काठमाडौँ, माघ १४ गते । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद रामहरि खतिवडाले व्यक्तिगत स्वार्थ र आन्तरिक मतभेदभन्दा माथि उठेर पार्टीको बृहत्तर हितमा लाग्न नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।
ओखलढुङ्गालाई नेपाली कांग्रेसको अभेद्य किल्लाका रूपमा विकास गर्ने आफ्नो संकल्प रहेको सुनाउँदै उहाँले आसन्न निर्वाचनमा पार्टीलाई विजयी गराउन आफू निःस्वार्थ भावले समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घद्वारा काठमाडौँमा आयोजित चुनावी छलफल एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता खतिवडाले यस्तो विचार व्यक्त गर्नुभएको हो ।
उहाँले संगठनभित्र देखिने अहंता र व्यक्तिगत महत्त्वाकांक्षाले आन्तरिक लोकतन्त्र र सांगठनिक संरचनालाई कमजोर बनाउने उल्लेख गर्दै त्यस्तो प्रवृत्ति त्याग्न आग्रह गर्नुभयो ।
"आफूले टिकट पाउनु वा नपाउनु गौण विषय हो, मुख्य कुरा पार्टीको विजय र विचारको रक्षा हो," नेता खतिवडाले भन्नुभयो, "पार्टीभित्र व्यक्ति विशेषका आधारमा मूल्याङ्कन हुने पद्धतिको अन्त्य हुनुपर्छ । मेरो कोहीप्रति पनि पूर्वाग्रह छैन, सबैलाई समेटेर एकताबद्ध कांग्रेस निर्माणमा मेरो पूर्ण सहयोग रहनेछ ।"

उहाँले जिल्ला सभापति तेजेन्द्र खनाल, नेताहरू प्रदीप सुनुवार, नवराज केसी लगायतका पदाधिकारी र उम्मेदवार कुमार लुइटेलसँग उच्चस्तरको समन्वय गर्दै निर्वाचनमा होमिने स्पष्ट पार्नुभयो ।
सोही कार्यक्रममा नेपाली कांग्रेस ओखलढुङ्गाका सभापति तेजेन्द्र खनालले कांग्रेसको गढ मानिने ओखलढुङ्गामा यसपटक सम्पूर्ण शक्ति एकीकृत भएको बताउनुभयो ।
उहाँले जिल्लाका प्रत्येक वडा र टोलमा कार्यकर्ताहरू उत्साहका साथ परिचालित भइसकेको जानकारी दिँदै उच्च मनोबलका साथ मैदानमा उत्रन निर्देशन दिनुभयो ।
यसैगरी, उपसभापति नवराज केसीले ओखलढुङ्गा कांग्रेसमा अभूतपूर्व एकता कायम भएको र यसले विपक्षीलाई परास्त गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । प्रतिनिधिसभा सदस्यका उम्मेदवार कुमार लुइटेलले आम नागरिकको भरोसा र कार्यकर्ताको सक्रियता नै आफ्नो विजयको मुख्य आधार भएको बताउनुभयो ।
कार्यक्रममा उपस्थित भ्रातृ संगठनका नेता तथा कार्यकर्ताहरूले पार्टीको साख जोगाउन र लोकतन्त्रलाई संस्थागत गर्न आगामी निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन अहोरात्र खटिने सामूहिक अठोट व्यक्त गरेका थिए ।