• ८ जेठ २०८१, मङ्गलबार

नेपथ्य नै प्रिय

blog

जयदेव भट्टराई

चियापान पनि गर्न पाइने, ठूलाठूला साहित्यकार पनि भेट्न पाइने, मौका मिले लेखेका कुरा छोड्न पनि पाइने । यी सबैको केन्द्रबिन्दु थियो मधुपर्कको कार्यालय, प्रमुख हुनुहुन्थ्यो यसका सम्पादक कृष्णभक्त श्रेष्ठ । सानो साँघुरो लाग्ने कार्यालय कक्ष भए पनि अटाई नअटाई साहित्यकार, कलाकार जम्मा भएका हुन्थे सबै खाले । प्रोत्साहनका शब्दका स्वागत आतिथ्य दर्शाउनुहुन्थ्यो उहाँ । गोरखापत्रमा काम गर्ने केही सम्पादक पनि देखापर्थे त्यहाँ । त्यही पहिलो पटक देख्न पाएको थिएँ साहित्यकार कुमार ज्ञवाली, मनु ब्राजाकी आदि आदिलाई । अब यो इतिहास भइसक्यो, नमीठो सत्य भेटिएका ती पात्र अब यो धरामा हुनुहुन्न । त्यतिबेलाका मियोजस्तै बन्नु भएका कृष्णभक्त श्रेष्ठ काठमाडौँको धुम्बाराहीमा बसेर विगत सम्झिरहनु भएको छ, नमीठो वर्तमान टेकेर । लेख्न नसकेको, चित्तबुझ्दो लेख्न नसकेको, उमेर, शरीरले चाहेर पनि लेख्न नसकेको, हात नचल्ने अवस्था, उठेर हिँड्न र उठेर बस्न पनि सकसको अवस्था, मानौँ सबै कुराले दुःख दिएको छ । कविताको क्षेत्रमा अविरल योगदान दिएर अनायास रोकिन पुगेको छ उहाँको कलम । दुई दुई पटक मृत्युलाई जित्न सकेको मान्छे, कविता लेखेर धेरैको मन जित्नु भएका उहाँले आफँैलाई जित्ने लेख्न नसक्ने हो भने लेखिरहनुको अर्थ देख्नुभएन, त्यसैले पछिल्ला समय लेख्नुभएन । उही कुरा लेखिरहने हो भने किन लेख्नु ?

 धुम्बाराहीस्थित उहाँको दैलो टेकेर सुस्ताउन पाएको छैन, उहाँको यही प्रतिप्रश्नले घोरिन पुग्छु म । आफ्नोबारेमा अरूले लेखिदियोस् भन्ने पनि इच्छा छैन, अझ लाग्छ कसैले केही नलेखोस्जस्तै सोच्नुहुन्छ । प्रचार प्रसारबाट टाढा रहन रुचाउने उहाँ सिर्जनामा मात्र रम्न चाहनुहुन्छ यतिखेर भन्नुपर्ला, सिर्जनामा मात्र रम्न चाहनुहुन्नथ्यो । उमेर छँदा र जाँगर चल्दा कलम मात्र चलेन साहित्यिक कर्म पनि त्यत्तिकै । अमलेख र रोदीका संस्थापक, नेपाल लेखक सङ्घको सदस्य, नेपाल साहित्यकार संसद्का संस्थापक सचिव भएर मात्र होइन मधुपर्कको सम्म्पादक, गोरखापत्रको प्रधान सम्पादक, अमलेखको सम्पादक पनि हुनुभयो । महाप्रबन्धक, शिक्षणमा पनि बिते केही वर्ष उहाँका । बुबालाई हृदयाघात भएपछि पारिवारिक दायित्व बहन गर्न अध्यापनबाट जागिरे जीवन सुरु गरेको हो उहाँले । 

अहिले समय पहिलेजस्तो छैन, कर्म शून्यप्रायः छ, कलम नचलेसरह छ । विगत चार वर्षदेखि त ठप्पै छ । साहित्य र साहित्यकारलाई यस्तरी माया गर्ने मान्छे अचेल साहित्यबाट विमुख हुनुभएको छ । 

किन ? 

