• ३ चैत २०८२, मङ्गलबार

चीनको सहयोग प्रशंसनीय

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ३ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जेनजी आन्दोलनपछि चुनावको समयमा चीन सरकारले गरेको सहयोगको सराहना गर्नुभएको छ । उहाँले आन्दोलनपछि उत्पन्न कठिन परिस्थिति र चुनावको समयमा चीन सरकारले गरेको सहयोगको सराहना गर्नुभयो । 

नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ राष्ट्रिय सभाका अध्यक्ष दाहालसँग शिष्टाचार भेट गर्न सिंहदरबार पुगेको बेला अध्यक्ष दाहालले दुई देशबिचको सम्बन्ध, संसदीय सहकार्य, आपसी सहयोग र समसामयिक सन्दर्भको विषयमा चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल र चीनबिचको सम्बन्ध वर्षौं पुरानो छ । कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ छ ।”

अध्यक्ष दाहालले नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि नेपालको संविधान, असंलग्न परराष्ट्र नीति र पञ्चशील सिद्धान्त अनुसार नै अगाडि बढ्ने बताउनुभयो । 

उहाँले चीनले नेपालको पूर्वाधार विकास र आर्थिक तथा सामाजिक क्षेत्रमा अतुलनीय योगदान गरेको चर्चा गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “बिआरआईलगायत दुई देशबिच विभिन्न समयमा भएका समझदारी र सहमति प्राथमिकताका साथ कार्यान्वयन हुनेमा विश्वास लिएको छु ।”

सो अवसरमा राजदूत चाङले राजनीतिक स्थिरतासँगै नेपाल विकासको नयाँ चरणमा प्रवेश गर्ने आफूले विश्वास लिएको बताउनुभयो । उहाँले बिआरआईलगायत चीन–नेपालबिच भएका सम्झौता छिटो अगाडि बढाउन सके दुवै देशका जनताको साझा समृद्धिमा थप विकास हुनेमा आफू आशावादी रहेको उल्लेख गर्नुभयो । 

भेटमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेललगायत परराष्ट्र मन्त्रालय र सङ्घीय संसद् सचिवालयका कर्मचारी तथा चिनियाँ दूतावासका अधिकारीको सहभागिता रहेको थियो ।