• १२ असोज २०८१, शनिबार

छायाँ र माया दिने डेढ शताब्दीका वरपीपल

blog

जीवछ यादव

लहान, साउन ३ गते । लहान नगरको चौबाटोमा लहरै तीनवटा रुख रहेका छन् । वरपीपल र अशोकका पुरानो रुख, यी तीनै रुखको आयु डेढ शताब्दीभन्दा बढी भएको छ । छाया मात्रै होइन, माया पनि दिइरहेको यहाँका स्थानीयको भनाइ छ । “जङ्गबहादुर कोइरालाले डेढ सय वर्ष पहिले लहान १३ र २४ नम्बर जाने चौतारामा वरपीपल र अशोकका बिरुवा मात्रै रोप्नु भएन । त्यस भेगका १० गाउँका स्थानीयलाई पानी खान पक्की इनार खनाउनु भयो । पक्की इनार खनाएकै कारण यस बस्तीको पक्की टोल नामकरण भयो,” स्थानीय परशुराम कोइरालाले जानकारी दिनुभयो ।

पक्की टोलमा अहिले इलाका प्रहरी चौकीको नयाँ भवन निर्माण भइरहेको छ । खानेपानीको टयाङ्की पनि निर्माण भैसक्यो, वडा नम्बर १३ को वडा कार्यालय पनि त्यही छ । सरस्वती आधारभूत विद्यालय पोखरीको डिलमा छ । पोखरी र इनारसँगै जोडिएको रामजानकी मन्दिर छ । अति सुन्दर रमाइलो मनमोहक वातावरण बनाइ दिइने पक्की टोलको धरोहर वरपीपल र अशोकको रुख नै हो स्थानीय बताउँछन् । 

गाउँमा हुने सामाजिक विवाद होस् वा घरायसी किन नहोस् सबैको समाधान त्यहि पीपलको रुख मुनि चौतारामा बसेर सहज तरिकाले मिल्छ । पीपल त बोल्दैन मात्रै तर सिङ्गै गाउँको अभिभावक रहेको जस्तो हामीलाई महसुस भइरहेको अर्का स्थानीय राजेन्द्र पासवानले डेढ सय वर्ष पुरानो पीपलको रुख यस भेगमा कहीँ नभएको ठोकुवा गर्नुभयो । 

बिहानदेखि राति १०ः०० बजेसम्म गाउँका अगुवादेखि हरेक उमेर समूहका पक्की टोलवासी भेट गराउने पीपलको चौतारामा बसेपछि ‘आहा क्या आनन्द आयो’ भनेर रमाउने, कुराकानी गर्ने र यस स्थललाई त्यस भेगका अन्य गाउँका स्थानीय पनि भेट गराउने पवित्र स्थलका रूपमा लिएको वडा नम्बर १३ का वडाध्यक्ष मनोजकुमार कोइराला बताउनुहुन्छ । 

स्थानीय हाट बजार लगाएपछि मदिरा पसल खुल्ने र गाउँका युवा मदिराको लतमा लाग्ने डरले हाट नलगाइएको स्थानीय बताउँछन् । “अब यस ठाउँमा प्रहरी चौकी स्थापित भयो । सामाजिक वातावरण बिग्रिदैँन । अब हाट बजार लगाउन पहल हुन्छ,” वडाध्यक्ष कोइरालाले भन्नुभयो ।

“मधेशी र पहाडे समुदायको साझा बस्ती रहेको पक्की टोलको सामाजिक वातावरण अन्य गाउँ टोलभन्दा फरक रहनुको कारण पीपलमुनि बसेर सधैँ गरिने सामाजिक सद्भाव, एकता शिक्षा र राजनीति छलफलले सकारात्मक प्रभाव त परेकै छ । शिक्षा र रोजगारीको दृष्टिकोणले पनि पक्की टोल अघि रहेको छ,” अर्का युवा अनोज कोइरालाले भन्नुभयो ।

लहान–१३ का एमालेको केन्द्रिय सदस्य गङ्गाप्रसाद यादव र लहान–१४ घर भएको नेपाली काँग्रेसका बौद्धिक नेता तथा सिरहा–१ का सङ्घीय सांसद प्रदीप गिरीलगायतका नेतासमेत कति पटक यस वरपीपलको छाँयामा बसेर भलाकुसारी गर्नुहुन्छ । जति रीस आक्रोश भए पनि एक क्षण यस वरपीपलको रुखको छायाँमा बसेपछि मन शान्त हुने गरेकोले कतिपयले यसलाई अहिले शान्ति बाटिका नामकरण गर्नुपर्ने तर्क गर्ने गर्छन् ।