गोसाइँकुण्डमा सर्वप्रथम विसं १५०४ मा श्री श्री जय यक्षमल्लदेव ठाकुर र श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट नुवाकोट विजयपश्चात् विसं १८०१ मा स्नान भएको इतिहासमा पाइन्छ । सुगौली सन्धिबाट छट्पटिँदै अमरसिंह थापाले देहत्याग गरेको पवित्र धार्मिक स्थान नीलकण्ठ गोसाइँकुण्ड र दशहरा स्नान गर्ने अवसर जु¥यो ।
गोसाइँकुण्डमा हरेक वर्ष प्रतिपदादेखि एकादशीसम्म १० दिन दशहरा र पाँच दिन रक्षाबन्धनसमेत गरी १५ दिन मेला लाग्दछ । देवलोकमा मात्र सीमित गङ्गा पछि पृथ्वीमा आगमन भई ज्येष्ठ शुक्ल प्रतिपदा तिथिमा तुलसीको बीज छरेर सुरु भएको स्नानको शृङ्खला नै दशहरा अर्थात् मानव जातिको १० प्रकारका पापलाई नष्ट गर्ने सामथ्र्य रहेकी भगवती गङ्गामाताको विशेष दिनलाई गङ्गा दशहरा भन्ने कथन भेटिन्छ ।
लामो समयको प्रतीक्षापश्चात् गोसाइँकुण्ड यात्रा गर्ने अवसर जुट्न गयो । जेठको महिना विगत केही दिनदेखि मौसम धुम्मिरहेको छ । भोलिपल्टको यात्राले लोलाएका नयन पल पल घडीको सुइँतर्फ परिरहन्छ । दुरभास यन्त्रले ४ बजाएसँगै हतारमा कुम्लाकुटिरोमा आँखा गयो । यात्रामा मलगायत दुर्गा, अभिराज, सरिता, अग्निशिखा, महालक्ष्मी, सुनिता, पुरुषोत्तम र सङ्गीतासहित नौ जनाको टोली थियौँ । घरबाट निस्कने क्रममा नौ दशकमाथिका पिताले मङ्गल स्तोत्र उच्चारण गर्नुहुँदै आमाले आशीर्वादसहित निधारमा राता टीका लगाई यात्रालाई रौनक बढाइदिनुभयो । हाम्रो गाडी बिहानको मुहूर्त अरुणोदय नहुँदै अगाडि बढ्यो । यातायात व्यवसायीद्वारा भाडाका गाडी बन्दको आह्वान र राजनीतिक असन्तुष्ट पक्षधरबाट उपत्यका बन्दका कारण केही असहज ठान्दै निस्केका हामी पाशुपात क्षेत्र हुँदै प्राचीन वैज्ञानिक बस्ती व्यवस्थापन सहर टोखा छिचोल्दै अगाडि बढ्यौँ । नौ किल्ला रहेको नुवाकोट जिल्लाको मुख्य सहर बट्टार, गौडाको पुरानो व्यापारिक केन्द्र साँघुबजार त्रिशूली पुग्दा तापमानको पारो बढी सकेछ । चरनक्षेत्र र भेडाच्याङ्ग्रा पाइने भएकाले ‘रसोवा’ बाट रसुवा भनिएको जिल्लास्थित १९५० मिटरको उचाइमा रहेको धुन्चे मुख्य नाकामा बिहानको खाना खाई बाटो छोट्याउने क्रम सुरु भयो । अगाडि बढ्दै गर्दा हाम्री छोरीले फर्किंदै गरेका तीर्थयात्रीसँग नौ वटा लट्ठी मागेरै पु¥याएको क्षण सम्झनलायक थियो । सुरुमा प्रत्येक सदस्यको पाइला जोडतोडले अगाडि बढ्दै गए । हिमालय स्प्रिङ वाटरको बोर्डनजिक करिब १९६० मिटरमा रहेको घट्टेखोला पुग्दा नपुग्दै आफ्नो झोलीतुम्बा आफैँ बोकी उकालो लाग्दै गरेकी करिब त्रियासी वर्षीय आमासँगको भेटले ताजगी प्राप्त ग¥यौँ । वारिपारिका झरना र छङछङ बगेको त्रिशूली नदीका आवाजसहित उकाली ओराली स्थानीयसँग मिठो हाँसो हाँस्दै छोटो भलाकुसारीसाथ आफूले बोकेका मकै, चना, चकलेट, पुष्टकारी जस्ता खाद्यान्नले मुख खाली हुनै नपाई दुई हजार तीन सय मिटर उचाइ खेन्दी हुँदै देउराली लेक पुगेको पत्तै भएन । एक लर्कन उकालोपछि नसा नसाबाट पसिना बग्न थाले । करिब दुई हजार छ सय पच्चिस मिटरको उचाइमा रहेको देउरालीमा केहीबेर थकान विसर्जन गर्दै उत्पन्न परिस्थितिसँग जुध्न प्रेरणा मिलोस् भन्ने प्रार्थना ग¥यौँ ।
