मुक्तिनाथ समाचारदाता
मुक्तिनाथ (मुस्ताङ), फागुन २० गते । जाडो छल्न परिवारसँगै काठमाडौँ जानुभएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५,
साङ्ताका छेवाङ गुरुङ सडकमा जमेको बाख्लो हिउँ पन्छाएसँगै मङ्गलबार गाउँ पुगेका छन् । करिब तीन महिना जिल्लाबाहिर बसेका गुरुङले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न गाउँ फर्किएको बताउनुभयो । कठ्याङ्ग्रिँदो चिसोसँगै अन्नबाली थन्काए पशुचौपाया गोठालोलाई जिम्मा लगाएर छिमेकी गाउँ धाकारजुङ झर्नुभएका गोम्बु गुरुङ बाटो खुलेपछि जिप चढेर गाउँ पुगिसक्नुभएको छ ।
छिमेकी जिल्ला डोल्पा जोड्ने सडकको सिमानामा समुद्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइमा रहेको साङ्ता गाउँ जोड्ने सडक करिब चार महिनादेखि हिउँ जमेर अवरुद्ध भएपछि छिमेकी फलेक धाकारजुङ, पाक्लिङ, सदरमुकाम जोमसोमसहित पोखरा, काठमाडौँमा गएको स्थानीय बासिन्दा चुनावका लागि धमाधम फर्किन थालेका छन् ।
वडाध्यक्ष सुरेन्द्र गुरुङले भन्नुभयो, “सडक खुलेपछि यहाँका बासिन्दा गाउँ फर्किएका छन्, केही दिनअघिसम्म सुनसान गाउँमा अहिले चहलपहल बढेको छ ।” १३ घरधुरी रहेको साङ्ता गाउँमा कुल जनसङ्ख्या ७० मध्ये ३९ जना मतदाता छन् । हिउँले अवरुद्ध भएको टेलिफोन सेवासमेत सञ्चालनमा आएको छ । भौगोलिक विकटता, मौसमी जटिलताका कारण मतदान स्थल सार्न माग गरिएपछि प्रमुख जिल्ला अधिकारी अजिता शर्माले मतदातालाई गाउँ फर्किन सहज हुने गरी सडक अवरुद्ध हटाउन गरेको प्रयास सफल भएसँगै मतदाताले गाउँकै केन्द्रमा मतदान गर्न पाएकोमा उत्साहित छन् ।
प्रमुख जिल्ला अधिकारी शर्माको नेतृत्वमा
मङ्गलबार गाउँमा रहेको मतदान केन्द्रको स्थलगत अनुगमनसमेत गरिएको छ । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदरकुण्ड र ल्होमन्थाङ गाउँपालिकामा कुल ११ हजार ३२८ मतदाता छन् ।