‘यात्रा भनेको गन्तव्यमा पुग्ने कुरा मात्र होइन, बाटोमा सिकिने अनेकौँ पाठको सँगालो पनि हो ।’ कैलाश मानसरोवर यात्रालाई यही एउटा वाक्यले ‘कैलाश कोरा’ पुस्तकको जन्म दिएको छ । यात्रा अवधिमा सङ्कलन गरिने जानकारी र सिकिने ज्ञानलाई समेट्न सकिए एउटा पुस्तक लेख्न सकिन्छ । नेपालबाट सडकमार्ग हुँदै गरिने कैलाश मानसरोवर यात्रा रोमाञ्चक रहे पनि थोरै कष्टकर छ । एक दशकअगाडिसम्म निकै कष्टकर रहेको तिब्बती क्षेत्रको यात्रा ब्रह्मपुत्र नदीमा निर्मित पुल र व्यवस्थित सडकले थोरै सहज बनाएको छ । लेखक राजेन्द्रमान डङ्गोलले हृदयको गहिराइबाट सुरु गरेको यात्रा उचाइसँगको मित्रतासम्म पहिलो खण्ड मानेर पढ्दा अबको यात्रा कस्तो होला भन्ने जिज्ञासा उत्पन्न गराउँछ । समीक्षकको हैसियतमा ‘कैलाश कोरा’ लाई तीन दिनमा पढ्न तीन खण्डमा बाँडेको छु ।
पहिलो खण्डमा नेपालबाट सागासम्मको यात्रावृत्तान्त पढ्न सकिन्छ । सोही खण्डमा ‘उन्मत्त भोटोकोशी : सीमापारको अनुभूति’, ‘विश्व छानोको सौन्दर्य’ पनि पढ्न सकिन्छ । बौद्ध धर्मको काग्य परम्पराका साधक मिलारेपाको चर्चाले पुस्तकको पहिलो खण्डलाई पूर्ण गरेको छ । मिलारेपाको गाउँ क्याङ चा मुख्य सडकबाट १४ किलोमिटर टाढा रहेकाले यात्रामार्गमा समेटिएको छैन । कालो जादुको अभ्यास गरेर शत्रु नष्ट गर्ने पूर्वाग्राही सोचको जीवनशैलीलाई पूर्णतः त्याग्दै ध्यान र कठोर तपस्यामार्फत मिलारेपाले ज्ञान प्राप्त गरे ।
यस पुस्तकलाई तीन खण्डमा बाँडेर पढ्दा सजिलो हुन्छ । बिचको भाग अन्य दुईभन्दा अग्लो र अधिक धारिलो हुन्छ । त्यही भएर पहिलो खण्डभन्दा डेढ गुणा बढी पाना पृष्ठबाट धेरै जिज्ञासा साम्य भइसक्छ । दोस्रो खण्ड मानेर मौन सरोवरमा आध्यात्मिक विम्बदेखि डोल्मा लासम्म पढ्न सकिए अध्यात्म चिन्तन सुरु भइसक्छ । डोल्मा ला पार गर्न ५०४० मिटरबाट ५६३० को उचाइमा पुगेर ४८०० मिटरको जुथुलपुकमा पुग्नु पर्छ । यो यात्राको महत्वपूर्ण र सबभन्दा चुनौतीपूर्ण हिस्सा हो । यो ठाउँमा पुग्नुभन्दा पहिले मानसरोवरको यात्रा गर्नु अनिवार्य छ ।
केरुङबाट सागाको दुरी २४० किलोमिटर हो । सागाबाट मानसरोवरको दुरी ४८० किलोमिटर रहे पनि बास बस्न ५६० किलोमिटरको यात्रा पार गर्नु पर्छ । ब्रह्मपुत्र नदीलाई यार्लुङ चाङ्पो भनिन्छ । यो सागामा देखेपछि पुनः डोङ्बाभन्दा अगाडि बढ्दा भेटिन्छ । यो नदीलाई पुरुषको संज्ञा दिइए पनि अन्य नदीलाई स्त्रीको रूप मानिन्छ । पुस्तकमा जापानका भिक्षु एवं प्रसिद्ध अन्वेषक एकाइ कावागुचीले सन् १९०० मा मुस्ताङ हुँदै यात्रा गरेकाले कोरला नाकाबाट कैलाश यात्रा गराउनुपर्ने तर्क गरिएको छ । सागा ला, मायुम ला, डोल्मा लासहितका ठाउँको नाम आउँदा यो ‘ला’ भनेको के हो भन्ने जिज्ञासा आउन सक्छ । तिब्बतमा ‘ला’ भनेको उचाइमा भएको ठाउँ अथवा उच्च दर्रालाई सम्बोधन गरिन्छ ।
