• १३ साउन २०८१, आइतबार

पर्यटनमन्त्री श्रेष्ठसँग भारतीय राजदूत श्रीवास्तवको भेट

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको बताइएको छ । 

मन्त्री श्रेष्ठले राजदुत श्रीवास्तवको कार्यकालमा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याउन सफल हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल र भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहिआएको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले दुबै देशबीच सहकार्यका धेरै सम्भावना रहेको बताउनुभयो । 

मन्त्री श्रेष्ठले गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि नयाँ हवाई प्रवेश बिन्दु उपलब्ध गराउन राजदुत श्रीवास्तवसँग प्रस्ताव गर्नुभयो । नयाँ हवाई प्रवेश बिन्दु उपलब्ध भएमा उडान खर्च र समय घट्नुका साथै हवाई ट्राफिकजामको समस्या समाधान हुने मन्त्री श्रेष्ठको भनाइ छ । 

राजदुत श्रीवास्तवले नयाँ हवाई प्रवेश बिन्दुको विषयमा छिट्टै निर्णयमा पुग्ने विश्वास दिलाउनुभयो । भगवान् राम र सीतासँग जोडिएका धार्मिक स्थललाई जोड्ने रामायण सर्किटसम्बन्धी पूर्वाधार निर्माण अघि बढाउनेबारे पनि उहाँहरुबीच छलफल भएको छ । 

रामायण सर्किटले धार्मिक पर्यटनको प्रवर्धनमा सहयोग पुग्ने मन्त्री श्रेष्ठले बताउनुभयो । जनकपुरको धार्मिक तथा पौराणिक महत्व झल्काउँदै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा समझदारी भएको बृहत्तर जनकपुर क्षेत्र विकाससम्बन्धी परियोजना अघि बढाउनेबारे पनि उहाँहरुबीच छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।  

भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माणमा भारतीय सहयोगमा सञ्चालित परियोजनाको अवस्थाबारे पनि उहाँहरुबीच कुराकानी भएको थियो । मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीपछि सरकारले पर्यटन क्षेत्रको पुनरूत्थानलाई प्राथमिकता दिएको बताउनुहुँदै नेपालमा भारतीय पर्यटकको आगमन वृद्धिका लागि गर्नुपर्ने प्रवर्धनात्मक कार्यक्रमबारे पनि राजदूत श्रीवास्तवसँग छलफल गर्नुभएको थियो ।