• १४ माघ २०८२, बुधबार

मोरङ क्षेत्र नं. ४ को चुनावी चर्चा

मोदीलाई दुई घिमिरेको चुनौती

blog

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अमनलाल मोदी, नेपाली कांग्रेसका उम्मेदवार गुरुराज घिमिरे र नेकपा (एमाले) का उम्मेदवार जीवन घिमिरे । (बायाँबाट क्रमशः)

शशिधर पराजुली/महेन्द्र विष्ट

विराटनगर, माघ १४ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मोरङ क्षेत्र नं. ४ मा राजनीतिक चासो बढेको छ । लगातार दुई पटक निर्वाचित भई तेस्रो इनिङ्सको तयारीमा रहेका पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता अमनलाल मोदी र उहाँलाई रोक्न मैदानमा उत्रिएका नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे एवं एमालेका जीवन घिमिरेबिचको त्रिपक्षीय भिडन्तले यस क्षेत्रलाई चर्चामा ल्याएको हो । आगामी निर्वाचन मोदीको व्यक्तिगत लोकप्रियताको वास्तविक परीक्षासमेत हुने छ ।

तेइस वटा वडाको अङ्कगणित

मोरङ क्षेत्र नं. ४ अन्तर्गत कटहरीका सात, ग्रामथानका सात, बेलबारीका  ५, ६ र ७ गरी तीन वटा वडा र विराटनगर महानगरकाका १, २, ३, ८, १० र १९ गरी छ वटा वडा गरी कुल २३ वटा वडा समेटिएका छन् । निर्वाचन आयोगका अनुसार यहाँ कुल एक लाख १९ हजार २५५ मतदाता छन् । तीमध्ये ६१ हजार १९२ पुरुष, ५८ हजार ६२ महिला र एक जना अन्य मतदाता छन् । मतदानका लागि ४० मतदान स्थल र १३१ केन्द्र तोकिएका छन् । क्षेत्रगत रूपमा विराटनगरका छ वडामा सबैभन्दा धेरै ५० हजार ४१९ मतदाता छन् । त्यसै गरी ग्रामथानमा २७ हजार ९९३, कटहरीमा २७ हजार ९६४ र बेलबारीका तीन वडामा १२ हजार ८७९ मतदाता रहेका छन् । यही मतदाता सङ्ख्याले उम्मेदवारको हारजितको फैसला गर्ने छ ।

स्थानीय तहदेखि आमनिर्वाचनसम्म

यस क्षेत्रको चुनावी इतिहास रोचक छ । २०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतका आधारमा नेकपा (एमाले) सबैभन्दा बलियो देखिएको थियो । २३ मध्ये १८ वटा वडा जितेको एमालेले कुल २५ हजार ६० मत ल्याएको थियो । कांग्रेसले तीन वडासहित २० हजार ५५२ र तत्कालीन माओवादी केन्द्र हाल नेकपाले एक वडासहित १० हजार ७९८ मत पाएको थियो । छ महिनापछि भएको २०७९ को आमनिर्वाचनमा भने कांग्रेस–माओवादी गठबन्धन हुँदा मोदी ३० हजार ६१२ मतका साथ विजयी हुनुभयो । एमालेका विनोद ढकालले २४ हजार ४६३ मत ल्याएर पार्टीको मत सुरक्षित राख्नुभएको थियो । उक्त निर्वाचनमा राप्रपाले सात हजार ४६८ र रास्वपाले पाँच हजार ३३३ मत पाएका थिए । गत वर्ष ग्रामथानको उपनिर्वाचनमा तत्कालीन माओवादीले एक्लै जितेर तीन हजार पाँच सय मत वृद्धि गरेपछि मोदी थप उत्साही देखिनुभएको छ ।

गठबन्धनको बैसाखी कि व्यक्तिगत प्रभाव ?

४२ बर्से मोदीका लागि यो निर्वाचन ‘अग्निपरीक्षा’ पनि हो । २०७४ मा एमाले र २०७९ मा कांग्रेससँगको गठबन्धनमा जितेका मोदी यस पटक एक्लै मैदानमा हुनुहुन्छ । उहाँलाई रोक्न कांग्रेस महामन्त्री गुरुराज घिमिरे र एमालेका पूर्वमन्त्री जीवन घिमिरे सक्रिय हुनुहुन्छ । २०७९ को चुनावमा प्रदेश सभातर्फ पराजित यी दुवै नेता यस पटक मोदीको किल्ला भत्काएर आफ्नो राजनीतिक साख फर्काउने दाउमा हुनुहुन्छ ।

साझा व्यक्तित्व र सहयोगी छवि

पार्टीगत मतमा एमाले बलियो देखिए पनि मोदीको व्यक्तिगत छवि नै उहाँको मुख्य पुँजी हो । सरल, मिलनसार र नागरिकको सहज पहुँचमा रहने नेताको पहिचान बनाएका मोदी जनताका साना समस्यामा पनि प्रत्यक्ष सहभागी हुने गर्नुहुन्छ । विकासनिर्माणमा उहाँको सक्रियता र सहयोगी भावनाले गर्दा धेरै मतदाताले उहाँलाई दलीय घेराभन्दा माथि उठेर ‘साझा व्यक्तित्व’ का रूपमा हेर्ने गरेका छन् । यही छविले उहाँलाई कठिन प्रतिस्पर्धामा पनि बलियो दाबेदार बनाएको छ । यो निर्वाचन उहाँका लागि लोकप्रियता प्रमाणित गर्ने अवसर हो । हिजो गठबन्धनको बलमा जितेका मोदीले यस पटक आफ्नै व्यक्तिगत प्रभावले चुनाव जित्नुहुन्छ वा दुई घिमिरेले उहाँको यात्रामा ब्रेक लगाउँछन्, त्यसका लागि निर्वाचनको परिणाम कुर्नुपर्ने हुन्छ । 

नयाँ मतदाता र फेरिएको राजनीतिक एङ्गल यस पटक निर्वाचनमा करिब पाँच हजार मतदाता थपिएका छन् । जसको रुझान निर्णायक हुन सक्छ । रास्वपाका सन्तोष राजवंशी र राप्रपाको उपस्थिति पनि उल्लेख्य छ ।