मानसरोवरको तिब्बती नाम ‘मापाङ युम्छो’ हो । यस सरोवरको स्रोत ७७२८ मिटर अग्लो गुरला मान्धाता र बोन री हिमाल हो । भगवान् रामको पूर्वज मान्धातालाई यस सरोवरमा पुग्ने पहिलो यात्रीका रूपमा हेरिन्छ । गुरला हिमालमा पुगेर ध्यान गरेकाले गुरला मान्धाता हिमाल भएको मानिन्छ । यो सरोवरको उचाइ ४५९० मिटर र परिधि ८२ किलोमिटर रहेको छ । सरोवरको किनारमा आठ वटा गुम्बा छन् । त्यहाँ पुगेपछि सबैले आआफ्ना परम्परा अनुसार दीप जलाउन नमस्कार गरिरहेका देखिन्छ । यो ठाउँ हिन्दु, बौद्ध र जैनको साझा धरोहर बनेको छ । धार्मिक गतिविधिमा गङ्गाजललाई अपनाएको समाजले मानसरोवरको जलसँग उत्तिकै स्नेह गर्छन् । त्यही भएर यहाँको पवित्र जल भरेर ल्याउँछन् । गङ्गासेवन गर्न किनारमा रात्रि विश्राम गरे जस्तै मानसरोवर किनारमा पनि विश्राम गर्ने व्यवस्था छ । एकआपसको विपरीतमा मानसरोवर र राक्षस ताल छ । लाङ्गाको अर्थ राक्षस र थाक्को अर्थ विष हो । एउटै च्छो (ताल) लाई दुवै नामबाट सम्बोधन गरिन्छ । मानसरोवरको यात्रापछि किंवदन्तीको गुफा, शान्तिको पहाड तथा धार्चेनको कथालाई दोस्रो खण्ड अन्तर्गत पढ्दा मज्जा आउँछ । ‘मोक्षको पदचिह्न र रहस्यहरूमा रुमल्लिँदा’ पढेपछि डोल्मा लाको आनन्द लिन सकिन्छ । पुस्तकमा यात्रा अवधिको शौच सङ्कट र समाधानलाई ‘ट्वाइलेट एडभेन्चर’ कै रूपमा प्रस्तुत गरिएको छ ।
चिउ गुम्बाभित्र स्थापित पद्मसम्भवको मूर्ति र त्यहाँको आध्यात्मिकतालाई बेजोड ढङ्गले प्रस्तुत गरिएको छ । मिथकीय रूपमा चिउको चरा बुझाउने गरिन्छ । मानसरोवर सेवन र स्नान गरेपछि धार्चेन (दरचेनको अपभ्रंश) सुरु हुन्छ । तिब्बती भाषामा दरको अर्थ प्रार्थना झन्डा तथा चेनको अर्थ विशाल वा महान् भएर दरचेनको अर्थ विशाल प्रार्थना झन्डा हुन्छ । यहाँबाट थारबोचे (४५७५ मिटर) पुगेर १० किलोमटरको कैलाश पर्वतको परिक्रमा सुरु भई दिराफुक (५०४० मिटर) मा सम्पन्न हुन्छ । रहस्यमय कैलाश पर्वतको उचाइ ६७१४ मिटर रहे पनि अहिलेसम्म चुचुरोमा पुग्न सकिएको छैन । यस मार्गमा ताम्दिङ दोखाङ, शिलाकुट पर्छ । यी ठाउँहरू रहस्यमय छन् । जैन