सुधा देव
भारदह (सप्तरी), चैत २ गते । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके राउत)ले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत आइतबार आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले अब पद र संसदीय प्रतिस्पर्धाबाट टाढा रहने र जनताको अधिकार, पहिचान र एजेन्डाका विषयमा संघर्षको राजनीति जारी राख्ने जानकारी दिनुभएको छ ।
उहाँ व्यक्तिगत इच्छाविपरीत दुई पटक संसदीय निर्वाचन लडेर २०७९ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा निर्वाचित र २०८२ सालको सालको निर्वाचनमा पराजित हुनुभएको हो ।
२०७५ सालतिर फ्री मधेश एलायन्सलाई सरकारले काम गर्न नदिएको तथा जनतामाझ जानसमेत अवरोध भएपछि नयाँ राजनीतिक दल गठन गर्नुपर्ने अवस्था आएको थियोे ।
त्यतिबेला अन्य नेताहरूले नेतृत्व लिन नचाहेपछि आफूले नै पार्टीको जिम्मेवारी सम्हाल्नुपरेको उहाँले बताउँनुभयो ।
२०७९ सालको आमनिर्वाचनमा उम्मेदवार बन्ने योजना नभएपनि पार्टीभित्रको आग्रहले चुनाव लड्नुपरेको उहाँले सामाजिक संजाल मार्फत जानकारी दिनुभयो ।
उक्त निर्वाचनमा जनमत पार्टीले प्रत्यक्षतर्फ एक सिट र समानुपातिक तर्फ पाँच सिट जित्दै राष्ट्रिय दलको मान्यता प्राप्त गरेको उहाँले बताउनुभयो
राउतले अब संसदीय वा पदको राजनीतिमा सक्रिय नभएपनि आफ्नो एजेन्डा र जनताको अधिकारका विषयमा राजनीतिक रूपमा सक्रिय रहने बताउँनुभयो ।
आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टी लाई संगठनात्मक रूपमा सुदृढ बनाउने तयारी रहेको उहाँले बताउँनुभयो ।