• २२ कात्तिक २०८२, शनिबार

चन्द्रागिरी केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा

blog

काठमाडौँ, कात्तिक २२ गते । चन्द्रागिरी केबलकार तथा रिसोर्ट शनिबार बिहानदेखि पुनः सञ्चालनमा आउने भएको छ । चन्द्रागिरी हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो ।

केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने छ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरु प्राप्त गर्न सक्ने छन् ।

गत भदौ २४ गते भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरुपमा क्षति पुगेपछि चन्द्रागिरी केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो । त्यसयता चन्द्रागिरी हिल्सले केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक बोलाइ आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षणका कार्यहरू पूरा गरी यात्रुहरूका लागि सुरक्षित र सहज सेवा सुनिश्चित गर्दै पुनः सञ्चालनमा ल्याएको हो ।

चन्द्रागिरी हिल्सका अध्यक्ष हेमराज ढकालले सेवा पुनः सुचारु हुने अवस्थामा ल्याउन खटिएको प्राविधिक टिमलाई निरन्तर कडा मेहनत तथा उत्कृष्ट कार्यका लागि धन्यवाद दिँदै भक्तजन र पर्यटकहरूको धैर्यता प्रति आभार व्यक्त गर्नुभएको छ । अध्यक्ष ढकालले सेवा पुनः सुरु भएपछि काठमाडौँ उपत्यकाको मनोरम दृश्य र शान्त वातावरणको आनन्द लिन आउने पर्यटक तथा भालेश्वर महादेवका श्रद्धालुहरू सबैलाई पुनः स्वागत गर्नु भएको छ ।

सेवा बन्द हुनु अघि, चन्द्रागिरी केबलकारमार्फत दैनिक करिब दुई हजार भक्तजन तथा पर्यटकहरूले सेवा प्राप्त गर्दै आएका थिए । चन्द्रागिरी हिल्स व्यवस्थापनले सेवा सञ्चालन तथा सुचारु बनाउन स्थानीय समुदायले देखाएको निरन्तर सहयोग प्रति पुनः हार्दिक धन्यवाद व्यक्त गरेको छ ।