• १३ साउन २०८१, आइतबार

‘शिक्षा र स्वास्थ्य प्राथमिकतामा’

blog

शालिग्राम नेपाल

चितवन, साउन ६ गते । चितवनको पूर्वी क्षेत्रमा पर्ने राप्ती नगरपालिकामा शिक्षा, स्वास्थ्य, नदी कटान र डुबानका प्रमुख समस्या छन् । यी सबै समस्यालाई प्राथमिकताका आधारमा कार्य विभाजन गरेर काम गर्ने योजना तयार भएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामा बताउनुहुन्छ । 

“आन्तरिक आय कमजोर भए पनि यो पालिकामा हामीले जनताको आवश्यकतालाई मध्यनजर गरेर कामलाई प्राथमिकता दिएका छौँ,” उहाँले भन्नुभयो, “माध्यमिक विद्यालयसम्म अहिले पनि निःशुल्क अध्ययन गर्न पाउने अवस्था छैन । त्यसैले पहिलो काम माध्यमिक तहसम्म सबैलाई निःशुल्क शिक्षा उपलब्ध गराउने योजना रहेको छ ।” 

सरकारले तोकेको, नेपालको संविधानले व्यवस्था गरेको तर विद्यार्थीमा कार्यान्वयन नभएको माध्यमिक तहसम्मको अध्ययनलाई निःशुल्क पढाउन कार्यान्वयन गराउन निर्देशन दिएका छौँ, यो जसरी पनि कार्यान्वयन गराएरै छाड्ने छौँ, प्रमुख लामाले भन्नुभयो । 

पहाडी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ठूलो रहेकाले त्यहाँका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन विशेष ध्यान दिएर कार्यक्रम ल्याउने योजना रहेको छ । चेपाङ, आदिवासी जनजातिको बसोबास रहेकाले उनीहरूको शिक्षामा सहज ढङ्गले पहुँच स्थापित गराउनका लागि सचेनताका कार्यक्रम र निःशुल्क शिक्षा उपलब्ध गराउने प्रमुख लामाले बताउनुभयो । निश्चित समुदायका बालबालिकालाई उच्च शिक्षा हासिल गर्नका लागि पालिकाले सहयोग गर्ने गरी कार्यक्रम तय गरेको प्रमुख लामाले भन्नुभयो । 

“बाहिरबाट हेर्दा चितवन सुगम जिल्ला भनिन्छ तर हाम्रो पालिकामा बिरामी हुँदा राम्रो अस्पतालको अभाव रहेको छ। एक घण्टा लगाएर सदरमुकाम भरतपुर पुग्नुपर्ने बाध्यात्मक अवस्था छ । त्यसलाई अन्त्य गर्न आफ्नै पालिकामा अस्पताल निर्माण गरेर विशेषज्ञसहितको स्वास्थ्य उपचार गराउने योजनाका साथ लागेका छौँ,” लामाले भन्नुभयो । अस्पातलको स्तरोन्नति हुँदैछ, अब सामान्य बिरामी हुँदा भरतपुर जाने बाध्यता छिट्टै हट्नेछ । पहाडबाट हिँडेर तथा सवारीसाधनको प्रयोग गरेर भण्डारा आएपछि उनीहरूले उपचार गराउन सक्ने अवस्था बन्दै छ, एकीकृत समाजवादी पार्टीबाट निर्वाचित प्रमुख लामाले भन्नुभयो ।

पालिकाले सबै स्वास्थ्य संस्थाको स्तरोन्नति गर्ने र भण्डारामा रहेको स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्ने कामलाई तत्काल कार्यान्वयन गर्ने गरी काम अगाडि बढाएका उहाँले भन्नुभयो । गरिब तथा विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा र नगरपालिकामा गरिब परिचयपत्र बनाउने काम अन्तिम चरणमा पुगेको छ । 

घरको छाना चुहिने छ, बास छैन, बास भए पनि सुरक्षित छैन भने त्यस्ता परिवारलाई जनता आवास कार्यक्रममार्फत निःशुल्क घर निर्माण गर्ने योजना रहेको यस अगाडि वडाध्यक्षसमेत भएर काम गर्नुभएका प्रमुख लामाले भन्नुभयो । “माथिल्लो भागको उत्तरी क्षेत्रमा जडीबुटी उत्पादन र प्रशोधन गर्ने जस्ता कार्यक्रम तयार पारेर यसै वर्षबाट सुरु गर्ने छौँ,” उहाँले बताउनुभयो ।