• १४ माघ २०८२, बुधबार

नवलपुरमा नयाँ उम्मेदवारको वर्चस्व

blog

बोमलाल गिरी 

नवलपुर, माघ १४ गते । दुई पदका लागि नवलपुरमा २६ वर्षका जेनजीदेखि ७० वर्ष कटेकासम्म ३६ जना उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये आठ जना स्वतन्त्र उम्मेदवार छन् भने बाँकी दलीय आधारमा प्रतिस्पर्धामा छन् । 

क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का तिलबहादुर महत (तिलक) र रास्वपाका राजन गौतम मात्र अघिल्लो निर्वाचनका प्रतिस्पर्धी हुनुहुन्छ भने बाँकी सबै नयाँ अनुहार चुनावी होडमा हुनुहुन्छ । महत तेस्रो पटक चुनावी मैदानमा हुँदा गौतम अघिल्लो चुनावमा प्रतिस्पर्धा गरेर  पराजित हुनुभएको थियो । 

नेपाली कांग्रेसको बलियो र पकड क्षेत्र मानिएको क्षेत्र नं. १ मा कांग्रेसले १८ वर्षपछि स्थानीय उम्मेदवारलाई मैदानमा उतारेको छ । २०६४ देखि निरन्तर चुनाव जित्दै आउनुभएका कांग्रेसका पूर्वमहामन्त्री एवं बिपी पुत्र डा. शशाङ्क कोइरालालाई पाखा लगाउँदै कांग्रेसले १ नम्बरमा स्थानीय युवा बालकृष्ण घिमिरेलाई उम्मेदवार बनाएको हो । 

बुलिङटारका घिमिरेको उम्मेदवारीसँगै यो क्षेत्रमा कांग्रेसका मतदाताले १८ वर्षपछि स्थानीय नेता उम्मेदवार पाएका छन् । यो निर्वाचन क्षेत्रमा २०४८ मा कांग्रेसका सूर्यभक्त अधिकारी, २०५१ मा महेन्द्रध्वज जिसी, २०५६ मा दामोदर बस्ताकोटी निर्वाचित हुनुभएको थियो भने २०५६ पछिका सबै निर्वाचनमा कोइरालाले जित हासिल गर्नुभएको थियो । 

२०६४ सालदेखि स्थानीय उम्मेदवार दिन नसकेको आरोपका बाबजुद निर्वाचन जित्दै आएको कांग्रेसले यस पटक स्थानीय उम्मेदवारलाई अगाडि सार्दा मतदातामा उत्साह बढेको कांग्रेस गैँडाकोटका सभापति बद्री सापकोटाले दाबी गर्नुभयो । यो क्षेत्रमा एमालेले भागीरथ सापकोटा, नेकपाले लोकप्रसाद भुर्तेल र रास्वपाले राजन गौतमलाई उम्मेदवार बनाएका छन् । 

रास्वपाका गौतम अघिल्लो निर्वाचनमा तेस्रो स्थान हासिल गर्नुभएको थियो भने एमालेका सापकोटा र नेकपाका भुर्तेल पहिलो पटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । सापकोटा नेपाल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष हुनुहुन्छ भने भुर्तेल अघिल्लो निर्वाचनमा प्रदेश सभामा पराजित हुनुभएको थियो ।

यस क्षेत्रमा अघिल्लो चुनावमा नेपाली कांग्रेसका उम्मेदवार डा. कोइरालाले २७ हजार ६७ मत प्राप्त गरेर निर्वाचित हुँदा एमालेका कृष्ण पौडेल २५ हजार ४७ र रास्वपाका उम्मेदवार गौतमले २४ हजार ३०५ मत प्राप्त गर्नुभएको थियो । 

क्षेत्र नम्बर २ मा एमालेका महतबाहेक सबै नयाँ अनुहार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यहाँ १८ जनाको उम्मेदवारी परेको छ । यहाँ कांग्रेसले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घका केन्द्रीय सभापतिसमेत भइसक्नुभएका ओमबहादुर घर्तीलाई उम्मेदवार बनाएको छ भने नेकपाबाट गणेशमान महतो र रास्वपाबाट २६ वर्षीय मनिष खनाल उम्मेदवार हुनुहुन्छ । 

एक पटक निर्वाचित र एक पटक पराजित महत तेस्रो पटक चुनावी मैदानमा हुनुहुन्छ । २०७९ को संसदीय चुनावमा नवलपुर–२ बाट नेपाली कांग्रेसका विष्णुकुमार कार्कीले ३६ हजार १३२ मत ल्याएर निर्वाचित हुँदा महतले ३४ हजार ११० मत ल्याउनुभएको थियो । 

रास्वपाका शालिकराम न्यौपानेले छ हजार ४४९ मत ल्याएर तेस्रो स्थानमा रहनुभएको थियो तर २०७४ को चुनावमा भने महत ३९ हजार ५३ मत ल्याएर कांग्रेसका विष्णुकुमार कार्कीलाई नै पराजित गर्नुभएको थियो । कार्कीले ३७ हजार ७२० मत पाउनुभएको थियो ।