• १३ पुस २०८१, शनिबार

एक झिल्को

blog

मनदेवी ताम्राकार 

हरे, कति गारो रहेछ अमेरिकामा ! नेपालमा बस्नेहरूले हेर्दा छोराछोरीलाई अमेरिका पठाएपछि त आकाशबाटै बर्सन्छ भन्ठान्छन् । यहाँ भने हेर कस्तो ! बेलुका एघाह्र बजेसम्म काम गर्दा पुग्ने ठाउँमा रातको एक बजिसक्दा पनि घर फर्केकी होइन । छोरीलाई कति गाह्रो !

गाडीको आवाज सुन्नासाथ छोरी आइपुगेकी हो कि भन्ठानेर सिर्जना घरिघरि घाँटी तन्काएर हेर्न थाल्छे । जतिपल्ट गाडी आउँछ अरूकै मात्र आउँछ । रातको एघाह्र भइसक्यो तैपनि छोरी समा नफर्केकीले सिर्जनाको मन छटपट छटपट भइरहेछ । 

कहिले झ्यालबाहिर हेर्नु, कहिले कोठाभित्र आँखा घुमाउने गरिरहेकी देखेर सिर्जनाको लोग्ने महेश्वरले भनिहाल्यो– के नचाहिने चिन्ता लिइरहेकी ! डाक्टर भइसकेकी छोरीको पनि पीर लिनुपर्छ र ! भोलिपर्सि हामीले छोडेर जाने बेलामा के गर्छौ त ? एक त आज शुक्रबार । यहाँ अमेरिकीहरूको रमाइलो गर्ने दिन । देखिनौ कति गाडी गुडिरहेका छन् । मध्यरात भन्न मिल्छ ? यहाँ त्यसरी झ्यालमा बसेर हेरिरहनु हुन्न, बाहिर उभिरहन हुन्न भनेको बिस्र्यौ, खुरुक्क नसुती !

तपाईं पो बाबु, कुनै पीर हुन्न । म त आमा हुँ ! जति नै पीर लिन्न भने पनि पीर त लागिहाल्छ । छोराछोरीहरू जति ठूलो भए पनि कमाइवाला भए पनि, बिहे भइसकेपछि पनि आमाको आँखामा जतिखेर पनि केटाकेटी नै भइरहँदो रहेछ । लोग्नेलाई सुनाउँदै सिर्जना झ्याल थुनेर कोठामा आएर सुत्ने प्रयास गरी । तर दुवैको आँखामा निद्रा कहाँ आउनु !

अमेरिकाको एउटा राज्य ओरिगनको सानो गाउँ युजिन निकै रमाइलो ठाउँ हो । चारैतिर पहाडले घेरिएको स्वच्छ सफा ठाउँ । बाटोको दुवैतिर समय अनुसारको फूल फुलिरहेका वृक्षहरू लहरै छन् । यहाँ यसरी फूल फुलेको देख्ता पनि द्यौताका लागि भनेर टिप्ने बानी कसैको छैन । गाउँ भनेर कहाँ हुन्छ ? चाहिने सबै सुविधा छ यहाँ । ठाउँ जति रमाइलो छ उस्तै यहाँका मान्छेहरूको स्वभाव पनि राम्रो छ । बाटोमा हिँड्दा, जो भेटे पनि हाई ! हेलो ! हाउ आर यू ? ह्याभ अ नाइस डे भन्दै मन्द मुस्कान छोडेर जान्छन् मानौँ पहिला देखेको चिनेजानेको मान्छे भेट भएजस्तो । बाहिरबाट आएका कोही कहीँ अलमल परेको देखियो भने यहाँका मान्छेहरूले तपाईंलाई के भयो ? केही सहयोग गर्नुपर्छ कि ? भनेर सोधिहाल्छन् । यस्तो रमाइलो ठाउँमा छोरी समा एमडी सकेर डाक्टरी काम गरिरहेकीले सिर्जना र महेश्वर दुवै अत्यन्त हर्षित छन् । तैपनि आमाबाबुको माया न हो ! छोरीलाई एक्ली छोडेर अर्को हप्तामा नेपाल फर्कने कुराले मन खिस्रिक्क परेको छ । नफर्केर पनि के गर्ने । नेपालमा पनि छोराछोरी छन् । आमाबाबुका लागि सबै छोराछोरीको उत्तिकै माया लागेको हुन्छ । सिर्जना र महेश्वरलाई दुई देशमा दुईतिर खुट्टा राखेर उभिरहेझैँ लाग्यो ।