बाटामा थुप्रै फर्किरहेका तीर्थालुसँगको जय शम्भो जय भोलेका साक्षात्कार अझै ताजै छ । हामीमध्येका दुई सदस्य अलि छिटो अगाडि बढेकाले यात्राभर बिछोडिएका थिए । हामी त्यसदिन माथि जान नसक्ने भएकाले करिब तीन हजार सात मिटर उचाइमा रहेको ढिम्सामा रात काट्ने निधो भयो । आफ्नो होटेलमा बस्नका लागि यात्रीको मन जित्न मालिक बाटामै बस्दा रहेछन् । होटेलमा अरू थुप्रै यात्री भेटिनु स्वाभाविकै रह्यो । अर्को समूहका यात्री नाचगान गर्दा परिस्थितिसँग सम्झौता गर्दै मौका गुमाउन चाहेनौँ । यसले केही थकान कम भएको महसुस भयो । होटेलका यात्रीले मध्यरातमा गरेको हल्लाले निद्रादेवी बेपत्ता थिइन् । अबको यात्रा अविस्मरणीय बनाउनका लागि तानाबानामा रात ढल्कियो । भोलिपल्ट ढिम्साबाट उकालो उक्लिँदा देखिने सुन्दर जीवन्तताले सबैको मन जित्यो । आँखैअगाडि विशाल चट्टान, कलकल बग्ने हिमाली खोला चिसो चिसो हावाको झोक्का हरेक मोडमा एउटा नयाँ दृश्य, नयाँ आश्चर्यले स्मृतिलाई अझ गाढा न्यानोपन गरायो । चन्दनबारीस्थित चिज कारखाना करिब तीन हजार तीन सय मिटरमा अवस्थित रहेछ । मोटो शरीर भएकी सकी नसकी उक्लिँदै गरेकी सङ्घर्षशील ‘अन्टी’ लाई कहिलेकाहीँ डोजर भनेर जिस्काउँथ्यौँ । श्री स्वामीसमर्थ सेवा एवं आध्यात्मिक विकास मार्गका अध्यक्षद्वारा समय समयमा दिगम्बरा दिगम्बरा श्रीपाद वल्लभ दिगम्बरा ... जस्ता स्वरले बाटो छोट्याउन थप ऊर्जा प्राप्त थियो ।
चन्दनबारीबाट उकालो लाग्दै गर्दा घामको झुल्को देखिएको स्थान पुग्दा नपुग्दै सेतो घुम्टोले छोपी उतिखेरै एक झोक्का चिसो बतास आएर ठोक्कियो । जानी नजानी ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा...’ गीतको धुनले मन जित्यो । करिब तीन हजार पाँच सय चौरासी मिटर उचाइमा रहेको चोलाङपाटीमा खाना खाई लौरोबिनाको उकाली लाग्यौँ । पाखामा फुलेका सुनगाभा, पहरामा टुसाएका जीवनबुटी, हिमाली गोठका चौँरी र वसन्त बोलाउने गुराँससँग अटुट नाता गाँस्दै अगाडि बढे पनि शरीरका हरेक अङ्गले विश्रामको याचना गरिरहेकाले करिब तीन हजार नौ सय मिटरमा रहेको लौरीबिनाको उकालोमै बास बस्ने निधो भयो । मिठासपूर्ण थकाइले लपेटिरहेकाले कोठामा गएर सबै सुस्ताए आँखा लोलाए, कोही घुर्न थाले । छोरीले सिटामोलको भरमा रात काटेको क्षण साह्रै खल्लो भयो । पिलन्दरे भनेर जिस्किथ्यौँ । जान सक्दिनँ कि क्याहो छोरीको शब्दलाई हौसला बढाउथ्यौँ । मेरो मनमा भने लेक लाग्ने सम्भावनाको अज्ञात डरले डेरा जमाएको थियो । त्यस रात पनि ठुलो पानीसँगै हिउँ प¥यो । हल्का हुस्सु, कुहिरो र बादलको घुम्टोले डाँडाकाँडा छोप्दा बादलुको घुम्टोले इलाम बजार छोपिँदा मैले सबलाई ... गीत याद आयो । अर्को दिन सबैरै बिहानीको झिसमिसेमा शान्त बिहानी, चराहरूको मधुर चिरबिरसँगै टर्चका लाइटको मधुरो उज्यालोमा छामछुम गर्दै उकाली पछ्याउँदै करिब चार हजार दुई सय मिटरमा रहेको बुद्ध मन्दिर पुगियो । आफूले प्रयोग गरेको लौरो चढाउनुपर्ने संस्कार रहेछ । रातभरिको पानीसँगैको हिउँले सेताम्मै डाँडापाखा नियाल्दै चिप्लो बाटोमा चनाखो हुँदै अगाडि बढ्नुको विकल्प रहेन । पूर्वतर्फ पारि तलतिर आसपासमा फाट्टफुट्ट भेडीगोठसहित एउटा निलो सरस्वती कुण्ड देखियो । केहीअगाडि रहेको गणेश स्थानबाट गोसाइँकुण्ड निकट नै रहेछ ।
