नेपालगन्ज समाचारदाता
नेपालगन्ज, माघ १४ गते । भारतसँग ६५ किलोमिटरको खुला सिमाना गाँसिएको बाँके जिल्लामा प्रतिनिधि सभाको निर्वाचनको सुरक्षाका लागि कडा सुरक्षाव्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला सुरक्षा समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले निर्वाचनलक्षित विशेष सुरक्षा रणनीति तयार पारेर सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाउने काम भइरहेको बताउनुभयो ।
उहाँका अनुसार जिल्लाका आठ वटा पालिकामा कायम गरिएका १३९ वटा मतदान स्थलमध्ये ६१ वटा अति संवेदनशील र ५० वटा मतदान स्थललाई संवेदनशील तथा २८ मतदान स्थललाई सामान्य तोकेर सोहीबमोजिमको सुरक्षा प्रबन्ध मिलाइँदै छ । जिल्लाका १३९ मतदानस्थलमा चार सय मतदान केन्द्र कायम गरिएको र केही अस्थायी मतदान केन्द्रसमेत कायम गरिने तयारी भइरहेको छ । जिल्ला सुरक्षा समितिका प्रमुख तामाङले भौगोलिक अवस्था, खुला सिमाना र अन्य विभिन्न कारणले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी मतदान स्थललाई संवेदनशील र अतिसंवेदनशीलमा विभाजन गरिएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले मतदान स्थलसम्म जाने बाटोको अवस्था, सो स्थलको भौगोलिक अवस्था र मतदाताको मनोभावना बुझेर निर्वाचनलक्षित विशेष सुरक्षा रणनीति तयार गरिएको बताउनुभयो । उहाँले निर्वाचनलाई अत्यन्त मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने जनाउँदै निर्वाचनलक्षित सुरक्षालाई लिएर अहिलेबाटै बाँके प्रहरी उच्च सतर्कमा रहेको बताउनुभयो ।
मतदान स्थल र मतदान केन्द्रको सुरक्षाका लागि पैदल, गाडी र हवाई गस्ती पनि सँगसँगै हुने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्लाका प्रहरी प्रमुख जिसीले सुरक्षामा निर्वाचन प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालित हुने बताउनुभयो । मतदानको केही दिनअघिबाटै सीमा नाकामा नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती पनि हुने र सो गस्ती निर्वाचनको अवधिसम्म जारी रहने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।