• २ चैत २०८२, सोमबार

रौतहट जिल्ला हुलाक कार्यालयको मन्त्रालयद्वारा अनुगमन

blog

अनुगमनको क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटी र जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादव बिच छलफल । तस्बिर सौजन्य: जिल्ला हुलाक कार्यालय रौतहट ।

प्रवीणकुमार शर्मा 

रौतहट, चैत २ गते । रौतहट जिल्लामा हुलाक सेवालाई छिटोछरितो, भरपर्दो र व्यवस्थित बनाइ प्रभावकारी सेवा प्रवाह गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जिल्ला हुलाक कार्यालयको अनुमगन गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रशासन तथा योजना महाशाखा प्रमुख सहसचिव सुवासचन्द्र शिवाकोटीले रौतहट  जिल्ला हुलाक  कार्यालयको आइतबार अनुगमन तथा निरीक्षण गर्नुभएको  हो ।

जिल्ला हुलाक कार्यालय रौतहटको अनुगमन तथा निरीक्षणको क्रममा मन्त्रालयका सहसचिव शिवाकोटीसँग डाँक रेखाका विषयमा महत्त्वपूर्ण छलफल भएको जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादवले बताउनुभयो ।

छलफलका क्रममा जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख यादवले हाल रौतहटमा डाँकरेखा महेन्द्र राजमार्ग मात्र भएकोले हुलाकी राजमार्ग समेत कायम भए चिठ्ठीपत्र समयमा पुर्‍याउन सकिने भएकोले हुलाकी राजमार्गलाई डाँकरेखा कायम गर्न  माग गर्नुभयो ।

अनुगमनका क्रममा हुलाक सेवाको ऐतिहासिक पृष्ठभूमिलाई जीवन्त राख्दै वर्तमान विकसित सूचना प्रविधिलाई हुलाक सेवामा भित्र्याइ सेवा प्रवाह चुस्त दुरुस्त तथा प्रभावकारी बनाउनेबारे सहसचिव शिवाकोटीले निर्देशन दिनुभयो ।

दरबन्दी अनुसारको जनशक्ति व्यवस्थापन तथा प्रत्येक पालिकामा रहेका हुलाक कार्यालयलाई विद्युतीय सवारी साधन उपलब्ध गराउन सके जनताले खोजेको जस्तो हुलाक कार्यालयले सेवा उपलब्ध गराउनेमा दुई मत नरहेको प्रमुख यादवले छलफलका क्रममा आफ्ना  भनाइ राख्नुभएको थियो ।

 छलफलबाट प्राप्त रायसुझाव र निष्कर्षलाई आत्मसात् गर्दै रौतहटमा हुलाक सेवा विश्वासिलो र प्रभावकारी बनाउन मन्त्रालय स्तरबाट गर्न सकिने कार्यका लागि पहल गर्ने सहसचिव शिवाकोटीले भन्नुभयो ।

डाँक ढुवानी कार्यलाई व्यवस्थित गर्दै हुलाक प्रतिको जनविश्वास कायम राख्न मन्त्रालय सदैव तत्परताका साथ लागेको उहाँले बताउनुभयो ।

सहसचिव शिवाकोटीले आइतबार नै नेपाल टेलिकम क्षेत्रिय कार्यालय वीरगन्जको समेत अनुगमन गर्नु भएको नेपाल टेलिकम  प्रादेशिक निर्देशनालय वीरगन्जका निर्देशक कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।