मसँग छ– एउटा कवितासङ्ग्रहको किताब । बर्सौंअघि प्राप्त गरेको । कवितासङ्ग्रहको नाम छ– समयका घोडाहरू । यसको आवरण बहुतै कलात्मक छ । एउटा मैमत्त बलवान् घोडा बेतोडले हरियो चौरमा दौडिरहेछ । चौरमा बसेर चित्रकार चित्र कोरिइरहेछ । भुइँमा छरिएका चित्रलाई क्रूर टापले बीभत्स रूपमा कुल्चिइरहेछ । यसभित्रका कविताहरू कति बुलन्द, शक्तिशाली छ भन्ने कुरा आवरणबाटै थाहा हुन्छ । कविले कवितालाई सिँगार्न कुनै कसर बाँकी राखेका छैनन् । सारा कला खन्याएका छन् । कविता जति पढ्यो उति पढौँ पढौँ लाग्ने छ । जब जब यी सङ्ग्रहभित्रका कविताहरू पढ्छु तब मन, मस्तिष्कमा भयङ्कर खैलाबैला हुन्छ । भित्रदेखि रन्थनिएर आउँछु । कवि हुन्– प्रभात । कवि प्रभात मेरो आत्मीय मित्र थिए । यो कवितासङ्ग्रह उनले मेरो जन्म दिनको दिन उपहार दिएका थिए ।
धेरै वर्ष भयो, कविलाई नदेखेको । अहिले कता छन् ? अत्तोपत्तो छैन । कविजी यही बस्तीमा बस्थे । उनी बाल्यकालदेखि नै आमव्यक्तिभन्दा फरक थिए । उनी झरनाका कलकल, खोलाका बहाब, चराचुरुङ्गीका उडान, बर्साका बुँद, बादल, बिजुली, सबथोकलाई एकतमासले हेर्थे । उनको हेराइ सर्वसाधारण मानिसको हेराइभन्दा फरक थियो । उनी एकोहोरिएको देख्दा कतिले भन्थे– “यसलाई कसैले टुना मोहनी लगाएर बिगारिदिएको छ ।” उनी नदी हेर्दै एक्लै बर्बराउँथे– “यो नदी मात्र होइन, मेरो आमाको बगिरहेको आँसु हो ।”
यसोभन्दा अतिशयोक्ति नहोला– कविजीको कवितामा सिङ्गो बस्ती मन्त्रमुग्ध थियो । यो स्थानका खेतका आली, अन्नबाली, रुख, बिरुवा, चराचुरुङ्गी सबै उनको कवितासँग परिचित थिए । जसरी कविजीले यहाँको हावापानीलाई चिनेका थिए त्यसरी नै कविजीलाई पनि यहाँको हावापानीले चिनेको थियो । कविताका पारखीमा तिनै वर्गहरू थिए, जो रिक्सा चलाउँथे । ठेलागाडा ठेल्थे । झाडु लगाउँथे । वर्तन सफा गर्थे ।
कविजी लोकगायक पनि थिए । लोकगीत सङ्कलन गर्थे । उनले सङ्कलन गरेका गीतिगेडाहरू समाजको दर्पण थियो । त्यो दर्पणभित्र समाजका परिवेश, संस्कृति, आर्थिक पीडा, हर्ष, विस्मात, उत्साह, उमङ्ग, हास, परिहास छर्लङ्ङ देखिन्थ्यो । उनी अक्सर गाइरहन्थे–
सुखीलाई आउँछ
पढ्न र लेख्न
दुःखीलाई गीत मात्र
उनका गीतका पारखीहरूमा खेती मजदुर, गोठाला, घाँस काट्ने घसिँनी, काठ काट्ने आरावाल, सिकर्मी, डकर्मी आदि थिए । उनी शब्दका घगडान शिल्पी थिए । उनी शब्दलाई काटेर, ताछेर, चिप्ल्याएर, चिल्लो पार्थे । एउटा मूर्तिकारले अद्भुत मूर्ति तयार पारे झैँ शब्दको आकर्षक मूर्ति तयार पार्थे । उनलाई लोभलालचको जालोमा फसाउन कैयांँ कोसिस गरियो तर कहिल्यै सम्भव भएन । उनका नजरहरू कहिले पनि रङ्गीन संसारमा गाडिएनन् । उनलाई कुनै तिलस्मी बजारले कहिल्यै फसाउन सकेन ।
उनी अक्सर भन्ने गर्थे, “हामीलाई प्रकृतिले यस्तो वैभव प्रदान गरेको छ, दोस्रो कुराको खाँचो नै पर्दैन । आकाशका अथाहपन पानीको कोमलता, झरनाको निर्झरता, माटो र घाँसको सुगन्ध कुनै महाजनले मापन गर्नै सक्दैन । यी खोलानाला, पाखा, पर्वतको दोहन गर्दै सुनको मृगको खोजीमा दौडिनेहरूले चराहरूको आदिम सङ्गीतले कहिल्यै सुन्ने कोसिस गरेका छन् त ?”
