• २ चैत २०८२, सोमबार

गुल्मीमा २३ सयभन्दा बढी छात्रालाई एचपिभी खोप

blog

स्वास्थ्य कार्यालय गुल्मी। तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, चैत २ गते। गुल्मीमा लक्षित समूहका २३ सयभन्दा बढी बालबालिका र किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाएका छन्।

गत माघ २५ देखि फागुन दुई गतेसम्म यस जिल्लाका सबै स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय गुल्मीका कोल्डचेन असिस्टेन्ट श्याम कुमार पालले जानकारी दिनुभयो।

कोल्डचेन असिस्टेन्ट पालका अनुसार एचपिभी खोप अभियानअन्तर्गत २४ सय ६२ बालिकालाई खोप लगाउने लक्ष्य निर्धारण गरिएकोमा २३ सय ५८ बालिकालाई खोप लगाइएको छ। यस अभियानको क्रममा यहाँको रेसुङ्गा नगरपालिकामा ३१९ जनालाई खोप लगाइएको छ। 

यहाँ ३१४ जनालाई खोप लगाउने लक्ष्य रहेको थियो। मुसीकोट नगरपालिकामा २६८ जनालाई खोप लगाइएको छ।यहाँ २९१ जनालाई खोप लगाउने लक्ष्य रहेको थियो।

इस्मा गाउँपालिकामा १८१ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा १६८ जना, कालीगण्डकी गाउँपालिकामा १२१ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ११४ जना, गुल्मीदरबार गाउँपालिकामा १४० जनालाई खोप लगाउने लक्ष्य रहेकोमा १२९ जना, चन्द्रकोट गाउँपालिकामा १८० जनालाई खोप लगाउने लक्ष्य रहेकोमा १७३ जना, छत्रकोट गाउँपालिकामा १६६ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा १७६ जनाले एचपिभी खोप लगाउनुभएको थियो। त्यसैगरी धुर्कोट गाउँपालिकामा निर्धारित लक्ष्य अनुसार २०२ जनाले खोप लगाउनुभएको थियो। 

मदाने गाउँपालिकामा २३० जनालाई खोप लगाउने लक्ष्य रहेकोमा २११ जना, मालिका गाउँपालिकामा निर्धारित लक्ष्य अनुसार २७१ जना, रुरुक्षेत्र गाउँपालिकामा १९६ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा १५७ जना र सत्यवती गाउँपालिकामा लक्ष्य अनुसार १७० जनाले एचपिभी खोप लगाउनुभएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

 विद्यालय अध्ययन गर्ने कक्षा ६ का छात्रा र विद्यालय नजाने १० वर्षका किशोरीलाई लक्षित गरेर एचपिभी खोप अभियान सञ्चालन गरिएको थियो। 

खोप अभियानलाई व्यवस्थित गर्नका लागि स्वास्थ्य कार्यालय गुल्मीले २२८ खोप केन्द्रमा २२८ जना स्वास्थ्यकर्मी र २२८ जना स्वास्थ्य स्वयंसेवक परिचालन गरेको हो। 

गत वर्ष यस जिल्लामा दस हजार ८४३ बालिकालाई खोप लगाइएको थियो। गत वर्ष एचपिभी खोप लगाउन छुटेका हाल कक्षा ७ देखि दशसम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाइएको हो।