मलाई कुकरको सिट्ठी र जुनीमायाको जीवन उस्तै उस्तै लाग्यो । जुनीमायाको जीवन, प्रेम र पतिसँगका सम्झना शब्द शब्दमा कुकरमा पाकिरहे जस्तो लाग्यो । उनको त्यो प्रेम, पीडा अनि छोरीको आशा र भविष्य तर्न नसकिने कर्णाली नदी जस्तै गहिरो लाग्यो ।
तल, निकै तल चर्को सुस्साहटसाथ हतार गर्दै कुदिरहे झैँ लाग्थ्यो कर्णाली नदी । त्यही कर्णालीको भिर समातेर बसेको थियो– जोगमानको घर । भिर समातेर बसेको भए पनि पीर समालेर कर्णालीमा सेलाउन कहिल्यै सकेको थिएन त्यो मक्किएको घरले ।
घरको थोत्रो भित्तामा लेखिएको थियो, “नौलो जनवादी क्रान्ति जिन्दावाद !” अझै मेटिएको थिएन ।
यस्तै घरका युवालाई घर र समाज बदल्ने अभियानसाथ अघि लगाइयो कुनै बेलाको त्यो क्रान्तिमा । क्रान्तिले यहाँका कैयौँ युवालाई सालिक बनायो र सालिकको खेती गर्नेहरू देशका मालिक पनि बने । क्रान्ति सेलायो, भने जसरी न घर फेरियो न त समाज । जोगमान पनि १० कक्षा पढ्दापढ्दै क्रान्तिका लागि योग्य भएर लडेका थिए तर पछि फित्ता लगाएर नापियो उनको छाती, अयोग्य मानिए । आँत र आँट नाप्ने फित्ताले नापेको भए पक्कै अयोग्य हुने थिएनन् होला । औधी माया गर्थिन् जुनीमायाले जोगमानलाई सानैदेखि । गाईबाख्रा चराउन जाँदा खोला, पाखा, वनमा सधैँभिर नभेटिए पनि मनमा भेटिइरहेका हुन्थे उनीहरू । पहाडी भित्ता र ढुङ्गामा पनि जोगमान र जुनीमायाको नाम लेखिएको भेटिन्थ्यो ठुला ठुला अक्षरमा ।
उनीहरू पनि मायाको ग्रेटवाल पर्खालमा बसेर सुन्दर भविष्यको मिठो कल्पनामा हराउँथे कहिलेकाहीँ । जुनीमायाका नजरमा जोगमान जस्तो योग्य र मायालु मान्छे अरू कोही थिएन र हुन पनि सक्दैनथ्यो ।
उनीहरूको यो यात्रालाई क्रान्तिले अमल्याइदियो केही समय । त्यहीबिचमा जोगमानसँग जुग बिताउने चाहना बोकेर बिहे गरेकी थिइन् जुनीमायाले । बिहेको एक वर्षमै नयाँ सदस्यका रूपमा छोरी आइन् । जुनीमायाको खुसी बिहेको तीन वर्षमै खोसिदियो कर्णालीले । त्यसपछिको समय सानी छोरी च्यापेर जुनीमायाले जिम्मेवारीको जहाज उडाइरहिन् ।
उमेरले जुनी काटे जस्तो लाग्ने घरनजिक पुगेको थिएँ म । त्यही बेला घरबाहिर चोसो निकाली बनाइएको भान्साबाट कुकरले सिर्र लामो सिट्ठी हान्यो ।
घरअगाडि सार्न नमिल्ने धेरै वर्षको बसाइ धानेर बसेको एउटा काठको बेन्ची थियो । त्यहीँ गएर टुक्रुक्क बसेँ । बाहिर कोही देखिनँ । घरभित्र को छ, के छ मलाई थाहा पनि थिएन । थाहा हुनुपर्ने कुनै कारण र आवश्यकता पनि त थिएन । फेरि पनि सिट्ठी लाग्न सिर्र सिर्र गरिरहेको कुकरले मेरो ध्यान तान्यो ।
पहाडमा प्रेसर कुकरको सिट्ठी घडी जस्तै हो ।