उनका कुराहरू सर्वसाधारणलाई बुझ्नलाई कठिन लाग्थ्यो । एक दिन पल्लो घरको छिमेकीको देहान्त भयो । उनी र म घाटमा गएका थियौँ । शव जल्दै थियो । उनी मसँग साहित्य छाँट्दै थिए, “निद्रा पनि मृत्युको अभिनय हो मित्र । हामी यो अभिनय सधैँ गरिरहेका हुन्छौँ तर जुन दिन त्यो अभिनय यथार्थ रूप धारण गरेर आउँछ तब सबै जना मृत्युका भयले त्रसित हुन थाल्छौँ ।” उनको कुरा सुनेपछि म त एकछिन रनथनिएँ । शवयात्राबाट फर्किएपछि रातभरि दिमागमा त्यही कुरा खेलिरह्यो । कविजीको जिनियसबारे आझ्नै धारणा थियो । उनी भन्थे, “म चेखव, टल्सटाय, गोर्की कसैलाई पनि जिनियस मान्दिनँ । ती सबै बाह्य संसारका अनुकरणकर्ता थिए । अवश्य पनि देवकोटा, टैगोरमा भने केही कविता थियो ।”
“आखिर जिनियस भनेको के हो त ?”
“स्वत्व, आत्मसाक्षात्कार, जो यी सबले परिपूर्ण छ, त्यो नै जिनियस हो ।”
तर यतिखेर कविजी कहाँ छन्, कसैलाई पत्तो छैन । आखिर कविजी किन हराए ? कता हराए ? कसैले भेउ पाउन सकेको छैन ।
एक वर्षअघि उनलाई सब्जी पसलमा देखेको थिएँ । एक हातमा तराजु लिएर तरकारी जोखिरहेका थिए ।
“ओहो ! कविजी तपाईं यो काममा, हातमा कापी, कलम हुनुपर्ने ठाउँमा ढकतराजु ?” मैले उत्सुकतापूर्वक सोधेको थिएँ ।
“के गर्नु हजुर, भोको पेटसामु सबै कायल हुनु पर्दोरहेछ । भोक साहित्यको हत्यारा हो । यसले साहित्य मारिदिन्छ । दर्शन जन्माइदिन्छ ।” उनी निराश मुद्रामा थिए । त्यतिखेर कविजीले कविता लेख्न छोडेका थिए ।
“अनि कविजी हिजोआज त हजुरका कविता कहीँ पनि पढ्न पाइएको त छैन नि ?”
