• १४ माघ २०८२, बुधबार

हिमपातले रारा जाने सडक अवरुद्ध, सवारीसाधन अलपत्र

blog

घुच्चिलेखमा हिमपातले सडक अवरुद्ध भएपछि अपलत्र परेका मान्छेहरु बाटोमा हिँड्दै । तस्बिर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी
मुगु, माघ १४ गते ।
मङ्गलबार रातिदेखि लगातार परेको हिमपातले नाग्म– गमगढी  राजमार्गअन्तर्गतको घुच्चीलेक खण्डमा सडक अवरुद्ध भएको छ । एक हप्ताअघि यो खण्डमा जमेको हिउँ पन्छाई सडक डिभिजन कार्यालय जुम्लाले सडक सञ्चालनमा ल्याएको थियो ।

पुनः मङ्गलबार रातिबाट लेकतिर हिउँ र बेंसीतिर पानी पर्न थालेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा मुगुबाट बाहिरी जिल्लामा जाने र बाहिरी जिल्लाबाट मुगु आएका सवारी गाडीहरु बाटोमै रोकिएका छन् ।

प्रहरी चौकी पिनाका अनुसार झाडनाउला, सातमोड, घुच्चीलेख, सिप्ट्टिचौर र मुगु जुम्ला सीमाना बुलबुलेमा बाख्लो हिउँ जमेकाले सडक अवरुद्ध भएको छ ।  

मौसममा सुधार आउना साथ सडक रक्षक र स्काभेटरको प्रयोगले हिउँ हटाइने र हिउँ अझै परिरहेकाले यो सडक भएर यात्रा गर्ने सबैलाई सकभर यात्रा नगर्न र गर्नै परे सुरक्षित उपाय अपनाएर यात्रा गर्न  पिना चौकीका इन्चार्ज धनबहादुर कार्कीले बताउनुभयो ।

यो राजमार्गको खण्ड घुच्चीलेक तथा रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएर आउने भएकाले हिमपात र वर्षाका बेला रुख ढलेर बेलाबेलामा सडक अवरुद्ध हुने गरेको छ ।

सडक अवरुद्ध हुँदा नेपालगन्ज, सुर्खेतबाट व्यापारिक तथा अन्य निर्माण सामग्रीहरु बोकेर आएका मालवाहक गाडीहरु बुलबुले मै रोकिएका छन् ।

नाग्म–गमगढी सडकको यो खण्ड उच्च हिमाली भाग भएकाले हिउँदमा हिउँ जमेर र वर्षामा पानीले गर्दा पहिरो आएर रुख ढलेर सधैं अवरुद्ध हुने गर्दछ ।