प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन २९ गते । स्थानीय तह कार्यसम्पादन मूल्याङ्कनमा सल्यानको दार्मा गाउँपालिका जिल्लामा पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन २०८१/०८२ को अन्तिम नतिजाअनुसार सल्यान जिल्लामा दार्मा गाउँपालिका ७६.४० अङ्क प्राप्त गर्दै जिल्लाभित्रका सबै स्थानीय तहमध्ये उत्कृष्ट कार्यसम्पादनमा पहिलो भएको हो ।
आयोगले प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गरी वित्तीय समानीकरण अनुदानको अङ्क निर्धारण गर्ने गर्दछ। मूल्याङ्कनमा बजेट समयमै ल्याउने, बेरुजु फर्छ्यौट गर्ने, राजस्व सङ्कलन बढाउने, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग तथा वित्तीय अनुशासन कायम गर्ने लगायतका सूचकहरू समावेश छन् ।
आयोगले माघ २९ गते प्रारम्भिक नतिजा सार्वजनिक गरी पुनरावलोकनका लागि सात दिनको सूचना जारी गरेको थियो । स्थानीय तहहरूले छुट भएका विवरणहरू पेश गरेपछि अन्तिम नतिजा प्रकाशित गरिएको हो ।
दार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले आयोगको मूल्याङ्कनले स्थानीय तहको कामको पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासन जाँच गर्ने बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले भन्नुभयो, “जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाको सहकार्यले दार्मा गाउँपालिकाले जिल्लामै पहिलो स्थान हासिल गर्न सफल भएको हो। आगामी दिनमा पनि सुशासन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै लैजाने हाम्रो प्रतिबद्धता छ ।”
स्थानीय तह कार्यसम्पादन मूल्याङ्कनले वित्तीय अनुशासन, जवाफदेहिता र कार्यसम्पादनमा आधारित अनुदान वितरणलाई प्रभावकारी बनाउन र स्थानीय सरकारलाई थप उत्तरदायी बनाउने अपेक्षा गरिएको छ ।
यस्तै आयोगले सार्वजनिक गरेको नतिजाअनुसार दोस्रो स्थानमा छत्रेश्वरी गाउँपालिका (७२.२४ अङ्क) र तेस्रो स्थानमा त्रिवेणी गाउँपालिका (६८.८७ अङ्क) रहेका छन् ।
यसैगरी कालिमाटी गाउँपालिकाले ६४.४८ अङ्क, सिद्धकुमाख गाउँपालिकाले ५३.४८ अङ्क र कुमाख गाउँपालिकाले ५२.५० अङ्क प्राप्त गरेका छन् ।
नगरपालिकातर्फ बनगाड कुपिण्डे नगरपालिकाले ६६.९७ अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ । यस्तै शारदा नगरपालिकाले ६१.१२ अङ्क र बागचौर नगरपालिकाले ५७.५५ अङ्क प्राप्त गरेका छन् ।
आयोगका अनुसार मूल्याङ्कनमा विकास कार्यक्रमको कार्यान्वयन, बजेटको प्रभावकारी उपयोग, प्रशासनिक क्षमता तथा जनसहभागितालाई आधार मानेर अङ्क निर्धारण गरिएको हो ।
सल्यानका स्थानीय तहको यो कार्यसम्पादनले विकास र सुधारको दिशा निर्धारणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।