• २१ फागुन २०८२, बिहिबार

निर्वाचनमा संयमित सञ्चार

blog

प्रतिनिधि सभाको निर्वाचन आज बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुँदै छ । पाँच वर्षका लागि देशको नीति, कानुन र दिशानिर्देश तय गर्ने जनप्रतिनिधि छान्ने दिन हो आज । स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि देशभर निर्वाचन केन्द्रित सुरक्षा व्यवस्था कडा गरिएको छ । एकीकृत सुरक्षा योजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीको बाक्लो तैनाथी खटाइएको छ । ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी, ७९ हजार ७२७ राष्ट्रिय अनुसन्धान विभागका र एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको बलियो सुरक्षा घेरासहित सातै प्रदेशमा ‘कमान्ड पोस्ट’ लाई सक्रिय बनाइएको छ । देशभरका १० हजार ९६७ मतदान स्थलका २३ हजार ११२ मतदान केन्द्रमा हुँदै गरेको आजको निर्वाचनमा सञ्चार माध्यमले पनि सामान्य दिनको तुलनामा विशिष्ट र गम्भीर प्रकृतिको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

उत्प्रेरणा र सचेतना अभिवृद्धि 

निर्वाचनको दिन पत्रकारिताले समाचार सम्प्रेषण गर्ने सीमित दायित्व मात्र पूरा गरेको हुँदैन, उसले त समग्र देशको भाग्य र भविष्य सम्झेर आम मतदातालाई मतदानमा सहभागी हुन उत्प्रेरित गर्ने गरी सञ्चारीय जिम्मेवारी पनि वहन गर्नु पर्छ । यस दिन आमसञ्चार माध्यममा प्रकाशन वा प्रसारण हुने हरेक शब्दले जनमतमा विशेष महत्वका साथ प्रभाव पार्न सक्छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि कायम रहेको ‘मौन अवधि’ अर्थात् प्रचारप्रसार निषेधको समयावधिलाई निर्वाचनका दिन पनि अक्षरशः पालना गर्दै अझ बढी संयमता अपनाउनुपर्ने कर्तव्य मिडिया जगत्कै हुन्छ । परोक्ष रूपमा हुन सक्ने मिडियाकेन्द्रित प्रचारप्रसारमा मतदान स्थलको अवलोकन गर्नेबित्तिकै मिडियाकर्मीले दिनसक्ने प्रतिक्रिया, मत परिणामको अनुमान, कुनै उम्मेदवारको जितहारको दाबी, मतदाताको दुःखेसो सार्वजनिक गर्ने सवाल वा घटना आदि पर्न सक्छन् । यसैले निर्वाचनको दिन ‘के सार्वजनिक गर्न मिल्छ ?’ भन्दा पहिले ‘के के सार्वजनिक गर्न मिल्दैन ?’ भन्ने पक्षबाट मिडिया बढी सचेत हुनुपर्ने सवाल चाहिँ प्रमुख ठहर्छ । यसैले आजको निर्वाचनमय ‘महायज्ञ’ मा हरेक मिडियाका सामग्री उत्साहभन्दा बढी संयम, वेगभन्दा बढी सत्यता र प्रतिस्पर्धाभन्दा बढी विश्वसनीयतामा अडिग रहनु श्रेयस्कर हुन्छ । 