“कतिखेर लेख्नु, राति ३ बजे उठेर तरकारी बजार जानु पर्छ । तरकारी ल्याएर पसलमा राखेपछि ग्राहकलाई दिँदा भ्याइनभ्याइ हुन्छ । बेलुका पसल बन्द गरेर घर पुग्दा १० बज्छ । थकाइ यति लाग्छ कि निद्राले छोपिहाल्छ, अनि कतिखेर सोच्नु, कतिखेर लेख्नु ?” कविजीका अनुहारमा निराशाका बादल छाएका थिए । उनले दुःखी हुँदै भनेका थिए, “मैले त कविता लेखनबाट सन्न्यास लिएँ भन्दा हुन्छ । घरका टोकसाले मेरा कविता निलेँ भन्दा हुन्छ ।”
त्यसपछि मैले कविजीलाई देखेको छैन ।
कविजीले पल्लो गाउँकी बाटुलीसँग विवाह गरेका थिए । उनी एउटा पार्टीको कार्यकर्ता थिइन् । पार्टीप्रति झुकाव राख्थिन् । एउटा वादलाई आदर्श मान्थिन् तर कविजी कुनै वादलाई मान्दैन थिए । उनी भन्ने गर्थे– “म कुनै वाद, सिद्धान्तमा छैन । मेरो कुनै रङ छैन । मसँग छ त केवल जीवनका अनगन्ती रङ । प्रकृतिका इन्द्रेणी रङ । त्यही रङले एउटा चित्रकारले झैँ शब्दका चित्र कोर्छु । जनताका सुख, दुःखका कोलाज तयार गर्छु । मेरो वाद भन्नु नै काव्यवाद हो । जीवनको घाम र छायावाद हो । प्रकृतिवाद हो ।” विचार फरक भएकाले बाटुली र उनको ठाकठुक भइरहन्थ्यो । उनकी पत्नी अर्थोपार्जनलाई सबथोक ठान्थी, कविजी काव्य साधनालाई सबथोक ठान्थे । एउटै खाटमा सुते पनि कविजीको सपना र बाटुलीको सपनामा आकाश जमिनको फरक थियो । कविजीको सपनामा कविता नै कविता, लोकभाका । बाटुलीको सपनामा सुन, चाँदी, हिरामोती, पद, यश, आराम । बाहिरबाट हेर्दा दुवै एउटै बाटो हिँडे जस्तो देखिए पनि दुवैको गन्तव्य फरक थियो । बाहिरबाट हेर्दा दुवै एउटै बहावमा बगे जस्तो देखिए पनि नदीका दुई किनारा थिए ।
उनको एउटा सन्तान पनि भएको थियो ।
आज म अस्पतालको शय्यामा छु । औषधीका चर्का गन्ध, ऐया, आत्थाका आवाज । मलाई यहाँ बस्न दिक्क लागिइरहेछ । हिजो मात्र मेरो पत्थरीको अपरेसन भयो । अझ केही दिन डाक्टरले यहाँ बस्नुपर्ने सल्लाह दिएका छन् । उफ् कति दिन बस्नुपर्ने हो ? मलाई दिक्क लागिइरहेछ । जुन शøयामा म पल्टिएको छु, त्यहाँभन्दा अलि परको भित्तामा मेरो नजर पर्छ । जहाँ अङ्ग्रेजीमा लेखिएको छ, मर्चरी हाउस । मर्चरी हाउस अर्थात लासघर । म त्यो कोठा सम्झिँदा झसङ्ङ हुन्छु । आखिर त्यहाँभित्र कति बेवारिसे लास होलान् ? मलाई उकुसमुकुस भएर आउँछ । मलाई घोर त्रासले छोप्न थाल्छ । म त्यताबाट नजर हटाउँछु । सिरानीमा राखिएको कविको कविता पढ्न थाल्छु ।
लासघर बाहिरबाट खैलाबैला आइरहेछ । सुँक्क सुँक्क कोही रोएको आवाज आइरहेछ । “के को आवाज आइरहेछ बाहिर ?” मैले आफू नजिकैको बेडको मानिसलाई सोधेँ ।
“अस्ति ऊ त्यो पल्लो बेडमा भर्ना भएर बित्नुभएको कविजीको लास बुझ्ने मान्छे आएका रहेछन्,” उसले पल्लो बेडतिर औँला तेस्र्याउँदै भन्यो ।
