• २५ फागुन २०८२, सोमबार

निर्वाचनमा पूर्वमन्त्रीहरूको कमजोर प्रदर्शन

blog

निर्वाचित भएपछि समर्थक तथा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा पूर्वसञ्चारमन्त्री जगदीश खरेल । तस्बिर : गोरखापत्र

पूर्वसञ्चारमन्त्री खरेल विजयी 

काठमाडौँ, फागुन २५ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि उम्मेदवार बन्नुभएका पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलबाहेकका छ जना पराजित हुनुभएको छ ।

पराजित हुनेमा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, ज्ञानेन्द्रबहादुर कार्की, पार्वत गुरुङ, शेरधन राई, शङ्कर पोखरेल र डा. मीनेन्द्र रिजाल हुनुहुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री खरेल प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नम्बर २ मा विजयी हुनुभएको हो । उहाँले ३९ हजार ४९१ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत प्राप्त गर्नुभयो ।

लमजुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बन्नुभएका पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसीसँग पराजित हुनुभयो । केसीले ३३ हजार ८९८ मत प्राप्त गर्नुभएको हो भने गुरुङले १६ हजार ८७६ मत प्राप्त गर्नुभएको हो । 

त्यसै गरी सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि पराजित हुनुभएको छ । पूर्वमन्त्री कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपककुमार साहसँग पराजित हुनुभएको हो । रास्वपाका साह ३८ हजार ८३८ मत ल्याएर विजयी हुनुभयो भने पूर्वमन्त्री कार्की १४ हजार १६७ मतसहित दोस्रो हुनुभयो । 

दोलखा जिल्लाबाट उम्मेदवार हुनुभएका अर्का पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिनिधि सभा निर्वाचनमा पराजित हुनुभयो । नेकपा (एमाले) को तर्फबाट दोलखाको क्षेत्र नम्बर १ मा उम्मेदवार बन्नुभएका गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेलसँग पराजित हुनुभएको हो । खरेलले ३२ हजार ३७६ मत प्राप्त गर्नुभयो भने गुरुङले १७ हजार ४४९ मत प्राप्त गरी दोस्रो स्थान हासिल गर्नुभयो ।

प्रतिनिधि सभा निर्वाचनमा अर्का सञ्चार तथा सूचना प्रविधिमन्त्री शेरधन राई भोजपुर क्षेत्र नम्बर १ मा पराजित हुनुभयो । नेकपा (एमाले) को तर्फबाट उम्मेदवार हुनुभएका पूर्वमन्त्री राईलाई श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले पराजित गर्नुभयो । विजयी हुनुभएका ध्रुवराज राईले १६ हजार ६६३ मत पाउँदा पूर्वमन्त्री राईले १४ हजार ७५० मत प्राप्त गरी दोस्रो स्थानमा हुनुहुन्छ ।

त्यसै गरी नेपाली कांग्रेसको तर्फबाट मोरङ क्षेत्र नम्बर २ मा उम्मेदवारी दिनुभएका पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री डा. मीनेन्द्रप्रसाद रिजालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्णकुमार कार्कीसँग हार बेहोर्नुभएको छ । विजयी हुनुभएका कार्कीले ४० हजार ९२४ मत प्राप्त गर्नुभएको छ भने पूर्वमन्त्री डा. रिजाल १२ हजार ७६४ मत प्राप्त गरी तेस्रो स्थान हासिल गर्नुभएको छ । नेकपा (एमाले) का दिलिपकुमार अग्रवालले १५ हजार ६२४ मत प्राप्त गरी दोस्रो स्थान हासिल गर्नुभएको छ ।

अर्का पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रतिनिधि सभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विपिनकुमार आचार्यसँग पराजित हुनुभएको छ । विजयी हुनुभएका आचार्यले ४३ हजार ५५९ मत प्राप्त गर्नुभएको छ भने पूर्वमन्त्री पोखरेलले १५ हजार २८७ मत प्राप्त गरी दोस्रो स्थान हासिल गर्नुभएको छ ।