• १४ माघ २०८२, बुधबार

विरासत जोगाउने दाउमा पूर्वमन्त्री त्रिपाठी

blog

चुनावी मैदानमा पूर्वमन्त्री हृदयेश त्रिपाठी । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, माघ १४ गते  ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं. १ को चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । यस क्षेत्रमा दशकौँदेखि राजनीतिक बागडोर सम्हाल्दै आउनुभएका  पूर्वमन्त्री हृदयेश त्रिपाठी यसपटक पनि विकासका एजेण्डा र आफ्नो पुरानो विरासतसहित चुनावी मैदानमा हुनुहुन्छ । जनता समाजवादी पार्टी (जसपा) सँगको सहकार्य र आफ्नो राजनीतिक अनुभवलाई मुख्य अधार बनाउँदै त्रिपाठी मतदाताको घरदैलोमा पुग्नुभएको छ ।

संसदीय राजनीतिमा ‘यात्रा’
वि.सं. २०४८ सालदेखि नै संसदीय राजनीतिमा उपस्थिति जनाउँदै आउनुभएका त्रिपाठी यस क्षेत्रबाट पटक–पटक निर्वाचित भइसक्नुभएको छ । २०४८, २०५१, २०५६ र २०७४ को निर्वाचनमा जित हासिल गरेका उहाँले यस पटक भने जनता समाजवादी पार्टी उम्मेदवारके रूपमा चुनावी मैदानमा हुनुहुन्छ । उहाँ विभिन्न समयमा स्वास्थ्य तथा जनसङ्ख्या, सङ्घीय मामिला तथा सामान्य प्रशासन र भौतिक पूर्वाधार जस्ता महत्त्वपूर्ण मन्त्रालयहरूको नेतृत्व  गर्नुभएको थियो ।  

कोभिड सङ्कट र पृथ्वी चन्द्र अस्पतालको अवस्था सुधार
त्रिपाठीको यसपटकको निर्वाचनको बलियो आधार भनेको उहाँ स्वास्थ्यमन्त्री हुँदा जिल्लाको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान रहेकाे दावी छ । विश्वव्यापी कोभिड–१९ को महामारीका बेला जिल्लाकै सबैभन्दा पुरानो पृथ्वीचन्द्र अस्पतालको अवस्था सुधारमा उहाँले भूमिका खेलेको दाबी गरिन्छ ।

त्रिपाठीकै पहलमा अस्पतालको अक्सिजन प्लान्टको स्थापना र आधुनिक शय्याहरूको व्यवस्थापनका लागि राज्यको ठुलो लगानी भित्रिएको थियो । कोभिडको समयमा अत्यावश्यक पर्ने भेन्टिलेटर, आईसीयू र डायलासिस सेवालाई प्रभावकारी बनाउन उपकरणहरू सहजै उपलब्ध गराउन उहाँले केन्द्रबाट नीतिगत र बजेटरी सहजीकरण गर्नुभएको थियो ।

“मैले यस क्षेत्रको भूगोल र भावनालाई नजिकबाट बुझेको छु । स्वास्थ्यमन्त्री हुँदा होस् वा अन्य भूमिकामा, मेरो प्राथमिकता सधैँ नवलपरासीको समृद्धि नै रहेको छ,’’ त्रिपाठीले चुनावी प्रचारका क्रममा भन्नुभएको छ ।

आरोपहरुको घेरामा त्रिपाठीः ’लामो समय पदमा रहँदा के भयो ?’
पटक–पटक निर्वाचन जितेर मन्त्री भइसक्दा पनि त्रिपाठीले क्षेत्रको समग्र विकासमा ध्यान नदिएको भन्दै आलोचना हुने गरेको छ ।

पूर्वाधार विकासमा सुस्तताः त्रिपाठीले पटक–पटक यस क्षेत्रबाट निर्वाचन जिते पनि सडक, पुल र अन्य भौतिक पूर्वाधारका ठूला आयोजनाहरू उल्लेखनीय रूपमा अघि बढ्न सकेका छैनन् । क्षेत्र नं. १ का कतिपय ग्रामीण भेगहरू अझै पनि आधारभूत पूर्वाधारबाट टाढा रहेको आरोप विपक्षीहरूको छ ।

राजनीतिक अस्थिरता र दल परिवर्तनः त्रिपाठीमाथि लाग्ने सबैभन्दा ठूलो आरोप ’पटक–पटक दल परिवर्तन’ गर्ने प्रवृत्ति हो । मधेशवादी राजनीतिदेखि स्वतन्त्र हुँदै अहिले जनता समाजवादी पार्टी (जसपा) सँगको सहकार्यसम्म आइपुग्दा उहाँको वैचारिक स्थिरतामाथि मतदाताले प्रश्न उठाउने गरेका छन् । पद र सत्ताका लागि दल फेर्ने गरेको आरोपले उहाँको चुनावी अभियानलाई केही दबाबमा पारेको देखिन्छ ।

निर्वाचनका मुख्य एजेण्डाहरूः कृषि र भौतिक विकास
त्रिपाठीले यसपटकको निर्वाचनमा मुख्यतया तीनवटा पक्षलाई प्राथमिकता दिनुभएको छ  । कृषि क्रान्तिः उखु किसानका समस्याहरूको स्थायी समाधान र समयमै मल–बीउको सहज उपलब्धता, शिक्षा र स्वास्थ्यः अस्पताललाई अझ आधुनिक र सुविधा सम्पन्न बनाउने तथा प्राविधिक शिक्षाको विस्तार र पूर्वाधार पूर्णताः क्षेत्रका अधुरा सडक सञ्जाल र निर्माणका कामहरूलाई पूर्णता दिने छन् ।

चुनौती र अवसर
मैदानमा युवा र नयाँ अनुहारहरूको चुनौती देखिए पनि त्रिपाठीको पुरानो विरासत र पृथ्वीचन्द्र अस्पताल जस्ता देखिने विकासका कार्यहरू उहाँका लागि बलिया आधार भए दाबी  हुन् । जिल्लाको विकासमा उहाँको अनुभवलाई मतदाताले कसरी मूल्याङ्कन गर्छन् भन्ने कुराले नै आगामी निर्वाचनको नतिजाले तय गर्ने देखिन्छ ।