टोपलाल अर्याल
रेसगा(गुल्मी), चैत २ गते । इस्मा गाउँपालिका ५ को लाल कुमारी मन्दिरमा चैते दसैँमा सरायँ नाच हुने भएको छ । इस्मा रजस्थलको आँपखोलामा डेढ, दुई सय वर्ष पुराना लालकुमारी मन्दिर रहेको छ ।
यो मन्दिर पुरानो र जीर्ण भएपछि स्थानीयको सहयोग र जनश्रमदानमा पुननिर्माण गरेर चिटिक्क पारिएको छ ।लालकुमारी मन्दिरको पर्यटकीय आर्कषण बढाउन चैत्राष्टमीमा भाकल दिने र राम नवमीको दिन सरायँ नाच राखिएको लाल कुमारी मन्दिर पुजा समिति अध्यक्ष राम बहादुर बिष्टले जानकारी दिनुभयो ।
चैते दसैँमा बिरलै ठाउँमा सरायँ हुन्छ । राम नवमीको दिन विशेष पुरस्कारको व्यवस्था समेत गरेर सरायँ नाँचको आयोजना गरिएको बिष्टले बताउनुभयो ।
सरायँ मेलाको लाल कुमारी मन्दिर पुजा समितिको आयोजना र द ग्यालेक्सी युवा क्लबको सहजीकरण हुनेछ । जीर्ण मन्दिरको व्यवस्थापन गर्न सहयोग अभियान मार्फत स्वदेश तथा परदेशबाट करिव दुई लाख सङ्कलन भएको थियो।
सहयोग रकमसँगै २५ जना स्थानीयले ३० दिन श्रमदान गरेर सिँडी, पर्खाल, गजुर, लाइट, खानेपानी, मैदान र रङ्गरोगनको काम गरिएको समितिका अध्यक्ष बिष्टले बताउनुभयो ।
सरायँको लागि प्रचारप्रसारको काम भइरहेको छ । समिति र क्लबबीच जिम्मेवारी बाँडफाँड गरेर व्यवस्थापनको काम अगाडि बढेको दग्यालक्सी युवा क्लबका अध्यक्ष डेम बहादुर बिष्टले जानकारी दिनुभयो ।