सिर्जनाले निदाउन कति प्रयास गरी तर छोरी नफर्केकीले निदाउनै सकिन । निदाए कि निदाएको छैन भनेर थाहा पाउन लोग्नेतिर हेर्दै सुस्तरी सोधी –तपाईं निदाउनु भयो ? 

तत्काल उत्तर आयो– मलाई मात्र कहाँ निद्रा लाग्छ ? मलाई मात्र केही पीर छैन भन्ने सोचेकी हौली तिमीले ! तर मलाई छोरी आएकी छैन भन्ने खालको तिम्रो जस्तो पीर होइन, छोरीलाई एक्ली छोडेर जानुपरेको पीर हो मेरो । हामीले छ महिनाको भिसामा आउँदा त्यतिका समय कसरी बिताउने भन्ने सोचेको हैन ? साढे पाँच महिना समय त आँखा चिम्लेसरह बित्यो है !

महेश्वरलाई जवाफ दिनै लागेको बेला फेरि गाडी रोकिएको आवाज सुनियो । सिर्जना जुरुक्क उठेर झ्याल खोलेर हेरी । तर आफ्नी छोरीको गाडी होइन । अगाडिको अपार्टमेन्टमा बस्ने आइमाई फर्केकी रहिछ ।

त्यो आइमाई सायद अपार्टमेन्टको मटान तल्लामा बस्ने रहिछ क्यारे । त्यहाँको कोठामा झल्लमल्ल बत्ती बालिएको छ । एउटा पुरुष रोइरहेको काखे बच्चालाई फकाइरहेको सिर्जनाले देखी । बच्चाको मुखमा बोतलबाट दूध खुवाउने प्रयास गरिरह्यो । बच्चा भने रोएको रोयै छ । भोकले हो अथवा पुरुषले फकाउन नजानेर हो ! भर्खर आइपुगेको गाडीबाट झरेकी महिला अलि आत्तिएको देखिन्छ । हतारिँदै अपार्टमेन्टमा पसी । बच्चा रोइरहेको कोठामा महिला पसेको देखियो । त्यसले कोठामा चारैतिर नियाली । खाइसकेपछिको रित्ता भाँडाकुँडा, बियर सिसी, गिलास र अन्य भांँडाकुँडाले भरिएको टेबुलमा हेरी । सायद शुक्रबार आफू खाइपिइ गर्दा गर्दा बच्चालाई समयमै खुवाउन छुटे जस्तो छ । महिला रिसाएकी देखियो । ठूलठूलो आँखाले हेर्दै पुरुषलाई केही भनेको देखियो । झ्याल बन्द भएकाले भित्रको आवाज सुनिएन । हात हल्लाइ हल्लाइ ओठ मात्र चलेको सिर्जनाले देखी । बच्चालाई समयमा नखुवाई रुवायो भनेझैँ गरी महिलाले बच्चा थुतेर लिई । रिसाउँदै पुरुषको गालामा चड्याम्म एक थप्पड हानी र कोठाबाट बाहिरिई । महिलाले पुरुषलाई त्यसरी गालामा थप्पड हानेको देखी सिर्जना नराम्रोसित झस्की । ओहो, यहाँ त ! भन्दै जिब्रो टोकी । यसै बेला छोरी समा पनि आइपुगेजस्तो लागेकाले सिर्जनाले हत्तपत्त झ्याल थुनी ।

