काठमाडौँ, चैत २ गते । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ ।
स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यले स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको हो ।
राष्ट्रिय परिचयपत्रमा रहेको विवरण तथा परिचय नम्बरलाई स्वास्थ्य बीमा प्रणालीसँग आबद्ध गर्ने गरी दुई निकायबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौता पत्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा।कृष्णप्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार स्वास्थ्य बीमा बोर्डले ‘राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली’ मार्फत विद्युतीय सेवाको प्रयोग गर्नेछ ।
यस सहकार्यले नागरिकको पहिचान डिजिटल माध्यमबाट प्रमाणीकरण गर्ने बाटो खुल्ने विश्वास गरिएको छ ।
राष्ट्रिय परिचय नम्बरलाई स्वास्थ्य बिमासँग जोड्दा प्रणाली अझ सुरक्षित, छिटो र विश्वसनीय हुने अपेक्षा गरिएको छ ।नयाँ व्यवस्थासँगै स्वास्थ्य बिमाको दर्ता तथा नवीकरण प्रक्रियामा हुने झन्झट हट्ने जनाइएको छ ।
राष्ट्रिय परिचयपत्रमा रहेको विवरणकै आधारमा डिजिटल प्रमाणीकरण हुने भएकाले सेवाग्राहीले अस्पताल तथा सेवा केन्द्रहरूमा छिटो सेवा पाउनेछन् ।
यसले तथ्याङ्क एकीकरणमा सहयोग पुग्नुका साथै एउटै व्यक्तिको दोहोरो दर्ता हुने समस्या नियन्त्रण हुने बताइएको छ । सरकारी सेवाहरूलाई एकीकृत गर्ने लक्ष्य अनुरूप चालिएको यो कदमले स्वास्थ्य बिमाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
स्वास्थ्य बिमा बोर्डले यसअघि नै राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने तयारी गरिरहेको सन्दर्भमा भएको यो समझदारीले ‘डिजिटल नेपाल’ अभियानलाई समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।