कृष्णबहादुर धामी
खलङ्गा (दार्चुला), चैत २ गते । दार्चुलामा महाकाली नदीमा डुबेर एक बालक वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक देबेन्द्र बुढाथोकीकाअनुसार पौडी खेल्ने क्रममा व्यास गाउँपालिका–६ का अन्दाजी १५ वर्षिय धीरज धामी वेपत्ता भएका हुन् ।
जिल्ला सदरमुकाम खलङ्गामा कोठा गरी बस्दै आएका तथा महेन्द्र माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत बालक पौडी खेल्ने क्रममा सदरमुकाम स्थित महाकाली नगरपालिका–५ बसपार्क क्षेत्रबाट वेपत्ता भएको उहाँले जानकारी दिनुभयो ।
आज दिउँसो करिव १ बजेतिर साथीहरुसँग पौडी खेल्न गएका धीरज नदीमा डुबेर वेपत्ता भएका हुन् । उनीसँगै गएका उनका दुई जना साथी भने सकुशल रहेको प्रहरीले जनाएको छ । साथीहरुले बताएअनुसार धीरजलाई पौडी खेल्न आउदैनथ्यो ।
साथीहरुसँगै पहिलो प्रयासमै जसोतसो पौडी खेलेर पारी (भारततर्फ) पुगेका धीरज वारी नेपालतर्फ फर्किने बेला नदीको बिच भागमा डुबेको तथा उनको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । वेपत्ता धीरजको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । अहिले घट्ना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजीकार्य गरिरहेको छन् ।