सिमलका रङ्गीन भुवाहरू झैँ सपना बुनेर
पुतली खेल र चङ्गा खेलसँगै रङ्गिने मन
आज स्वाभिमानको सिंहासनमा अडिग रहेर
उत्सर्ग आरोहणमा रमाउने गर्छ
लाग्यो सुख र सपनाका परिभाषाहरू त
सत्यसँगै बदलिँदो रहेछ ।
अनुभूति त मेरो पनि छ, जहाँ एक कोमल हृदय
सङ्कीर्णताका पर्खालहरू भत्काउन लाग्दा
बेजोड आँधीको झोक्का टकराउन आउँछन्
र धक्का दिएर जान्छन्
धक्का के र मैले गहिरो सच्चाइ पढेको छु
नियाली हेर्नु नदीलाई
भँगालामा पनि बगेकै देखेको छु ।
जिन्दगीका कति बाटा कति कति मोडहरू
कति भए आफ्ना अनि कति पराइहरू
आफ्ना बन्ने शुभेच्छाको मन्द विष पिलाउँछन्
आत्मीय नै विश्वासघातको तिखो झिर चलाउँछन्
घुली विष रसायन झैँ व्यथा जब गर्व बन्छन्
फुल्छ छाती धर्ती जस्तो खाली मुस्कान बाँडेको छु ।
पाइताला त बिझाएरै उकालो चढूँ भन्छ
मन त मेरो पखेरामै लालीगुराँस भई फुलूँ भन्छ ।
दुःख र पीडाका कुराहरू नगरौँ
यी त मान्छेका गहना हुन् भन्छन्
फूलहरू फुल्नका लागि पनि त अँध्यारोकै
भूमिका निर्णायक हुन्छ भन्छन्
कम्तीमा एउटा दियो पनि त जलेरै चम्किन्छ
मान्छेको जिन्दगी पनि यस्तै उज्यालो हुनु पर्छ
सम्भावनाको अन्त्य छैन परै हेरेको छु
यही माटोमा मैले मिठो आस्था रोपेकी छु ।