• २० फागुन २०८२, बुधबार

होलीमा गाइने प्रचलित गीत ‘धमार’

blog

जमुनाह समाचारदता

जमुनाह, फागुन २० गते । 

‘सिया डाले रे सिया डाले रे...

सिया डाले राम गले जयमाला...

सिया डाले...

रामचन्द्र दुलहा बन आये, 

रामचन्द्र दुलहा बन आये...

वाह...लछुमन रे वाह...लछुमन रे’

यो मौलिक गीत मधेशको सहर तथा गाउँ देहातमा होलीका बेला गाइने प्रचलित गीत हो । यो ‘धमार’ गीत हो । जसलाई होलीका अवसरमा श्रद्वा र भक्तिभावले गाइने गरिन्छ । यस समयमा यहाँ चौताल, डेढताल, उलारा, धमार तथा फागलगायतका परम्परागत गीत गाइने प्रचलन छ । यसरी गाइने गीतमा भक्ति तथा प्रेमभाव हुन्छ । यद्यपि ‘फाग’ गीतमार्फत भने होलिकालाई गाली गरिन्छ ।

यस्ता सबै खालका गीतमा सम्पूर्ण जीवन/जगत्का कुरा समेटिने यस समुदायका अगुवा बताउँछन् । गीत गाउन उनीहरू ढोल, मजिरा र झोक्काको समेत वाद्यवादनका रूपमा प्रयोग गर्ने गर्छन् । स्थानीय नरेशसिं ठाकुरका अनुसार, “धमार गीत होलीका अवसरमा यहाँका हरेक जसो घर तथा मन्दिरमा खुवै गाइन्छ ।”

त्यस्तै स्थानीय सुशीला वैश्य भन्नुहुन्छ, “यो गीत यहाँ यति रुचाइन्छ कि, उस्तै परे महिलाहरू घरै जान नपरे हुन्थ्यो भन्छन् । यस्ता गीतले भगवान् पनि हाम्रो नजिक आउँछन् । अनि हाम्रो मन पनि भक्तिभावले भरिन्छ । यसै अवसरमा हाम्रो भेटघाट पनि हुन्छ ।”

होलीको अघिल्लो रात यहाँ होलिका दहन हुने गर्दछ । यस दिन उनीहरूले साँझ चुलो बाल्दैनन् । यस कारण होलिका दहन गर्ने दिन बिहानै यहाँ खाने कुराको सबै बन्दोबस्त गरिसकिएको हुन्छ । होलिका दहन गर्नुभन्दा केही दिनअघिदेखि नै अवध समुदायका महिलाहरू गोबरको ‘बल्ला’ बनाउँछन् । जुन ‘बल्ला’ होलिका दहनका बेला आगोमा आहुति दिने चलन छ ।