गोसाइँकुण्ड दर्शन गरी फर्कंदा हेर्न नहुने किंवदन्ती रहेको पूर्वदक्षिणतर्फ शिवजीको रिसाहा रूप भैरवकुण्डको दर्शन पैदलमार्गबाटै हुँदो रहेछ । कुण्डैपिच्छेको पानी फरक भएकाले कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि उखान सम्झन पुगेँ । करिब चार हजार तीन सय असी मिटर उचाइमा अवस्थित प्रकृतिप्रेमीको रोजाइँको गोसाइँकुण्ड प्रवेशसँग हामी सबै मुस्कुराएको क्षण आनन्ददायक रह्यो । तालको वरिपरि स्नान गरिरहेका तीर्थालुसँगै हामीले पनि स्नान गरिसकेपछि केही समय गोसाइँकुण्ड आसपासको दृश्यावलोकनमा समय व्यतित भयो । भूगोलको टाढा आइएकाले स्नान गर्दा एकपल्ट बुवाआमालगायत सम्पूर्ण मृतआत्माहरू सम्झन मन लाग्यो । श्री स्वामीसमर्थ सेवा एवं आध्यात्मिक विकास मार्ग नेपाल अध्यक्षद्वारा स्नान, सन्ध्या, तर्पणसहित रुद्राभिषेक पाठ गरेको क्षणले हाम्रो मन उत्साहले न्यानो थियो । पोखरीको उत्तरतर्फ रहेको शिवलिङ्ग मन्दिरतिर हामी लाग्यौँ । ठुलठुला ढुङ्गामुनिबाट कलकल आवाज दिँदै तल दक्षिणतिर बगिरहेको पानी नै गोसाइँकुण्डको मूल रहेछ । अघि भगवान् शिवजीले आफ्नो तिर्खा मेटाउन त्रिशूलले भेदन गरी निकालिएको धारा नै त्रिशूल धाराले चिनिने रहेछ । त्रिशूल धाराबाट जम्मा भएको पानी गोसाइँकुण्ड र गोसाइँकुण्ड तालबाट निकास भएको पानी भैरवकुण्ड, भैरवकुण्डबाट निस्किएको पानी सरस्वती कुण्ड रहेछ । त्यही सरस्वती कुण्डबाट निकास भएको पानी नै तल त्रिशूली नदीको रूप रहेछ ।
कुण्डको बिच भागमा साक्षात् शिवलगायत अन्य रूपको दर्शन पाएकोमा आफू धन्य भएको भनी तीर्थालुहरू भावनामा बहकिँदै थिए । आँखालाई रहर नपुगेर तस्बिर खिच्न पनि भुतुक्कै हुने तीर्थालु प्रकृतिको अनुपम रचनासँग साक्षात्कार गरेको दृश्य मनमोहक देखिन्थ्यो । हाम्रो खुसी पनि फरक नभएकाले स्वर्गीय सुन्दरतालाई मनमा कैद गर्दै केही तस्बिर लियौँ । सबैको अनुहारमा पीडा र विजयमिश्रित भावसँगै हामी हिउँसहितको पहाडको साम्राज्यबाट बिछोड हुँदै ओरालो लाग्नु थियो । उचाइको कल्पनासँगै ओरालो समाहित रहेछ । गोसाइँकुण्डमा रहेको होटेलमा तातोतातो थुप्पाको स्वादले सबैमा उत्साह जगायो । ओरालो लाग्दा घुँडा कामिरहेका थिए, सम्झेँ ठाडो ओरालो । एक सदस्यले प्वाक्क भनिन्, “मलाई केही भएको छैन, मात्र खुट्टा नचलेको” । यस शब्दको गहिरो भावले झस्कायो । घोडाले बनाएको मार्ग हुँदै झर्दा चन्दनबारी नपुग्दै लेकले असर गरेको एक अधबैँसे महिलालाई चार/पाँच जनाले स्टेचरमा कुदाएको क्षण ओरालोभरि चर्चाको विषय बनिरह्यो । चन्दनबारीस्थित बसेको होटेलमै बिहान तातो पानीमा सातु घोलेर सबैले पियौँ । विस्तारै बल्ल बल्ल ओरालो काट्दै गर्दा फेदीसँगै रहेको निश्चल झरनाले सबैको मन जित्यो, लामो लामो श्वासप्रश्वासको गति सामान्य हुँदै गयो ।