• २ चैत २०८२, सोमबार

परीक्षा फारम विवादले मावि कुपहीमा तालाबन्दी

blog

जनता माध्यमिक विद्यालयको कार्यालय कक्षमा गरेको तालाबन्दी । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

राजविराज, चैत २ गते ।सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ स्थित जनता माध्यमिक विद्यालय खुदीबखारी कुपहीमा परीक्षा फारम भर्ने विषयलाई लिएर विद्यार्थी र विद्यालय प्रशासनबिच विवाद उत्पन्न भएको छ ।

विवादका कारण केही विद्यार्थीले विद्यालयको कार्यालय कक्षमा तालाबन्दी समेत गरेका छन् ।विद्यालयमा डिप्लोमा सिभिल इन्जिनियरिङ अध्ययनरत तेस्रो सेमेस्टरका नियमित विद्यार्थी अशुकुमार मण्डलसहित केही विद्यार्थीले आफूहरूलाई परीक्षा दिनबाट वञ्चित गरिएको भन्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन ।

 विद्यार्थीका अनुसार शैक्षिक सत्र २०८१-०८२ मा पहिलो सेमेस्टरमा केही दिन मात्रै कक्षा सञ्चालन भएको र त्यसपछि दोस्रो तथा तेस्रो सेमेस्टरमा एक दिन पनि कक्षा सञ्चालन नभएको आरोप लगाएका छन् ।

विद्यार्थीले परीक्षा फारम भर्नका लागि सिटिइभिटीले तोकेको शुल्क प्रति विद्यार्थी पाँच सय रुपियाँ भए पनि विद्यालयले २५ सय रुपियाँ मागेको र शुल्क तिरेपछि पनि रसिद नदिएको आरोप लगाएका छन् ।

 साथै, तोकिएको शुल्क तिर्दा समेत विद्यालयले परीक्षा फारम नभरिदिएको उहाँको भनाइ छ ।विद्यार्थी मण्डलले भन्नुभयो, “गत फागुन २९ गतेदेखि परीक्षा सुरु भएको थियो । प्रवेशपत्र माग्दा विद्यालयका कोअर्डिनेटर इन्जिनियर दिनेश साहले प्रवेशपत्र दिन अस्वीकार गर्नुभयो, जसका कारण हामीमध्ये तीन चार जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भयौँ ।”

त्यसपछि विद्यार्थीले सोही दिन विद्यालयको कार्यालय कक्षमा तालाबन्दी गरेको विद्यार्थी अंशुले जानकारी दिनुभयो । तालाबन्दीपछि केही विद्यार्थीलाई सो दिनको परीक्षामा सहभागी गराइएको भए पनि आफूलाई अझै प्रवेशपत्र नदिई परीक्षामा बस्न नदिएको उहाँको आरोप छ ।

विद्यार्थीले विद्यालय प्रशासनले आफ्नो भविष्यसँग खेलवाड गरेको भन्दै सम्बन्धित व्यक्तिमाथि कारबाही गरी न्याय दिलाउन माग गरेका छन्। 

 उहाँहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मधेश प्रदेश सरकारको शिक्षा मन्त्रालय, सिटिइभिटी जनकपुर, जिल्ला प्रशासन कार्यालय सप्तरी, शिक्षा समन्वय एकाइ सप्तरी र इलाका प्रहरी चौकी सखडालाई समेत बोधार्थसहित निवेदन दिएका छन् ।

यता सो विषयमा विद्यालयका प्रधानाध्यापक लालबहादुर मण्डलले विद्यार्थीको आरोप असत्य भएको दाबी गर्नुभएको छ । 

उहाँका अनुसार विद्यार्थी अंशुकुमार मण्डल नियमित विद्यालय नआउने विद्यार्थी हुन।उहाँलाई पटकपटक परीक्षा फारम भर्न आग्रह गर्दा पनि फारम नभरेका कारण उहाँ परीक्षा दिनबाट वञ्चित भएका हुन् ।

प्रधानाध्यापक मण्डलले भन्नुभयो, “विद्यालयले सिटिइभिटीले तोकेको राजश्व दस्तुरभन्दा एक रुपियाँ पनि बढी शुल्क मागेको छैन ।परीक्षा फारम भर्ने समयमा अंशु भारतमा हुनुहुन्थ्यो। विभिन्न माध्यमबाट सम्पर्क गरी फारम भर्न आग्रह गर्दा पनि आउनुभएन ।”

उहाँले केही स्थानीयले विद्यालय, संयोजक तथा आफूलाई बदनाम गराउने उद्देश्यले षड्यन्त्र गरी तालाबन्दी गराएको आरोप समेत लगाउनुभयो । प्रधानाध्यापक मण्डलका अनुसार परीक्षा सुरु भइसकेपछि विद्यार्थी एकै पटक विद्यालय आएर असहज वातावरण सिर्जना गरेको छ । 

सो विषयमा कोअर्डिनेटर इन्जिनियर दिनेश साहसँग थप बुझ्न सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।यस विषयमा सम्बन्धित निकायले छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने स्थानीयले माग गरेको छ ।