• १३ असार २०८१, बिहिबार

‘संस्कृतिको विकासले समृद्धि’

blog

सचिन पोख्रेल

काठमाडौँ, साउन ३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सनातन वैदिक धर्म र संस्कृति जोगाउन सबै पक्षको महत्त्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नुभएको छ । पशुपति मन्दिर परिसरमा जगत्गुरु रामानन्दाचार्य सेवा पीठ तथा महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले आयोजना गरेको नौदिने अतिरुद्र महायज्ञ सोमबार उद्घाटन गर्दै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । 

समाजमा संस्कार र संस्कृतिको विकास भए मात्र मुलुकको समृद्धि र विकास अभियानले सार्थकता पाउने मन्त्री कार्कीको भनाइ थियो । उहाँले मुलुकलाई एउटा पवित्र संस्कारयुक्त आध्यात्मिक केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

सबै जातजाति, भाषाभाषी र सम्प्रदायबीच आपसी एकता र सद्भाव कायम गरेर मात्र मुलुकको समृद्धि हुने उहाँले बताउनुभयो । उहाँले विज्ञानको क्षेत्रमा लामो समयदेखि खोज र अध्ययन गरेका सन्त पुरुषको योगदानबाट विश्वसामु नेपाललाई एक शान्त, सुन्दर र सभ्य मुलुकका रूपमा चिनाउन सकिने बताउनुभएको छ । 

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले पूर्वीय दर्शन र संस्कृतिले भरिएको मुलुुकमा आआफ्ना तहबाट वैदिक सनातन र धर्मसंस्कृतिको जगेर्ना गर्न लाग्नुुपर्ने बताउनुभयो । उहाँले कुनै पनि देशको समृद्धि त्यो देशको सभ्यता र संस्कृतिमा आधारित हुने पनि उल्लेख गर्नुभयो ।  सो अवसरमा जगत्गुरु श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्यले मानव जीवनको सार्थकताका साथै दरिद्रता, रोग र मानसिक अस्थिरता नष्ट गर्न अतिरुद्र महायज्ञ महत्त्वपूूर्ण हुने बताउनुभयो ।