खाना पाक्ने समय अनि काममा गएको मान्छे घर फर्कने सङ्केत । पक्कै पनि निर्जनताका बिच एक्लै सुसाउने कर्णाली होइन प्रेसर कुकर । कुकरभित्र पनि त जीवन हुन्छ । हतार गरे कुकरमा बसालेको वस्तु काँचै पनि हुने गर्छ, ढिलो गरे डढ्न पनि सक्छ । कुकरको सिट्ठी लाग्न दाउराले जल्नु पर्छ । आगोको लप्को सहेर नै काँचो वस्तु पाक्छ र खानयोग्य बन्छ ।
कुकरले फेरि दोस्रो सिट्ठी बजायो । मैले परिचित पाहुनाले जस्तै हँसीमजाकमा बोलेँ, अन्यत्र जस्तै, सधैँ जस्तै बोलेको ।
“खाना पाक्यो, म त आएँ ।”
मेरो आवाज सुन्नेबित्तिकै ढोका घ¥याक्क खुल्यो । चुलोबाट आएको धुवाँ मन्द मन्द हावामा यताउता नाचिरहेको थियो । जुनीमाया घरभित्रबाट भक्कानिँदै आएर मलाई अँगालो हालिन् । उनकी दुईबर्से छोरी पनि रुँदै र आत्तिँदै त्यहीँ आइपुगेर आमाको धोतीको फेरो समातिन् । एउटी अपरिचित युवतीको अनपेक्षित व्यवहारले म तर्सिएँ, आत्तिएँ पनि ।
कुकरमा के पाक्दै थियो, मलाई थाहा थिएन । यता अभाव र एक्लोपनले जुनीमायाको मन पाकेको रहेछ क्यारे, उनको प्रेमले भिजेको मन आँसु बनेर पोखिँदै थियो । उनको अँगालोले मेरो मन आगोबिना नै भतभती पाक्न थालेको थियो । मेरो ओठमुख सुक्न थाल्यो । मलाई चिसो पानीमा चोपलिन मन लाग्यो । चुलोमा बसालेको कुकरबाट बाफ उडिरहेको थियो तर यतिबेला एकछिन सबै मौन थिए ।
सबै कुरा स्तब्ध र मौन रहे पनि जुनीमायाका आँखाबाट हिमा र तिला बगिरहेका थिए ।
कहिलेकाहीँ घरभित्रै नपसेर पनि कसैको मनभित्र पसिसकिने रहेछ ।
कुकरको सिट्ठी लाग्नाले जन्मेको भाषा थियो मेरो, “खाना पाक्यो, म त आएँ ।” मैले बोलेको त यति मात्र थियो तर मैले बोलेका यी पाँच शब्द घरभित्रका कसैको मनै चिथोर्ने काँडा बन्ला भन्ने कुरा मलाई के थाहा ?
केही क्षणको मौनतापछि मैले जुनीमायालाई सोधेँ, “किन यसरी भक्कानिएर रुनुभएको ? के भयो र ?”
“खाना पकायौ, म त आएँ ।” ऊ यसै गरी बोल्थ्यो ।
हो, ऊ यसै गरी नै बोल्थ्यो । ठ्याक्कै तपाईंकै शब्दमा, तपाईंकै स्वरमा । तपाईं मेरो लोग्नेको प्रतिरूप बनेर आउनुभयो । उसकै भाषा बोल्नुभयो । प्रत्येक दिन कामबाट घर फर्कंदा उसको यही बोली हुन्थ्यो ।
जुनीमायाले अझैँ पीडामिश्रित स्वरमा भन्न थालिन्, मानौँ आफ्नो लोग्नेलाई जसरी, “तपाईं किन निष्ठुरी कर्णाली बन्नुभयो ? आँखाकी नानी जस्ती छोरी छोडेर किन खरानी बन्नुभयो ?”
फेरि भनिन्, “हेर्नु त छोरी, उसले आफ्ना कुरा भाषाका रूपमा भन्न नसक्ली, के उसले महसुस गरेको अभाव बुझ्न सक्नुहुन्छ ?” मैले जुनीमायाकी छोरीतिर नजर लगाएँ । उसका आँखाले पनि बाबुलाई नै खोजिरहेका थिए । मैले सानी नानीलाई सोधेँ, “नानी तिम्रो बाबा खोइ ?” उसले केवल आकाशतिर हेरी । सायद भगवान्को घर आकाशतिरै हुन्छ भनेर जुनीमायाले सिकाएको हुनु पर्छ, छोरीले बाबा खोजिरहँदा श्रीमान् गुमाएका हरेक आमाले दिने जवाफ यस्तै त हुन्छ नि !
