको अवधि)मै कतिपय विधाहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुन पुगेको बताउनुभयो । विगतमा विभिन्न बैंकसँग मर्जर र एक्वीजिशनको सन्दर्भलाई जोड्दै उहाँले मेगा बैंकले स्थापित गरेका मान्यताहरुमा विचलन नआउनेमा विश्वस्त रहेको बताउनुभयो ।


वार्षिकोत्सवका अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको बौद्धस्थित समता सामुदायिक अस्पताललाई पाँच लाख रुपियाँ सहयोग गरेको छ ।

अध्यक्ष शाहले समता अस्पतालका अध्यक्ष उत्तर सञ्जेललाई पाँच लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभयो । एक सय रुपियाँमा सर्वसाधारणको उपचार गराउँदै आएको यस अस्पतालबाट न्यून आय भएका सर्वसाधारणको उपचारमा मद्दत पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको मेगा बैंकले जनाएको छ ।


बैंककी कायममुकायम सिइओ रविना देशराज श्रेष्ठले वित्तीय बजारमा मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित भएको बताउनुभयो ।

कामु सिइओ श्रेष्ठले दिगो विकासका साथ नयाँ प्रविधिसहित अघि बढ्दै मेगा बैंकलाई आधुनिक प्रविधिमैत्री ‘डिजिटलाइज्ड बैंक’ बनाइएको बताउनुभयो । साथै, स्थापनाकालदेखि नै मेगा बैंकले सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको उहाँको भनाइ छ ।


ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको बितेको १२ वर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत् वृद्धि भएको छ । देशको २८ औं वाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले ७ औं स्थानमा छ । २०७९ असार मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब एक खर्ब ५६ अर्ब र कुल कर्जा करिब एक खर्ब ५० अर्ब रहेको छ ।

मेगा बैंकले १८ सयभन्दा बढी कर्मचारीबाट देशभरका ६१ जिल्लामा फैलिएका २०८ शाखा सञ्जाल, १४५ वटा एटीएम, २५ वटा एक्टेन्शन काउन्टर र ६० वटा शाखारहित बैंकिङ सेवामार्फत १४ लाख ७५ हजारभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।