मतदान प्रत्येक मतदाताको गोप्य अधिकार हो । मिडियाले मतदान गर्दाको उत्साहपूर्ण भनाइलाई सम्प्रेषण गर्नु पर्छ तर ‘हामीले फलानो दललाई भोट दियौँ’ भन्ने जस्ता मतदाताको प्रतिव्रिmयालाई भने कदापि सम्प्रेषण गर्नु हुँदैन । प्रत्येक पत्रकारका लागि ‘मतदान गर्न पाउँदा कस्तो लाग्यो ?’ भन्ने प्रश्न सुरक्षित हुन्छ भने ‘कसलाई भोट दिनुभयो ?’ भन्ने प्रश्न जोखिमपूर्ण मात्र नभई गैरकानुनी पनि ठहर्छ । निर्वाचनको दिन जनभावना लिँदा लोकतन्त्रको सुदृढीकरण, नागरिक सहभागिता, निर्वाचनको शान्तिपूर्ण वातावरण र मतदान प्रक्रिया जस्ता साझा र गरिमामय विषयमा मात्र केन्द्रित हुनु सञ्चार जगत्को उपयुक्त र परिपक्व कदम हुने छ । निर्वाचन सफल बनाउन प्रत्येक नागरिकमा निर्वाचनप्रति सकारात्मक धारणा र कानुनी सचेतना वृद्धि गर्न मिडियाले विशेष भूमिका निर्वाह गर्नु पर्छ । मतदान गर्न जान नचाहनेलाई मतदानको महत्व बढाउने खालका सूचना सम्प्रेषित गर्नु पर्छ । अरूले मतदान गर्दाको अनुभव सार्वजनिक गर्दा कोही मत दिन जान्नँ भनेर घरमै बसेको व्यक्ति पनि जुरुक्क उठेर जाने मनस्थिति परिवर्तन हुन सक्ने हुँदा त्यसलाई प्राथमिकता दिनु पर्छ । निर्वाचनको मर्यादाबारे जानकारी गराउन कानुनी प्रावधानको विशेष भूमिका बोध गराउनु पर्छ । निर्वाचन आयोग ऐन २०७३, कसुर तथा सजाए ऐन २०७३, मतदान निर्देशिका २०८२, मुलुकी अपराध संहिता २०७४ जस्ता कानुनमा रहेका प्रमुख प्रावधान सार्वजनिक गर्नु उत्तम हुन्छ । यिनमा पनि खास गरी निर्वाचन आचारसंहिताले निषेध गरेका निर्वाचन प्रचारप्रसार, मत खरिद–बिक्री, हातहतियारसहितको हिँडडुल, मतदातालाई डर वा धम्की दिने जस्ता कार्य पो हुँदै छन् कि भनेर खोजी हुनु पर्छ । निर्वाचनकै दिन बढी हुन सक्ने अन्य गैरकानुनी कार्यमा भोजभतेरको आयोजना, सामाजिक सञ्जालमार्फत कसैलाई होच्याउने, मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्ति दिने कार्यलाई बन्द गर्न सत्यतथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारिताको प्रमुख धर्म हो ।   

समाधानमुखी सूचना प्रवाह

मतदानको दिन मिडियाले गर्न सक्ने सबैभन्दा सकारात्मक काम भनेको समाधानमुखी सूचना सम्प्रेषण हो । अरू दिनको पत्रकारिताको तुलनामा यस दिन समाधानमुखी सूचना सम्प्रेषणलाई थप विशिष्ट र अझ उत्तरदायी बनाउनुपर्ने हुन्छ । निर्वाचनको क्रममा कहाँ के समस्या हुँदै छ भनेर समस्या मात्र देखाउने प्रवृत्तिमा आजको पत्रकारिता सीमित बन्नु हुँदैन । समस्याको तत्कालीन समाधान हुने गरी बाटो पहिल्याउने भूमिकामा पनि मिडिया जगत् अग्रसर बन्नु पर्छ । यस्तै सञ्चार माध्यममा मतदानको समय कति बजेसम्म हो ?

मतदाता परिचयपत्र नभए के गर्ने ? ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि के व्यवस्था छ ? मतदान केन्द्र सारिएको छ कि छैन ? कस्तो अवस्थामा मतपत्र बदर हुन्छ ? कसरी मतको गोपनीयता कायम राख्ने ? भन्ने जस्ता प्रश्नको जवाफ दिने सामग्री सार्वजनिक गरी मतदातालाई सहज बनाउनु पर्छ । निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य मिडिया स्वयम्ले पूर्ण पालना गरी अरूलाई पनि पालना गर्न उत्पेरित गर्नु पर्छ । जिम्मेवारीबोधको मूल मन्त्र सम्झँदै सामग्री सम्प्रेषणका क्रममा प्रत्येक मिडियाकर्मीले ‘यो वाक्यले कसैलाई मत दिन वा नदिन प्रेरित गर्छ कि ?’ भनेर स्वप्रश्न गर्दै निश्चिन्त हुनु पर्छ । मतदान केन्द्रमा जाँदा लाइन कति लामो छ ?

