मुलुकको राजधानी सहर एवं सबैभन्दा पुरानो महानगरपालिका काठमाडौँमा अनेकन समस्यासँगै बारम्बार फोहोर थुप्रिने तथा नउठ्ने समस्या काठमाडौंँवासीका लागि नौलो विषय होइन । यसबाट काठमाडौंँको अन्तर्राष्ट्रिय छविमा समेत नकारात्मक असर परेको यथार्थ हो । फोहोर थुप्रिने समस्याकै कारण सिसडोल, वञ्चरे डाँडाजस्ता फोहोर उत्सर्जन गर्ने स्थलसँग यहाँका बासिन्दा राम्रैसँग परिचितसमेत भइसकेका छन् । फोहोर व्यवस्थापन काठमाडौंँलगायत उपत्यकाका अन्य नगरपालिकाको समेत टाउको दुखाइ तथा पहिलो प्राथमिकताको क्षेत्र बनेको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत यो विषयले निकै प्राथमिकता पाएको थियो । अहिलेको आवश्यकता भनेकै जुनसुकै अवस्था तथा परिस्थितिमा पनि काठमाडौंँलाई सफा सहरका रूपमा स्थापित गर्नु हो ।
यही साउन १ गतेदेखि काठमाडौंँ महानगरपालिकाको फोहोर व्यवस्थापनलाई दिगो तथा व्यवस्थित गर्ने ध्येय स्वरूप जैविक तथा अजैविक फोहोर स्रोतमा नै छुट्याउनुपर्ने नियम अगाडि सारेको छ । यसको अर्थ अबदेखि घरधनीहरूले नै फोहोर उठाउने गाडीलाई फोहोर बुझाउनु अघि कुहिने तथा नकुहिने फोहोरका पोका छुट्याउनु पर्नेछ । यसबाट पहिलेको जस्तो सबै खाले फोहोर एउटै पोकामा मिसाउन पाइने छैन । यति मात्र होइन, यसका लागि दण्डको समेत भागीदार हुनुपर्ने भएको छ । सबैखाले फोहोर एकै पोकामा मिसाएको पाइएमा फोहोर फिर्ता लैजानुपर्नेका साथै प्रत्येक पटक पाँच सय रुपियाँ नगद जरिवानासमेत गर्ने नीति महानगरपालिकाले सार्वजनिक गरिसकेको छ । सामान्य सेवाग्राहीले अब उप्रान्त फोहोर जम्मा गर्नुअघि थप सतर्क तथा सावधानी अपनाउनुपर्ने अवस्था सिर्जना भएको देखिन्छ । स्थानीय बासिन्दाको सानो प्रयासले काठमाडौंँलाई सफा राख्न सघाउ पुग्दछ भने यो खुसी तथा गौरवकै विषय हो र सबैको सहभागिता आवश्यक पनि छ ।
काठमाडौँ महानगरको नयाँ नेतृत्वसँगै अगाडि ल्याइएको यस नीतिले उत्सर्जन स्थलमा फोहोरको वर्गीकरण गर्नुपर्ने झन्झटमा सम्बद्ध पक्षलाई केही राहत मिल्नेछ । साथै जैविक फोहोरलाई मल आदि बनाउन पनि सहज हुने देखिन्छ । यस्तै नकुहिने फोहोरलाई आवश्यक व्यवस्थापनका लागि अन्य उपाय अवलम्बन गरेर उत्सर्जन गर्न सम्भव हुनेछ । हामीकहाँ यसरी फोहोर छुट्याउने बानी नभएकाले तत्कालका लागि स्थानीयलाई केही असहज महसुस भए पनि समयसँगै यसमा अभ्यस्त हुनेमा विश्वस्त हुन सकिन्छ ।
काठमाडौँ महानगरले पहिलोचोटि यस अभ्यासलाई प्रचलनमा ल्याए पनि पश्चिमा विकसित राष्ट्रका सहरहरूमा जैविक तथा अजैविक फोहोर छुट्याएर राख्ने प्रचलित अभ्यास नै हो । महानगरपालिकाद्वारा प्रत्येक घरमा वितरण गरिने गुडाउन मिल्ने खालका हरिया तथा काला ठूला फोहोरदानी ‘डष्टबिन’ मा स्थानीय हरियामा कुहिने तथा कालामा नकुहिने फोहोर जम्मा गर्ने गर्दछन् । यसबाट ती सहरहरूमा जैविक तथा अजैविक फोहोर टाउको दुखाइको ठूलो विषय बन्दैनन् । यस दृष्टिकोणबाट समेत काठमाडौँ महानगरले हाल अभ्यास गर्न खोजेको यो तरिकालाई वातावरणीय दृष्टिकोणबाट उपयुक्त मान्न सकिन्छ तथापि यसका लागि पर्याप्त मात्रामा जनचेतना एवं प्रचारप्रसार पनि त्यत्तिकै आवश्यक देखिन्छ । यसतर्फ महानगरपालिकाले ध्यान दिनु उपयुक्त देखिन्छ ।
यस ऐतिहासिक नगरीलाई फोहोर तथा प्रदूषण मुक्त बनाउन महानगरले सम्भव भए जतिको प्रयास गर्नुपर्दछ र महानगरले गर्दछ भन्ने अपेक्षा नगरवासीको रहेको पाइन्छ । पश्चिमा महानगरहरूले जैविक तथा अजैविक फोहोर जम्मा गर्न गुडाउन मिल्ने दुई ठूला फोहोरदानी प्रत्येक घरलाई उपलब्ध गराएजस्तै सम्भव भएसम्म काठमाडौँ महानगरले पनि यसतर्फ ध्यान किन नदिने ? यसबाट महानगरलाई सफा तथा स्वस्थ राख्न सघाउ पुग्नुका साथै ती लाखौँ फोहोरदानी उत्पादनका लागि केही मात्रामा भए पनि रोजगारीको अवसर सिर्जना हुन सक्दछ ।
हामीकहाँ तत्काललाई विभिन्नखाले नियम, कानुन वा प्रावधानहरूको व्यवस्था गर्ने र तिनीहरूको दीर्घकालसम्म पालना नगर्ने पुरानै रोग हो । महानगरले जुन व्यवस्था अहिले अभ्यास गरेको छ, यसले सहरी सफाइमा सकारात्मक प्रभाव पार्ने देखिएकाले यसलाई कडाइका साथ पालना गर्दै निरन्तरता दिनु आवश्यक देखिन्छ । महानगरले फोहोरदानीको प्रबन्धलगायतका विषयमा ध्यान दिनसके थप सकारात्मक परिणाम आउने अपेक्षा गर्न सकिन्छ । महानगरपालिकाको नयाँ प्रयासले राजधानी सफा, सुन्दर त हुनेछ फोहोरलाई अनावश्यक वस्तु मात्र होइन, उत्पादनका साधनका रूपमा प्रयोग गर्ने सम्भावना बढेको छ । यसलाई सहयोग पु-याउनु महानगरवासीको कर्तव्य हुन आउँछ ।