खै ? एक किसिमको वितृष्णा । कसैसँग गुनासो पनि छैन, कुनै असन्तुष्टि पनि छैन । केही वर्षदेखि साहित्यप्रति मेरो खासै अभिरुचि छैन । पुरस्कार सम्मानतिर पनि चासो छैन । कतिपयले घरमै आएर लिइदेऊ भनेका पुरस्कार पनि स्वीकार गरिनँ । 

१३ वर्षको उमेरमा भारतीमा कविता छपाएर थालिएको काव्यिक यात्रा निरन्तर आठ दशकको उमेर काटेपछि रोकिन पुग्यो । कवितामा पुनरावृत्ति नहोस् भन्ने कुरामा सचेत उहाँ आफैँले आफ्नो लेखनको मूल्याङ्कन गर्नुभयो र चित्त नबुझेपछि लेख्न छोडनुभयो । लेख्न त उहाँले गद्य, गीतिनाट्य पनि लेख्नुभयो । 

जीवन साहित्य मात्र होइन, साहित्यबाहेकको उहाँको जीवनका कथा र विगत सुन्ने हो भने अहिलेको कृष्णभक्त नै पर्याप्त हो । चार वर्षको उमेर पनि नकाट्दै बोनसमा पाएको जीवन बाँचेको पनि आठ दशक नाघिसकेछ । सात दशकको उमेर काटेपछि श्रीमतीसहित पुनः मृत्युको निकट पुग्नुभएका उहाँ जन्मेको थातथलो काठमाडौँको ठमेल छाडेर ११ वर्षअघि छोरा बुहारीको सल्लाहमा धुम्बाराहीको फराकिलो र खुला ठाउँमा बस्न नआएको भए जीवनको अर्को बोनस प्राप्त नहुने पक्का थियो । जिउभरि फोका आएर गम्भीर बिरामी परेपछि शल्यक्रिया गर्ने क्रममा लट्ठ पार्ने औषधिको मात्रा बढी भएपछि डाक्टरले मृत घोषणा गरिदिँदा समाप्त भएको थियो उहाँको जीवन देख्नेहरूका लागि । खै कसले हो उहाँको मुखमा चम्चा हालेर मुख खोलेर उपचार गर्न सुरु गरेपछि चमत्कार भएर बौरिनु भएको थियो । जीवन त बाँच्यो तर खुट्टा काम नलाग्ने । खुट्टा काट्नुपर्ने डाक्टरको सल्लाहलाई उहाँको पिताजीले नमानेपछि कमजोर खुट्टा लिएर अघि बढ्नुभयो । केटाकेटीको उपद्रो स्वभाव चकचके र मापाको मान्छे ११ वर्षको उमेरमा आमा गुमाएपछि भने कृष्णभक्त श्रेष्ठको स्वभावमा परिवर्तन आयो, जीवन बाँच्ने सहारा साहित्य बन्न पुग्यो । लेख्दै राख्दै गरेका कवितामध्ये दाजुले थाहा पाएर ‘भारती’मा छपाइदिनु भएको थियो । अनि त कोरिन पुग्यो काव्ययात्राको मार्ग । भारती, रुपरेखा, मधुपर्क हुँदै फैलिँदै गयो उहाँको लेखन । मोहन कोइरालाले नेतृत्व गर्नुभएको धारलाई पछ्याएर हिँड्ने समूहमा उहाँको पनि योगदान रह्यो । कृष्णभक्त श्रेष्ठका कविता (२०३३), मान्छेको कथा (२०५६), रातको दस बजे (२०६०), ठूलो मान्छे (२०६१), जस्ता कृतिहरूले उहाँलाई अब्बल कविका रूपमा स्थापित गरिदियो । तर स्वभावले अलग मान्छे । मैले जीवनमा कहिल्यै आफ्ना कृतिहरूमा अरूलाई भूमिका लेखाइनँ । कहिले पनि आफ्ना कृति समीक्षार्थ दिइनँ । मलाई लाग्छ समीक्षा गर्न योग्य छ भने त किनेर पनि गरिहाल्छन् नि । 

