• १४ माघ २०८२, बुधबार

निर्वाचन निष्पक्ष गराउन सरकार प्रतिबद्ध

blog

सर्लाहीका सुरक्षा अधिकारीसँग छलफल गर्नुहुँदै परराष्ट्रमन्त्री बालानन्द शर्मा । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, माघ १४ गते । परराष्ट्रमन्त्री बालानन्द शर्माले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष हुने बताउनुभएको छ । सर्लाहीको लालबन्दीस्थित नेपाली सेनाको कालीध्वज गण पाँचकुमारी ब्यारेक जुटपानीमा मङ्गलबार साँझ सर्लाहीका सुरक्षा अधिकारीलाई निर्वाचनलक्षित निर्देशन दिँदै मन्त्री शर्माले स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो । परराष्ट्रमन्त्री शर्माले जिल्लाका सुरक्षा अधिकारीसँग सर्लाहीमा निर्वाचनलाई लक्षित गरी बनाइएको सुरक्षा योजनाबारे जानकारीसमेत लिनुभएको छ । 

उहाँले यो पटक सर्लाहीमा मुलुकका शीर्षस्थ नेतासमेत आएर चुनावी मैदानमा होमिएकाले थप चनाखो भएर कुनै विवाद सिर्जना नहुने गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिनुभएको सर्लाहीका एक सुरक्षा अधिकारीले बताउनुभयो । मन्त्री शर्मा मधेश प्रदेशमा निर्वाचनलक्षित शान्तिसुरक्षाको अवस्था र तयारीबारे बुझ्ने क्रममा मङ्गलबार साँझ सर्लाही आइपुग्नुभएको हो । 

उहाँले जिल्ला सदरमुकाम मलङ्गवा पुगेर सुरक्षा अधिकारीलाई आवश्यक निर्देशन दिने कार्यक्रम रहेको थियो तर समय अभावका कारण सुरक्षा अधिकारीलाई अपर्झट पाँचकुमारीस्थित नेपाली सेनाको गणमै बोलाएर छलफल गर्नुभएको हो । मन्त्री शर्मालाई प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, प्रमुख सेनानी उमेश खड्का, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दलगायतले जिल्लाको चुनावी सुरक्षा तयारीबारे जानकारी गराउनुभएको थियो । 

यस्तै जिल्लामा निर्वाचन तयारीका सम्बन्धमा जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले मन्त्री शर्मालाई अवगत गराउनुभएको छ । निर्वाचन सुरक्षा रणनीति बनाउनकै लागि जिल्लाका सुरक्षा अधिकारी मतदान स्थलको निरीक्षणमा व्यस्त छन् । सर्लाहीमा ३१२ मतदान स्थलमध्ये १५८ अति संवेदनशील, १३१ संवेदनशील र २३ वटा सामान्य सूचीमा रहेका रहेका छन् । चारै निर्वाचन क्षेत्रमा कुल पाँच लाख ११ हजार ६०६ मतदाता रहेको सर्लाहीमा क्षेत्र नं. १ बाट २८, क्षेत्र नं. २ बाट ३१, क्षेत्र नं. ३ बाट ३४ र क्षेत्र नं. ४ बाट ३८ गरी १३१ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।