धर्मका २४ तीर्थङ्करमध्ये प्रथम ऋषभनाथले कैलाश क्षेत्रमा मोक्ष (निर्वाण) प्राप्त गरेको मानिन्छ । त्यही बोन धर्मले कैलाशलाई आकाशदेवीको आसन मान्ने गर्छन् । पुस्तकमा डोल्मा लाको कठिन यात्रा पनि रोचक छ । शिवत्सलमा आफूलाई मन लागेका वस्तुहरू अर्पण गर्ने परम्परा सुरु भइसकेको छ । बाटोमा बौद्ध मत अनुसार तारादेवी तथा हिन्दु मत अनुसार पार्वतीको पदचिह्न देखिन्छ ।
तेस्रो खण्ड मानेर हयग्रीव प्रतिविम्ब र अन्तिम पदचाप पढ्न अन्य खण्डभन्दा कम समय खर्चिनु पर्छ । सानो तलाउ गौरीकुण्डको रहस्य पनि रोचक छ । लाम्चु उपत्यकातर्फ बढ्दा ध्यानपूर्वक हेरेपछि घोडाको टाउको उठाएको आकृति देखिन्छ । त्यही घोडाको गर्दन भएको आकृतिलाई ‘हयग्रीव’ भनिन्छ । पुस्तकमा उल्लेख भए अनुसार बौद्ध ग्रन्थहरूमा अशुभ शक्तिहरूलाई तहसनहस पार्ने, यात्रुलाई सुरक्षा दिने र जागरणको प्रतीक मानिन्छन् । हिन्दु धर्ममा हयग्रीवलाई भगवान् विष्णुको रूप मानिन्छ । यात्रा अगाडि बढ्दै जाँदा जुथुलफुक अर्थात् मिराकल भ्याली पुगिन्छ । पुस्तकमा मिलारेपा र बोन धर्मगुरु नारो बेनचुङको आध्यात्मिक प्रतिस्पर्धाबारे उतार गरिएको छ । धार्चेनदेखि धार्चेनसम्मको परिक्रमा ५२ किलोमिटर छ ।
यात्रा अवधिमा भोग्नुपर्ने अध्यागमनको झन्झट, शारीरिक कष्ट, तिब्बतको सहरी र ग्रामीण विकासका विषय निकै चाखलाग्दा छन् । भृकुटी, आगमतन्त्र, शिवपार्वती आध्यात्मिक संवादसहितको शब्दलाई कम्तीमा एक÷एक पानाको भए पनि व्याख्याको कमी ‘कैलाश कोरा’ पुस्तकमा देखिएको छ । बौद्ध धर्मावलम्बीले प्रदक्षिणालाई कोरा भन्छन् । प्रदक्षिणाको अर्थ कुनै विशेष स्थानलाई दायाँतर्फबाट परिक्रमा गर्ने क्रियालाई जनाउँछ । बोन धर्मावलम्बी बायाँतर्फबाट परिक्रमा गर्छन् ।
‘कैलाश कोरा’ का लेखकले यात्रावृत्तान्तमा थोरै रिपोर्टिङ शैली अपनाएका छन्, जसले पाठकलाई नयाँ जानकारी प्रदान गर्छ । पुस्तक पढ्दा लेखकको मनमा कुनै विशेष जिज्ञासा देखिएको छैन । यसमा समावेश सहकर्मी यात्रीहरूको भनाइ र जानकारीबारे थप खोज गरेर अर्को संस्करणमा समेट्न सकिए यस्ता कमजोर पक्ष हराएर जाने देखिन्छ । साथै नागवंशीय राजाहरू र उनका मानसरोवर क्षेत्रमा बसोबास गरेको विषय उठान भएको भए पाठकलाई काठमाडाँै उपत्यकाका नागवंशीय राजाहरूसँग जोड्न सकिन्थ्यो ।
नेपालयले सन् २०२५ जुलाईमा प्रकाशन गरेको १४७ पृष्ठको ‘कैलाश कोरा’ विद्युतीय पुस्तकको मूल्य १४५ तथा मुद्रित पुस्तकको मूल्य ३९५ रुपियाँ रहेको छ ।