आमा बुबा, तपाईंहरू अहिलेसम्म सुत्नुभएको छैन ? काम गर्दागर्दै अलि ढिला भइहाल्यो । आज शुक्रबार, त्यही भएर होला बाटोमा गाडीको जाम पनि भन्दै समा कोठाभित्र पसी । मैले त अस्पतालकै क्यान्टिनमा खाइसकेँ । आमा बुबाले खानुभएको हो ? म त थाकेँ । भोलि फेरि ड्युटी छ भन्दै समा आफ्नो कोठामा गई । आफूले भर्खर देखेको दृश्य छोरीलाई सुनाउन सिर्जनाको घाँटीसम्म आएको कुरा त्यतिकै दब्यो । 

सिर्जना सुत्ने प्रयास गर्न थाली । तर आँखामा निद्रा छैन । कहिले वल्लो त कहिले पल्लो कोल्टे फेरिरही । निद्रा नलागेपछि उठेर बत्ती बाली । फेरि निभाई । कति बेरसम्म बल गरेर आँखा चिम्लिरही । निदाउन जति प्रयास गरे पनि अघि आफूले देखेको दृश्य सिनेमाझैँ आँखाअगाडि आइरह्यो । सिर्जनाको मनमा अनेकन तर्कनाहरू आउन थाले– हाम्रो देशमा भए लोग्नेलाई कति मानसम्मान गर्नुपर्छ । आफूलाई मन परेको नपरेको कति कुरा भन्नलाई पनि सासूससुरा, जेठानीदेउरानीले थाहा पाउलान् भनेर आफ्नो कोठाको एकान्तमा भन्नुपर्छ । लोग्ने राति अबेर गरी आउँदा ढोका खोल्न अलि ढिला भयो कि सोझो लोग्ने पनि घुरेर हेर्न थालिहाल्छ । अझ त्यस्तै लोग्ने प¥यो भने त ढोका खोल्न पनि साइत हेर्नुपर्ने भन्दै कुर्लन थालिहाल्छ । 

कोही कोही दुच्छर लोग्ने प-यो भने त शनिबार बिदाको दिन भनेर दिनभरि जुवा खेलेर पैसा हारेको झोँकमा टिल्ल पिएर आउँछन् अनि ढोका खोल्न ढिलो भएको बहानामा स्वास्नीलाई गाली गर्दै भकुर्न बेर लाउँदैन । तैपनि स्वास्नीमान्छेहरूसित रुँदै सहनुबाहेक अर्को बाटो छैन । यहाँ भने कस्तो ! लोग्नेलाई बच्चा हेर्न लगाएर आफू ढिलो आउँदा पनि रिस पोख्न सक्ने । धन्य छ अचेलका लोग्नेमान्छेहरू आफ्नी स्वास्नीमाथि रिस पोख्न पनि सक्तैनन् । मनमा कुरा खेलाउँदै खेलाउँदै सिर्जनालाई कतिखेर निद्रा लाग्यो पत्तै भएन । 

ढिलै सुते पनि भोलिपल्ट सिर्जना बिहान सबेरै बिउँझी । काममा जाने छोरीका लागि, लोग्ने र आफूलाई टेबुलमा बे्रकफास्ट तयार गर्दै हिजोदेखि अटेसमटेस भएर बसेको त्यो घटना छोरीलाई सुनाइहाली– कस्ती सनकी आइमाई रहिछ त्यो ! स्वास्नी भएर पनि लोग्नेलाई थप्पड हान्ने । मलाई त राम्रैसँग निद्रै लागेन, छोरी ।

