• ९ फागुन २०८२, शनिबार

हेर्दै हिमाल घुमौँ नेपाल

blog

नेपाल केवल एउटा देशको नाम मात्र होइन, यो प्रकृति, संस्कृति, इतिहास र सभ्यताको जीवन्त सङ्ग्रहालय हो । संसारको नक्सामा सानो देखिने नेपाल, वास्तविक अर्थमा हेर्दा विशाल विविधता र गहिरो पहिचान बोकेको मुलुक हो । पूर्वदेखि पश्चिमको किनारासम्म उत्तरमा अटल हिमाल उभिएका छन्, बिचमा हरिया पहाड एवं उपत्यका बसेका छन् । दक्षिणमा उर्वर तराई भूमि फराकिलो बनेर फैलिएको छ । यति सानो भूभागमा यस्तो भौगोलिक विविधता सायदै अन्यत्र पाइन्छ । भौगोलिक विविधता मात्र हैन यसैसँग जोडिएर देखापर्ने अनुपम प्राकृतिक, सामाजिक एवं सांस्कृतिक विविधता नेपालका चिनारी बनेका छन् । यहीकारण नेपाल केवल नेपालीका लागि होइन, विश्वकै लागि पनि एउटा अद्वितीय गन्तव्य हो ।

विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) नेपालकै गौरव हो । हिमाल आरोहण, साहसिक पर्यटन र प्राकृतिक सौन्दर्यको प्रतीक बनेको सगरमाथाले नेपाललाई विश्वसामु चिनाएको छ । संसारमा रहेका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये आठ वटा नेपालमै अवस्थित छन् । कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयु, धवलागिरि, मनासलु, अन्नपूर्ण र सगरमाथा हाम्रा शिरहरू हुन् । यी हिमाल केवल ढुङ्गा र हिउँका पहाड मात्र हैनन्, यी नेपाली पहिचान, सहनशीलता र साहसका प्रतीक हुन् । चमकदार चाँदीका मुकुट झैँ लाग्ने यी टाकुरा यति सुन्दर छन् कि देखिनेबित्तिकै यिनीहरू मानिसका हृदयभित्र पस्छन् र कहिल्यै नमेटिने तस्बिर भएर बस्छन् । नेपालको सुन्दरता हिमालमा मात्रै सीमित छैन । हिमालबाट झरझर झर्ने झरना र कलकल बग्ने नदीहरू, अँजुली जस्ता उपत्यकाहरू, हरिया पाखापखेरा, चउर र नागीहरू सौन्दर्यका पर्याय झैँ लाग्छन् । यिनले सिङ्गै नेपाललाई प्राकृतिक क्यानभास जस्तै बनाइदिएका छन् । लालीगुराँस र सुनाखरी ढकमक फुल्दा पहाडको मनमोहक दृश्यले मोहनी लगाउँछ । यहाँका गाउँमा देखिने विविधतायुक्त तर मौलिक जीवनशैली, संस्कृति, परम्पराले नेपाली पहाडी जनजीवनको वास्तविक पहिचान प्रस्तुत गर्छन् । पसिना बगेका खेतबारीमा श्रमको ज्योति जगमगाइरहेको देखिन्छ । दक्षिणतर्फ उत्रँदा भेटिन्छ उर्वर तराई, जहाँ धान, गहुँ, मकैका फाँटहरू लहलह फैलिएका छन् ।

यहाँका सानाठुला हजारौँ ताल, पोखरी र नदीका कारण नेपाललाई ‘जलस्रोतको धनी देश’ भनिन्छ । यो उपाधि पूर्णतः सार्थक छ । ‘रारा’ नेपालकै सबैभन्दा ठुलो ताल, ‘फोक्सुन्डो’ निलो ऐना जस्तै चम्किने हिमाली ताल, ‘तिलिचो’ विश्वकै उच्च स्थानमा अवस्थित तालमध्ये एक, ‘गोसाइँकुण्ड’ धार्मिक आस्थासँग जोडिएको पवित्र ताल अनि फेवा, बेगनास प्रसिद्ध पर्यटकीय आकर्षणका केन्द्रका रूपमा परिचित छन् । प्रसिद्ध पाँचपोखरी, माईपोखरी जस्ता पोखरीहरू नेपालका प्राकृतिक गहना हुन् ।