जुनीमायाकी सानी छोरीले एक पटक मलाई हेरी र आशाको दियो बालेर कसैको प्रतीक्षामा पर पर बाटोतिर पनि हेरिरही । म पनि त्यही बाबुको दीर्घ प्रतीक्षाको बाटो हेरेर बसेकी अबोध बालिकातर्पm नियालेर टोलाइरहेँ एकछिनसम्म ।
केहीबेरको पर्खाइपछि जुनीमायाकी छोरीको अनुहारमा मलिनता छायो । मलिनता आँसुमा परिणत हुन थाल्यो ।
आँखाभरि टिलपिल टिलपिल आँसु भरिए तर भुइँमा झारेकी थिइन । मानौँ, आँसु भुइँमा झरे भने बाबा फर्केर आउँदैनन् भन्ने डरले हो कि, उसले आँखा भरिभरि भइरहेका आँसुलाई सकेसम्म समालेर बसिरहेकी थिई ।
साँच्चै नै साना बच्चाहरूले सम्झनाको अर्थ बुझेका हुँदैनन् तर अभावको भाषा भने बुझेका हुन्छन् ।
उनीहरूका लागि बाबा भनेको आउनुपर्ने मान्छे हो तर कैयौँ दिनसम्म पनि आपूmलाई काखमा राख्न नआएको मान्छे नफर्कन पनि सक्छन् भनेर कसरी बुझ्न सकेका हुन्छन् र ?
बच्चा सानै भए पनि उनीहरूले आमाबाबुको अनुहार र ओठमा खेल्ने मुस्कानमा माया खोजेका हुन्छन् । जुनीमायाकी सानी छोरीका अनुहारले पनि दुवैको माया खोजिरहेका थिए ।
जुनीमायाले त म नै जोगमान भएजसरी उत्तरै दिन नसक्ने प्रश्नहरूको घेरामा पारिसकेकी थिइन् मलाई ।
एकछिन त केही बोल्नै सकिनँ । यस्तो बेला केही बोल्नु र सोध्नु भनेको मुटुमा किल्ला हान्नु जस्तै हुन्थ्यो । मन मनमा कल्पना गरेँ, कहिलेकाहीँ कसैको जीवन एउटै वाक्यमा बाँधिने रहेछ चपक्क, दुधे छोरी काखमा चेपे जसरी । म निकै असमन्जसमा परेँ, यस्तो बेला जुनीमायालाई म तिम्रो जोगमान होइन भनेर कसरी सम्झाऊँ ।
आज मैले जुनीमायाका पूर्वस्मृतिका क्षणहरूमा सलाईको काँटीले भरर आगो सल्काइदिएको थिएँ । त्यो आगो सायद कर्णालीको जम्मै पानी एकै पटक खन्याए पनि निभाउन सकिँदैनथ्यो । उनका लागि जोगमान जुगमान थिए । निःस्वार्थ प्रेम र समर्पण पनि थिए । “खाना पकायौ, म त आएँ ।” जोगमानले प्रत्येक दिन भन्ने यो कुरा एउटा औपचारिकता र सोधनी मात्र थिएन, जुनीमायाप्रतिको अनन्य प्रेम थियो । सानी छोरीका निम्ति बाबुको न्यानो काखको प्रतीक्षाको समाप्तिको सुखद क्षण पनि थियो । करिब मध्याह्नको समय भइसकेको थियो । कर्णालीको सुस्साहट उस्तै छ । हिजोअस्ति जस्तै । फरक यति हो, कर्णाली अचेल हिउँ मात्र पग्लिएर बगेको छैन, त्यहाँ जुनीमायाका हिमाल र सपनाहरू पनि बगेका छन् ।
यतिन्जेल जुनीमाया पनि काठको बेन्चीमा बसी आफ्ना जीवनको ग्राफ केलाउन थालिसकेकी थिइन् । उनको जीवनको यो ग्राफमा सपना, पहाड, भोक, सम्झना, आँसु र छोरी सबै थिए । “उनी मेरा लागि तर्ने नदी थिए, म भने उनका छेउमा डुबेर बाँच्न चाहने मान्छे ।”
