• १४ माघ २०८२, बुधबार

पश्चिम नेपालमा वर्षा, पूर्वतर्फ सर्दै आउने

blog

काठमाडौँ, माघ १३ गते । आज साँझ प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण हाल पश्चिम नेपालबाट वर्षा र हिमपात सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले हाल वैतडी र दार्चुला, चाँदनी दोधाराबाट वर्षा सुरु भएको छ ।

डोल्पा, हुम्लातिर हिमपात सुरु भएको छ । उक्त प्रणालीका कारण राति थप वर्षा र हिमपात हुँदै प्रणाली पूर्व सर्दै आउने उहाँले बताउनुभयो । 

पौडेलका अनुसार बुधबार बिहानैबाट 8देशभर बादल लाग्ने र काठमाडौँमा पनि हल्कादेखि मध्यमसम्म वर्षा गराउन सक्नेछ । प्रणाली पूर्वतर्फ सर्दै आउँदा कोशी र मधेशमा अलि कम असर देखिने सम्भावना रहेको उहाँले बताउनुभयो । 

पछिल्लो १ घण्टामा दार्चुला र बैतडीमा शून्य दशमलव आठ मिलिमिटर वर्षा भएको छ । विभागले साँझ सार्वजनिक गरेको विवरणमा आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्णतया बादल लाग्ने तथा बाँकी पहाडी र तराईका भू–भागमा आंशिक बादल लाग्नेछ । 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम हिमपात, वर्षा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको छ । साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ । 

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङको सम्भावना रहेको छ । बुधबार दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्णतया बादल लाग्ने र बाँकी पहाडी तथा तराईका भू–भागमा साधारणतया बादल लाग्नेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ । 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू–भागका केही स्थानमा मध्यम वर्षा तथा बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र कोशी प्रदेशको तराईको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ । रासस