यी ताल र पोखरीहरू केवल सौन्दर्यका प्रतीक मात्र हैनन्, यिनीहरू सामान्य जलकुण्ड मात्र हैनन् यी त स्थानीय जीवन, धार्मिक विश्वास र पर्यावरणीय सन्तुलनका आधार हुन् । फेवातालमा देखिने माछापुच्छ«े हिमालको प्रतिविम्बले हरेक दर्शकलाई मन्त्रमुग्ध बनाउँछ । रारातालको शान्त वातावरणले आत्मासम्म नै शीतलता छर्किदिन्छ । नेपालमा ‍¥याफ्टिङका लागि कर्णाली, सुनकोशी, भोटेकोशी, त्रिशूली, कालीगण्डकी, मस्र्याङ्दी र तिला जस्ता नदीहरू प्रसिद्ध छन् । जसले ग्रेड २ स्तरको सरलदेखि ग्रेड ५ स्तरसम्मको कठिन रोमाञ्चक ¥याफ्टिङका अनुभव प्रदान गर्छन् । यी नदीहरू खेल र आनन्दानुभूतिका स्रोत मात्र हैनन्, यिनीहरू राष्ट्रका रक्तनली हुन् ।

नेपाल विश्वका दुई महान् धर्म हिन्दु र बौद्धको साझा पवित्र भूमि हो । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै पर्छ । शान्ति, अहिंसा र करुणाको सन्देश विश्वभर फैलाउने बुद्ध जन्मिएको यही भूमिमा आज पनि विश्वभरका श्रद्धालुहरू शान्तिको खोजीमा आइपुग्छन् । हिन्दु धर्मका लागि पशुपतिनाथ अत्यन्तै महìवपूर्ण तीर्थस्थल हो । शिवको आराधनामा समर्पित पशुपतिनाथ केवल धार्मिक स्थल मात्र होइन, यो कला, वास्तुकला र आध्यात्मिक चेतनाको केन्द्र हो । स्वयम्भूनाथ र बौद्धनाथ जस्ता स्तूपहरू बौद्ध संस्कृतिका अमूल्य धरोहर हुन् । मुक्तिनाथ, जहाँ हिन्दु र बौद्ध दुवैको समान आस्था जोडिएको छ । यो धार्मिक सहिष्णुताको उत्कृष्ट उदाहरण हो ।

जातीय र सांस्कृतिक विविधताको अनुपम देश नेपाल विविध जातजाति, भाषा, संस्कार र संस्कृतिको साझा फूलबारी हो । तामाङ, नेवार, थारू, शेर्पा, लिम्बू, गुरुङ, मगर, राई, कामी, दमाईं, सार्की, मधेशी, मुस्लिम, छेत्री, बाहुन, राजवंशी, सन्थाल, झाँगड, धिमाललगायत सबासय जाति सबै नेपाली समाजका अभिन्न अङ्ग हुन् । हरेक समुदायको आफ्नै पहिचान, पहिरन, वेशभूषा, पर्व र संस्कार छन् । दसैँतिहार, छठ, फागु, उँधौली, उँभौली, ल्होसार, इद, बुद्धजयन्ती, गौरा, गाईजात्रा, इन्द्रजात्रा आदि पर्व र जात्राहरूले नेपाली समाजलाई सांस्कृतिक रूपमा अझै समृद्ध बनाएका छन् ।

नेवार समुदायको संस्कृति र कलाले काठमाडौँ उपत्यकालाई जीवित सङ्ग्र्रहालय बनाएको छ । थारू समुदायको जीवनशैलीले तराईको संस्कृति बोल्छ । हिमाली भेगका शेर्पा र भोटे समुदायले हिमालसँग सहअस्तित्वको जीवन दर्शन सिकाउँछन् ।