छेउमा डुबेर बाँच्न चाहने मान्छे भने पनि उनी मेरा अघिल्तिर भावनाको नदीमा बगिरेकी थिइन् । उनले भन्दै गइन्, म सुन्दै गइरहेको थिएँ । भनिन्, “म त अहिले खल्तीमा साँचो नभएको घर जस्तै भएकी छु । मैले जसरी भए पनि आँसुका ढिक्काले बनेका मनका पर्खाल फोडेर बाहिर निस्कनै पर्छ, छोरीको हात समाएर । मेरो हृदय जति टुक्रनु थियो, टुक्रिसकेको छ । अब बाँकी नै के छ र ? अभाव र यादहरूमै बाँच्न सिकेकी छु ।” “चाहेका कुरा सबै नपाइँदो रहेछ क्यारे । अब त मैले दुःखलाई साथी बनाएर बाँच्ने अठोट गरेकी छु ।”
म चुपचाप जुनीमायाको जिन्दगीका कथा सुनिरहेको थिएँ । खेल्दै कता कताबाट छोरी आमाको काखमा टुसुक्क बस्न आइपुगेकी थिइन् । जुनीमायाले केही बेर छोरीलाई थुमथुम्याइन् र बेन्चीबाट उठिन् ।
मैले जुनीमायाका कुनै पनि कुरामा जवाफ दिन सक्दिनथेँ । म त सौन्दर्यको रारा खोज्दै हिँडेको यात्री । रारा सौन्दर्यको मात्र हुँदो रहेनछ, सङ्घर्ष र अभावको गहिरो रारा भेटेँ मैले यहाँ । यो अभाव, विपन्नता र एक्लोपनभित्र पनि आशाको पूmल सिउरेर बसेकी जीवनवादी रारा थिइन् जुनीमाया । यहाँभन्दा गहिरो र सुन्दर रारा खोज्न कहाँ जानु र अब म ?
म बेन्चबाट उठेँ । उनले खाना खाएर जान आग्रह गरिन् । मैले मानिनँ । मैले उनका विगतका खाटा बसेका घाउ कोट्याएको र उनलाई दुःखी बनाएकाले हो कि मलाई त्यहाँबाट जतिसक्दो चाँडो भाग्न मन लाग्यो ।
अनि भनेँ, “यसै गरी कुकरमा आफ्ना लोग्नेप्रतिका याद र पर्खाइको सिट्ठी लगाउनु है ।” फर्कंदा पस्ने छु, छोटो समयमा भन्न नसकेका तिम्रा जिन्दगीका कथाहरू अभैm सुन्न बाँकी नै छ जुनीमाया ।” म पर पुगिसकेको थिएँ, जुनीमायाले मायालु नजरले बिदाइको हात हल्लाइन् ।
प्रेसर कुकरले फेरि सिट्ठी लगायो, सायद मलाई नै बिदाइ गरे जस्तो लाग्यो । मलाई कुकरको सिट्ठी र जुनीमायाको जीवन उस्तै उस्तै लाग्यो । जुनीमायाको जीवन, प्रेम र पतिसँगका सम्झना शब्द शब्दमा कुकरमा पाकिरहे जस्तो लाग्यो । उनको त्यो प्रेम, पीडा अनि छोरीको आशा र भविष्य तर्न नसकिने कर्णाली नदी जस्तै गहिरो लाग्यो ।
अब जोगमानले घर आई कहिल्यै यस्तो भन्ने छैनन् तर कुकरको सिट्ठी बज्दा उनको आवाज भने सधैँ आइरहने छ, बाँचिरहने छ, त्यो घरमा; जुनीमाया बाँचुन्जेल । जुनीमायाको माया र यादहरू एक वर्ष, दुई वर्ष गरी यस्तै सिट्ठीमा पाक्दै जाने छन् । प्रेसर कुकरको सिट्ठीसँगै आउने यादहरूले कति सताउने होलान् जुनीमायालाई ?