मैले त्यस्तो केही गरेजस्तो लाग्दैन, जसका लागि मेरो चर्चा गर्न परोस् भनेर पन्छिँदै आउने कृष्णभक्त श्रेष्ठका बारेमा कम लेखिएको छ, अन्तर्वार्ता र चिनारीका कृति, ग्रन्थमा पनि कमै समेटिनु भएको छ । कविताबाटै आफ्नो पहिचान स्थापित गर्न सक्षम उहाँ सिर्जनामा बढी विश्वास राख्नुहुन्छ, प्रचार चासोको विषय नै रहेन । उहाँको कविताको सन्दर्भमा साझा कवितामा डा. चूडामणि बन्धुको लेखन उद्धृत गर्ने हो उहाँको कवित्वबारे थाहा लाग्छ– कृष्णभक्त श्रेष्ठका कविता सरल शैली र पदावलीमा अभिव्यक्त हुन्छन् र स्थानीय तथा राष्ट्रिय अवस्थामा आधारित भए पनि विश्व समस्या, सभ्यता र जीवनदर्शन बोल्छन् । युगको त्रास, मूल्यहीनता, निस्सारता, परम्पराको बोझ, शोषण, अस्थिरता र अनिश्चितताले कविलाई संसार श्मशान जस्तै देखाएको छ र मानवलाई निष्प्राण र जीवन र जगत्प्रति कविको काव्य कहिलेकाहीँ उत्तिकै तीक्ष्ण भएर निस्कन्छ । 

 गुनासो छैन पटक्कै कसैसँग बरु स्वीकारोक्ति छ र त भनिदिनुहुन्छ– साहित्यमा कलम चलाउँदा १६औँदेखि २१औँ शताब्दीसम्मका कविको प्रभावमा लेख्नेहरू एकै थलोमा बसेर लेख्थ्यौँ हामी । यो चरणमा महाकवि देवकोटा, गोपालप्रसाद रिमाल अलि नजिक थिए हामीसँग । हामीले अभिव्यक्तिको माध्यम व्यापक गर्न खोज्यौँ आफ्नो पाठक आफैँ बनाउन खोज्यौँ तर हामीले आफ्नो पाठकको सिर्जना गर्न सकेनौँ । यिनै कारणले सफल हुन सकेनौँ । 

 पढेलेखेका परिवारका साथ धुम्बाराहीमा सन्तोष र सुखको जीवन बिताउँदै हुनुहुन्छ उहाँ । कमजोर शरीर, बढ्दो उमेरले त्यति साथ नदिए पनि पढेलेखेका छोरीहरू, व्यापार व्यवसायमा लागेको छोरा र सक्षम श्रीमतीका कारण उहाँको पारिवारिक जीवन सुखद रहेको छ, साहित्य र परिवारबाट सन्तोष मिलेको छ । उहाँ थप्नुहुन्छ अब त सबै परिवार एकसाथ भेट्ने इच्छा छ, छिटै नै स्कटल्यान्ड र मेरिल्यान्डबाट छोरीहरू आउँदैछन्, त्यो दिन पनि आउँदैछ । अमेरिका बस्ने छोरीले आफ्ना छोटा छोटा कविताका सङ्ग्रह लघुचिन्तनको प्रकाशन गर्न लागेको पनि बताउनुभयो ।

पुरस्कार, सम्मानमा त्यति रुचि नलिने उहाँ पछिल्ला समय यीबाट टाढा भए पनि व्यथित काव्य पुरस्कार, हरिहर शास्त्री सावित्री देवी पुरस्कार, जलरिका पुरस्कार, महाकवि देवकोटा सम्मानबाट सम्मानित भइसक्नुभएको छ ।

 झन्डै तीन घण्टाको बसाइपछि छुट्टिने क्रममा उहाँ भन्दै हुनुहुन्थ्यो– सबै माधव घिमिरे र सत्यमोहनजस्तो कहाँ हुन सक्छन् र ? जे जति लेखेँ त्यसैमा मलाई सन्तोष छ, सन्तोष नलागेपछि लेख्न छाडेको हुँ । अब त पढ्न पनि कठिन छ, लेख्ने हात पनि राम्ररी चल्दैन, आँखाले पनि राम्रो काम गर्दैन, बिर्सन पनि थालेको छु । घरमै यसो ओहोर दोहोर ग¥यो, ह्विलचियरमा बसेर बाहिर बगँैचामा बसेर दिन बिताउँदा आनन्द अनुभव गर्छु । 

उही चम्किला आँखा, ओजपूर्ण बोली, आफ्ना कुरा प्रष्ट राख्न सक्ने स्वभावमा खासै फरक छैन । फरक छ त समयको, बढ्दो उमेरको, थपिँदै गएका रोगका, साहित्यप्रतिको हेराइ । नेपाली कवितामा विशेष योगदान दिएर पनि केही नगरेजस्तै गरी बस्न रुचाउने कवि कृष्णभक्त श्रेष्ठ, धेरैका प्रिय कवि, सम्मानयोग्य कवि । जसलाई नेपथ्य नै प्रिय लाग्छ ।