• १३ माघ २०८२, मङ्गलबार

गणपति डिलक्स बसको उत्खनन स्थगित

blog

त्रिशूली नदीकिनारमा गाडिएको अवस्थामा फेला परेको बस खोतल्दै प्रहरी । फाइल तस्बिर : शालिग्राम नेपाल

दमौली (तनहुँ) माघ १३ गते । तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङवेसीस्थित त्रिशूली नदीमा किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खननकार्य आजदेखि स्थगित गरिएको छ ।  

उत्खनन सुरु भएको १७औँ दिनमा स्थगित गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिनुभयो । बसको केही भाग पानीबाट निकालिएको र बाँकी भाग निकाल्न समस्या भएपछि काम रोक्ने निर्णय गरिएको उहाँले बताउनुभयो । 

गत पुस २६ गते त्रिशूली नदीमा बस भेटिएपछि पुस २७ गतेदेखि सुरु गरिएको उत्खनन कार्यको सोह्रौँ दिन हिजो बसभित्र मानव कङ्काल भेटिएको थियो । बसको भित्री भागबाट मानव कङ्काल भेटिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो । 

विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा गएको लेदोसहितको पहिरोमा परी काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ बस नदीमा हराएको थियो । उक्त बस गत पुस २६ गते तनहुँतर्फ नदी किनारमा भेटिएको थियो ।