नेपाल जैविक विविधतामा पनि अत्यन्तै धनी छ । एकसिङ्गे गैँडा, पाटेबाघ, कृष्णसार, हात्ती, हिमचितुवा जस्ता दुर्लभ वन्यजन्तु नेपालका निकुन्जमा देख्न पाइन्छ । चितवन, बर्दिया, शुक्लाफाँटा, कोशीटप्पु, सगरमाथा, लाङटाङ, मकालु, वरुण जस्ता राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रले विभिन्न जातिका जनावर र चराचुरुङ्गीको संरक्षण गर्नुका साथै नेपालको पर्यावरणीय पहिचानलाई मजबुत बनाएका छन् । चराचुरुङ्गीको दृष्टिले नेपाल विश्वकै महìवपूर्ण गन्तव्य हो । डाँफे, मुनाल, मयूर, सारस, विभिन्न प्रजातिका बाजले नेपाललाई चरा विज्ञानको स्वर्ग बनाएका छन् ।

श्रीअन्तु, सन्दुकपुर, शैलुङ, सिद्धिथुम्का, नगरकोटबाट देखिने सूर्योदय र सूर्यास्तका दृश्य जीवनमा एक पटक त अवश्य अनुभव गर्नै पर्छ । बादलमाथिबाट उदाउँदै गरेको सूर्य, हिमालमा पर्ने सुनौलो किरणले मनलाई शान्ति र आत्मालाई ऊर्जा दिन्छन् ।

नेपालमा ‘एकैछिन अघि तराईमा पसिना बगाएर एकैछिन पछि पहाडको शीतल हावामा चिया पिउन सकिने’ अद्वितीय भौगोलिक सुविधा छ । यिनै विशेषता नै आन्तरिक पर्यटनको ठुलो सम्भावना हो ।

घुमौँ नेपाल

हामी प्रायः विदेश घुम्नुलाई प्रतिष्ठा र उपलब्धि ठान्छौँ तर आफ्नै देशका धेरै सुन्दर ठाउँ हामीले नदेखेको यथार्थ छ । जबसम्म हामीले आफ्नै देशलाई चिन्न सक्दैनौँ, तबसम्म देश प्रेम केवल बखानमा मात्रै सीमित हुन्छ । आन्तरिक पर्यटनले स्थानीय अर्थतन्त्र चलायमान बनाउँछ । होटेल, होमस्टे, यातायात, कृषि, हस्तकला सबै क्षेत्रमा रोजगारी सिर्जना हुन्छ । साना व्यवसायी र ग्रामीण समुदाय प्रत्यक्ष लाभान्वित हुन्छन् । सरकारको मात्रै होइन, हरेक नागरिकको सानो योगदानले पनि मुलुकको विकासमा ठुलो प्रभाव पार्न सक्छ ।

सरकारले पूर्वाधार, प्रचारप्रसार र संरक्षणमा ध्यान दिनु पर्छ । नागरिकले जिम्मेवार पर्यटकको भूमिका निभाउनु पर्छ । फोहोर नगर्ने, स्थानीय संस्कृति र परम्पराको सम्मान गर्ने, स्थानीय उत्पादन प्रयोग गर्ने जस्ता साना लाग्ने व्यवहारले ठुलो परिवर्तन ल्याउन सक्छ । नेपाल घुम्नु कुनै बाध्यता होइन, यो गर्वको विषय हो । त्यसैले आफ्नो सानो कमाइले भए पनि नेपाल घुमौँ । समथर तराईदेखि सगरमाथाको चुचुरोसम्म शिरदेखि पाउसम्म विविधतायुक्त सुन्दरता पहिरिएर फैलिएको यो सुन्दर देश पहिले चिन्नु, बुझ्नु र यसलाई माया गर्नु हाम्रो दायित्व हो । आफ्नै देशको माटो, संस्कृति, परम्परा र मानिसलाई नचिनी विश्व चिन्न खोज्नु अधुरो यात्रा हो । त्यसैले विदेश जानुअघि नेपाल घुमौँ । आन्तरिक पर्यटनलाई प्रवर्धन गरौँ । यही बाटोबाट मात्र समृद्ध, आत्मनिर्भर र गर्विलो नेपालको निर्माण सम्भव छ ।