• १६ भदौ २०८१, आइतबार

कृषि अनुसन्धानमा सरकारले थप लगानी गर्छ : मन्त्री यादव

blog

मन्त्री मृगेन्द्रकुमार सिंह यादव अवलोकन गर्ने क्रममा मधेश कृषि विश्वविधालय राजविराज परिसरमा । तस्वीर : ललिता साह

ललिता साह 

बोदेबसाईन (सप्तरी), साउन २ गते । कृषि, शिक्षा, अनुसन्धान र प्रसारणमा गत वर्षभन्दा  सरकारले बढी लगानी गर्ने संघीय कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले बताउनुभएको छ । गृहजिल्ला सप्तरीमा मधेस प्रदेश सरकारद्वारा स्थापना गरिएको मधेश कृषि विश्व विद्यालयलाई सोमबार अवलोकन गर्नेक्रममा मन्त्री यादवले सो कुरा बताउनुभएको हो ।

“जोसँग घाम, पानी,  फर्टिलाइजर छ त्यो मुलुक गरीब हुनै सक्दैन” मन्त्री यादवले भन्नुभयो, “नेपाल इन्टरनेशनल अनुसन्धान सेन्टर बन्न सक्ने प्रवल सम्भावना रहेकाले सोअनुसार लगानी गर्नुपर्छ ।”

कृषिको प्रवद्र्धन गर्न नसक्नु दुर्भाग्य भएको चर्चा गर्नुहुँदै मन्त्री यादवले एक लाख ३ हजार हेक्टरमा लगाइने चैते धान खेतीलाई ३ लाख हेक्टर बनाउन सकेमा हामीसँग खाद्यान्न निर्यात गर्न सक्ने क्षमता बन्ने उहाँले बताउनुभयो । हामीकहाँ शिक्षा, रिसर्च र प्रसारबीच तालमेल नभएको उहाँले बताउनुभयो । 

सरकारले कृषि अनुसन्धानमा थप बजेट दिन विश्वविद्यालयका उपकुलपति डा. बैद्यनाथ महतोले मन्त्रीसँग आग्रह गर्नुभयो । अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री यादवले विश्वविद्यालयको अवस्था तथा भावी रणनीतिबारे जानकारी लिनुभयो ।