महिलाको सहभागिता कस्तो छ ? युवा मतदाता उत्साहित छन् कि छैनन् ? कतै सम्भावित झडप पो हुने हो कि ? भन्ने जस्ता विषयको समाधानसहित सकारात्मक भाव प्रवाह हुने गरी सम्प्रेषण गर्नु पर्छ । 

कतिपय अवस्थामा समाचार र हल्लाबिचको छोटो दुरी बन्ने अवस्थामा पत्रकारिताले सबैभन्दा पहिले सत्यताको खोजी गर्नु पर्छ । कसैले ‘बुथ कब्जा भयो’ भनेर चिच्यायो भने त्यो तुरुन्त हेडलाइन बन्न सक्दैन । सम्बन्धित निर्वाचन अधिकृत, सुरक्षा अधिकारी वा आधिकारिक स्रोतसँग पुष्टि गरेर सम्भव भएसम्म सकारात्मक दृष्टिकोण र आशावादी चिन्तनमा केन्द्रित हुँदै समाचार सम्प्रेषण गर्नु पर्छ । कुनै ठाउँमा मतदान अलि ढिलो सुरु भयो भने ‘फलानो केन्द्रमा प्राविधिक कारणले मतदान यति समय ढिलो सुरु’ भनेर स्पष्ट सूचना प्रेषित गर्नु पर्छ तर यही समाचारलाई प्रचारको होडबाजीमा ‘आकस्मिक रूपमा रोकियो निर्वाचन÷असफल बन्यो निर्वाचन गराउने निकाय/मतदान गर्न नपाएर रुष्ट बने मतदाता’ भन्ने जस्ता अतिरञ्जित समाचार बनाउनु हुँदैन । यसले निर्वाचन असफल गराउने ‘मिडिया योजना’ लाई उदाङ्गो पार्ने मात्र नभई समग्र पत्रकारिताकै गरिमासमेत घटाउँछ । 

अनुमानरहित विश्लेषणको प्रस्तुति

मतदान भइरहेको बेला विगतका निर्वाचनसँग तुलना गर्दै तथ्यमा आधारित विश्लेषण गर्न सकिन्छ । यस्ता तुलनात्मक समाचारमा विगतमा यस क्षेत्रको मतदान प्रतिशत कति थियो ? यस पटक महिला सहभागिता कस्तो देखिन्छ ? युवा मतदाताको सङ्ख्या कति बढेको छ ? वृद्ध र अशक्तताका लागि निर्वाचनमा कस्तो प्राथमिकता दिइएको छ ? भन्ने जस्ता कुरामा मतदानका दिन खबर बनाउनु उपयुक्त हुन्छ । निर्वाचनको विगत कोट्याउँदै ‘यस आधारमा फलानो दललाई फाइदा पुग्छ’ भन्ने तरिकाबाट निष्कर्ष निकाल्ने कार्य कदापि गरिनुहुन्न । विगत र अहिले चल्दै गरेको तथ्यबिच सीमित विश्लेषण गर्न सकिन्छ तर त्यसैको आधारमा भविष्यवाणी गर्ने गरी सामग्री बनाउनु हुँदैन । प्रविधिको विकाससँगै निर्वाचन केवल मतदान केन्द्रमा मात्र सीमित छैन; यो डिजिटल मैदानमा पनि भइरहेको हुन्छ । सामाजिक सञ्जालमा फोटो, भिडियो, दाबी, आरोप, विश्लेषण आदि सबै कुरा बाढी झैँ बगिरहेका हुन्छन् र पाइन्छन् भन्दैमा मिडियाले निर्वाचन आचारसंहिताविपरीतका सामग्री सम्प्रेषण गर्ने छुट पाउँदैन । यदि कुनै भिडियोमा मतपेटिका जलाइएको देखिन्छ भने त्यो कहिलेको हो ? कुन ठाउँको हो ? पुरानो घटना त होइन ? निर्वाचन हुँदै गर्दा यस्तो भिडियो लगाइयो भने निर्वाचनको ‘महायज्ञ’ मा कस्तो असर पर्न सक्छ ? भन्ने परिणाम पक्षसमेत विचार गर्नु उपयुक्त हुन्छ । नत्र मिडिया स्वयम् अफवाहको स्रोत बन्न सक्ने सम्भावना रहन्छ । त्यसैले यस दिन हरेक समाचार र सामग्रीलाई द्रुतगतिमा तथ्य परीक्षण गर्नका लागि विशेषज्ञसहितको टोलीमार्फत कार्यसम्पादन बढाउनु पर्छ । 

निष्कर्षतः निर्वाचन हुने दिन पत्रकारिताले अझ बढी गम्भीर हुँदै आफ्नो पेसागत धर्म सम्झनु पर्छ । प्रत्येक समाचारमार्फत प्रवाह हुने सूचनामा कतै कसैलाई प्रभाव पार्ने रसायन पो मिसिएको छ कि भनेर सचेत बन्नु पर्छ । तथ्यगत प्रस्तुति दिँदै गर्दा अनुमानको राग पो आयो कि भनेर पत्रकारिताले स्वसमीक्षा गरी संवेदनशील बन्नु पर्छ ।