• १३ साउन २०८१, आइतबार

विमान पार्किङमा पारख

blog

काठमाडौंँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा बाह्य उडानका लागि स्वदेशी एवं विदेशी वायुसेवा कम्पनीहरूको बढ्दो आवागमनसँगै यो विमानस्थल साँघुरो हुन थालेको अनुभव यात्रुलगायत सबैले वर्षौं पहिलेदेखि गरिरहेकै हो । फलस्वरूप यहाँबाट दैनिक उडान भर्ने तथा अवतरण गर्ने हजारौँ यात्रु, हवाई ट्राफिक नियन्त्रण, विमान पार्किङ, हवाई उडानको सुनिश्चिततालगायत उडानका आधारभूत पक्षको व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको थियो । यस अर्थमा हवाई उडानको विश्वसनीयता अभिवृद्धिका साथै अन्य सम्बद्ध व्यवस्थामा सुधार ल्याउनु अनिवार्य थियो ।

यसैको प्रयासस्वरूप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले काठमाडाँैंबाहिर मोफसलका विमानस्थलमा आन्तरिक उडानका विमानलाई रात्रिकालीन पार्किङका लागि लैजानुपर्ने राम्रो विकल्प थियो । यो विकल्प कार्यान्वयनमा आउँदा छोटो अवधिमा नै सकारात्मक नतिजा देखा पर्न थालेको पाइएको छ । यही असार १४ गतेदेखि लागू नयाँ व्यवस्थाका कारण आन्तरिक उडान गर्ने हरेक वायुसेवा कम्पनीले झन्डै आधाभन्दा बढी सङ्ख्यामा आफ्ना विमान तथा हेलिकप्टरहरू राति पार्किङका निम्ति मोफसलका विमानस्थलमा लैजान थालिएको छ ।

नयाँ व्यवस्थाबाट त्रिभुवन विमानस्थलमा केही सुधारका सङ्केत देखिन थालेको अनुभव गरिएको छ । यसअघि हुने गरेका समस्यामा क्रमशः कमी आएको छ । विमान उडान तथा अवतरणका साथै पार्किङमा सहजता भएको सम्बद्धहरूको भनाइ छ । काठमाडौँबाहिर राति पार्किङको व्यवस्थाले हवाई उड्डयनमा सकारात्मक परिवर्तनको अपेक्षा गरिएको छ । परम्परागत रूपमा काठमाडौंँबाट हुने गरेको पहिलो उडान, अब मोफसलका विमानस्थलबाट समेत हुन थालेका छन् ।

यसबमोजिम तीन दर्जनजति पहिलो उडानहरू मोफसलका विमानस्थलबाट हुन्छन् र खुसीको कुरो यस्ता ९० प्रतिशत उडान बिनाव्यवधान तोकिएकै समयमा हुने गरेको छ । यस नतिजाले पनि रात्रिकालीन पार्किङले नयाँ व्यवस्थाको प्रभावकारितालाई उजागर गरेको छ । हाल झन्डै तीन दर्जन जति विमान रात्रि पार्किङका लागि मोफसलका विमानस्थलमा लगिन्छन् । साथै यस आँकडा तथा तथ्यबाट हालसम्म मुलुकको आन्तरिक उडानमा देखिएको कमी, कमजोरीलाई हटाएर बढी विश्वसनीय बनाउन निकै सघाउ मात्र होइन, व्यवस्थापनमा समेत पारख देखिएको छ । 

नयाँ अभ्यास आरम्भअघि मुलुकमा आन्तरिक उडान सञ्चालन गरिरहेका नौवटा विमान कम्पनीका साढे चार दर्जनजति साना ठूला विमानको मुख्य आधारस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै थियो । यसका अतिरिक्त यहाँ एकै दिनमा सयौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान एवं हजारौँ यात्रुको आवतजावत हुने गरेका कारण यो विमानस्थलमा विभिन्न समस्या देखिनु अस्वाभाविक विषय पनि होइन । विशेषगरी आन्तरिक उडान भर्ने विमान पार्किङस्थलबाट निकाल्न तथा जहाज उडान, अवतरणको पालो प्रतीक्षा गर्दा उडान दुुई घण्टासम्म ढिलो हुने गरेको थियो । 

विगतमा कम्तीमा दुई घण्टा ढिला हुने उडान अहिले समयमै हुन थाल्नु ठूलो उपलब्धि हो । मौसम तथा प्राविधिक कारणबाहेक उडान रद्द हुने अवस्था विरलै हुन्छ । राजधानीदेखि टाढाका यात्रु एकै दिनमा काम सिध्याएर आफ्नो मुकाम फर्किन पाउन थालेका छन् ।

यसबाट यात्रुलाई आर्थिक तवरले पनि फाइदा नै पुग्छ भने यसको अप्रत्यक्ष सकारात्मक प्रभाव हवाई उडानमा परेको छ । मोफसलमा राति पार्किङका कारण त्रिभुवन विमानस्थलमा विमानको चापमा कमी, बिनाढिलाइ हवाई उडान, यात्रु व्यवस्थापनमा सहजता, यात्रुलाई आर्थिक मितव्ययिताजस्ता पक्षमा सकारात्मक प्रभाव देखिएको छ । मोफसलमा पार्किङ गर्दा विमान कम्पनीहरूलाई पार्किङ शुल्क, नेभिगेसन शुल्कका साथै ल्यान्डिड शुल्कमा उपलब्ध गराइएको सहुलियतले बेग्लै सहयोग पुगेको छ । हवाई सेवाको बजार प्रभावसमेत बढ्ने देखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरिने क्रमसँगै मोफसलका विमानस्थलमा रात्रि पार्किङको व्यवस्थालाई उत्तम विकल्प विद्यमान साधन र स्रोतमा व्यवस्थापनको नयाँ प्रयोग हो । राम्रो नतिजा आयो । थप सिर्जनात्मक पारख अझै जरुरी छ । समयक्रमसँगै यो त्रिभुवन विमानस्थल थप साँघुरो हुन जाने हुँदा समयमै पूर्वाधारका विकल्पतिर समेत समयमै ध्यान जानुपर्छ ।

सबै र सधैँ यो विमानस्थलले विमान र यात्रुको चापको व्यवस्थापन नहुन सक्छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतमा राम्रो विकल्प बन्न सक्छ । यसका अतिरिक्त त्रिभुवन विमानस्थलमा रहेका वर्षौं पुराना कबाडी जहाज तथा हेलिकप्टरको यथाशीघ्र व्यवस्थापन पनि अति जरुरी देखिन्छ ।