• १२ असोज २०८१, शनिबार

निजगढ विमानस्थलबारे विज्ञ समूह गठनको तयारी

blog

काठमाडौँ, साउन ३ गते । बाराको निजगढमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न विज्ञ समूह गठन गरेर अध्ययन अगाडि बढाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले विमानस्थल निर्माणबारे अध्ययन गर्न विज्ञ समूह गठन गर्ने निर्णय गरेको छ । सो प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको छ । 

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विज्ञ समूहले अध्ययन, अनुगमन, आवश्यकतालाई हेरी तयार पार्ने प्रतिवेदनका आधारमा विमानस्थल निर्माणको काम अघि बढाइने बताउनुभयो ।

बैठकमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विमानस्थल निर्माण गर्न वातावरणीय मूल्याङ्कनको विषयमा छलफल अघि बढेको बताउनुभयो । कम वातावरणीय क्षति हुनेगरी विमानस्थल निर्माणलाई तीव्रता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

वातावरण संरक्षणमा सरकार संवेदनशील रहेको जनाउनुहुँदै उहाँले जति रुख काटिन्छन् त्यति नै सङ्ख्यामा बिरुवा रोप्ने योजना बन्ने जानकारी दिनुभयो । बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजगढ विमानस्थल निर्माण अगाडि बढाउनुपर्ने बताउनुभयो । 

अदालतको फैसलाले वातावरण जोगाएर निर्माणका काम अगाडि बढाउन सुझाएकाले निजगढलाई विमानस्थलसँग मात्रै नजोडेर तराई–काठमाडौँ द्रुतमार्गको भविष्यसँगसमेत जोडेर हेर्नुपर्ने उहाँले बताउनुभयो । नेकपा (एमाले)का नेता भीम रावलले विमानस्थल निर्माणको काम रोक्न नहुने बताउनुभयो ।