गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ३ गते । गत माघका लागि तोकिएको नेपाल चिकित्सक सङ्घको निर्वाचन मिति हालसम्म तोकिएको छैन । माघमा हुनुपर्ने निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले मुद्दा हालेपछि निर्वाचन आयोगले तत्काल निर्वाचन नगराउन निर्देशन दिएपछि रोकिएको थियो ।
सङ्घको स्थगित केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया पुनः अघि बढाउन निर्वाचन समितिले आउँदो बुधबार उम्मेदवारसँग छलफल गर्ने भएको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्यका अनुसार आउँदो बुधबारका लागि उम्मेदवारसँग छलफल गरिने छ । केही उम्मेदवारले नियमविपरीत आफ्नो नाम अन्तिम नामावलीमा समावेश नगरिएको भन्दै अदालतमा उजुरी दिएका थिए । अदालतले उनीहरूको नामसमेत समावेश गर्न आदेश दिएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने तयारी भएको थियो । त्यसको केही समयपछि निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि जारी गरेको निर्वाचन आचारसंहिता लागु भएपछि सङ्घको निर्वाचन कार्यव्रmम सञ्चालन गर्न नमिल्ने अवस्था सिर्जना भएको थियो ।
अब उक्त आचारसंहिताको अवधि समाप्त भइसकेपछि २०८२ फागुन ३० गते बसेको निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया पुनः अघि बढाउने विषयमा उम्मेदवारसँग छलफल गर्ने निर्णय गरेको हो ।
सङ्घका महासचिव डा. सञ्जीव तिवारीले समितिले सबै उम्मेदवार वा उनीहरूका प्रतिनिधिलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई आवश्यक सुझाव दिन आग्रह गरेको जानकारी दिँदै छलफलपछि निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक गरिने बताउनुभयो ।