“कहाँका कवि रहेछन् ?”, मैले उत्सुकतापूर्वक सोधेँ ।
“मेरै घरनजिकै डेरा लिएर बसेका कवि ! विचराले निकै दुःख पाए । क्यान्सर भएको थियो उनलाई । श्रीमती रातोदिन पार्टीको काममा व्यस्त । उस्तो राम्रो हेरचाह नै भएन कविजीको, उसले भन्यो । “आखिर को कवि रहेछन् ती ?”, मैले फेरि सोधे ।
“उनको वास्तविक नाम त के हो थाहा भएन तर आफूलाई अपरिचित भन्थे । यो टोलमा उनी अपरिचितको नामले चिनिन्थे । पछि कसैबाट थाहा पाएँ, उनी कुनै समयका नामुद कवि पनि रहेछन्”, उसले बेलिबिस्तार लगायो ।
उनले कविजीको दुःखका कथा सुनाउन थाले । उनी भन्दै थिए, “कविजी निकै छटपटिन्थे । तडपिन्थे । ऐया आमा ! मरे नि आमा ! घरी रुन्थे– हे भगवान् ! भनेर दाह्रा किट्थे ।”
आखिर को रहेछ त कवि, मलाई पनि उत्सुकता जाग्यो । सकी नसकी कोठाबाट बाहिर निस्किएँ । सयौँको भिड थियो, त्यहाँ । “बाबा ! मलाई पनि सँगै लैजानूस्”, भिडको बिचकी अधबैँसे महिला डाँको छोडेर रोइरहेकी थिई । मैले उसको अनुहारमा हेरेँ, कनपट्टीका रौँ फुलेको थियो । अनुहारमा हल्का चाउरीपन छाएको थियो । अनुहार त उही बाटुलीको थियो । म छाँगाबाट खसे झैँ भएँ । मलाई पक्का भयो, कवि प्रभात नै हो । मेरा आँखाबाट बर्र आँसु झर्न थाले, कविजी !
“ल एक पटक अनुहार हेर्नुहोस् बाटुलीजी !” कात्रो हटाएर कविजीको अनुहार देखाइयो । बाटुली डाँको छोडेर रुन थाली । मैले आफूलाई समाल्नै सकेको थिइनँ । भन्न मन लागेको थियो, “बाटुलीको यो कोलाहल अभिनय हो या यथार्थ ?” तर शोकको घडीमा यसो भन्न मनले मानेन ।
“मेरो बाबा !, मलाई नि सँगै लिएर जाउ”, बाटुली झन् झन् डाँको छोड्न थाली ।
“अध्यक्षज्यू, उहाँलाई झन्डा ओढाउनूस्”, पार्टीको कार्यकर्ताले अध्यक्षलाई भन्यो । जब अध्यक्षले झन्डा ओढायो तब मेरा कन्पारो तातेर आयो । रगत उम्लिन थाल्यो । म आक्रोशित भएँ, भित्र भित्र चिच्याएँ, “कविजीमाथि यो सरासर अन्याय हो । उनी कुनै वादमा थिएनन् । उनको वाद भनेको जीवनवाद, प्रकृतिवाद, छायावाद मात्र हो । यसरी लासमाथि राजनीति गर्न छोड । तिमीहरू जस्ता हुँडारहरूको माझमा गौप्राणी कविलाई लगेर नमिसाउ । तिमीहरूका कुकृत्य ढाकछोप गर्नलाई कविका झरना जस्ता कञ्चन र पवित्र शब्दको दुरुपयोग नगर । समुद्र र ढलको कहिल्यै तुलना हुन्छ ?” म भित्र भित्र चिच्याइरहेँ तर त्यो भिडमा कसले पो मेरा मनका कुरा बुझ्थ्यो र ?
उनको शवलाई पार्टीको झन्डा ओढाएर फूलमाला पहिराएर शववाहनमा राखियो । बाहिर आवाज आयो, “कवि प्रभात अमर रहून् ...पार्टी जिन्दावाद ।”
झमक्क साँझ पर्दा कविजीको शवयात्रा निस्किन थाल्यो । कविजीको शवयात्रामा खाली पार्टीका झन्डा मात्र हल्लिरहेका थिए । उनको शवयात्रामा तिनीहरू कोही पनि थिएनन् जो उनका कविताका सच्चा पारखी थिए । उनको कविता सुनेपछि जसका धड्कन धड्किन्थे ।