सिर्जनालाई आफूले साह्रै चकित पार्ने कुरा सुनाएँ जस्तो लाग्यो । तर छोरीले भने त्यसलाई हलका ढङ्गले लिँदै भनी– अँ, आमा यहाँ यस्तै हो । लोग्नेले केही गल्ती ग¥यो होला । अनि रिसले एक थप्पड हिर्काइ होली नि ! त्यति जाबो कुरामा पनि आमाले केके न भएको ठानेर मनमा कुरा खेलाउनुपर्छ र ! लोग्ने स्वास्नीको झगडा । सरी भनेपछि जस्तै गल्ती पनि फासफुस हुने यहाँको चलन । हप्तामा एकचोटि आउने शुक्रबारमा यहाँका मान्छेहरू पार्टीमा, क्लबमा गएर साथीहरूसित रमाइलो गर्छन् । हिजोको दिन त्यसरी रमाइलो गर्ने स्वास्नीको पालो होला । बच्चा भएपछि लोग्ने र स्वास्नीले पालैपालो शुक्रबार यसरी रमाइलो गर्छन् । घरमा आउँदा बच्चालाई रोइरहेको देखेर स्वास्नीलाई रिस उठ्यो होला । अनि चडकाइ होली, त्यो पनि पिएको सुरमा ! आमा यहाँ त्यसरी अर्काको घरमा चियो गर्नु हुँदैन । बच्चा कति हिसी परेको छ आहा ! भनेर नेपालमा झैँ माया गरेर छुनु पनि हुन्न । खानेकुरा दिन पनि हुन्न । धेरै बेरसम्म बच्चालाई रुवाइराख्दा छरछिमेकीले पुलिसकहाँ उजुरी ग-यो भने समातेर लान्छ । ल, मलाई अबेर भयो । आज पनि ढिला हुनसक्छ । समयमै खाएर सुत्नुहोला, ल जान्छु है आमा बुबा ! भन्दै छोरी ब्रेकफास्ट सिध्याएर छिटछिटो गाडीभित्र पसी । आफूले सिकाइपढाइ हुर्काएकी छोरी आज आफैँलाई सिकाउने भइछ भन्ने सोचेर सिर्जना छक्क परिरही । तर मनको कुरा भन्न पाएकीले सिर्जनालाई जिउ हलुङ्गो भयो । 

छोरीलाई हेर्न झ्यालमा पुगेकी सिर्जनाको आँखा अनायासै त्यही अपार्टमेन्टमा गयो । आज पनि अचम्मको दृश्य देखी । हिजै मात्र गालामा त्यसरी चड्कन हान्ने श्रीमतीसित हाँसी हाँसी अंँगालो मार्दै बाहिर आउँदै थियो त्यो लोग्नेमान्छे । बच्चालाई गाडीको सिटमा राखेर पेटीले बाँध्यो । सायद बच्चालाई स्याहार केन्द्रमा लैजान लागेको होला । दुवैले आपसमा अँगालो मा¥यो । 

परेवाको जोडीले झैँ चुच्चो जुधायो । अरूले के भन्ला भन्ने लाजसरम पनि छैन । उनीहरूको अनुहारमा हिजोको झगडाको कुनै तुस छैन । बरु आपसमा प्रेम झाँगिएको पो देखियो । हिजो देखिएको झगडा त बिजुली चम्काइको एक झिल्को पो रहेछ । एकैक्षणमा दुवैले आपसमा हात हल्लाएर बाई बाई गर्दै आआफ्नो गाडीमा बसेर दुईतिर लागे । एकचोटि सरी भनेपछि जस्तै गल्ती पनि माफी हुने रहेछ भन्ने छोरीको कुरा कानमा गुन्जिरह्यो । अमेरिकाको चालामाला देखेर सिर्जना भित्ताको द्यौताझैँ वाल्ल परिरही ।

००

(नेपालभाषा कथा साहित्यमा तीसको दशकदेखि कथालेखनमा सक्रिय मनदेवी ताम्राकार स्थापित कथाकार हुन् । नारी मनोविज्ञान, सामाजिक परिवेश तथा आधुनिकताले ल्याएको विसङ्गतिका बारेमा प्रभावकारी कथाहरू लेख्दै आएकी कथाकार ताम्राकारका इलं क्यंगु लँ, लँय् खनागु पला र धुफ्वः गरी तीनटा कथाकृति प्रकाशित छन् ।) 

अनुवाद : ध्रुव मधिकर्मी