• ४ फागुन २०८२, सोमबार

महाशिवरात्रिमा देश विदेशका भक्तजनको घुइँचो

नेपालमा शान्ति र समृद्धिको कामना

blog

  • नेपाल, भारतसहित विभिन्न देशबाट पशुपतिनाथ आइपुगेकामध्ये आठ लाख भक्तजनले मन्दिरभित्र प्रवेश गरी पूजाआराधना गरेका छन् । 
  • “नेपाल आराध्यदेव शिव भगवान्को तपोभूमि हो । बाबा पशुपतिनाथको सानिध्यमा आउँदा भगवान्सँग सिधै साक्षात्कार भएको अनुभूति हुन्छ । नेपालको मुहार फेरियोस्, हाम्रो कामना यही छ ।”

काठमाडौँ, फागुन ४ गते । हरेक वर्ष झैँ यस पटक पनि भारतको उत्तर प्रदेशस्थित वाराणसीका रुद्रेश्वर गिरी पैदल यात्रा गरेरै काठमाडौँ आइपुग्नुभयो । महाशिवरात्रि पर्वमा आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नका लागि उहाँ नौ दिन पैदल यात्रा गरेर काठमाडौँ आइपुग्नुभएको हो । 

शिव सन्यासी सम्प्रदायमा आस्थावान् सन्यासी गिरी प्रत्येक वर्ष काठमाडौँ आउनुहुन्छ । उहाँसँगै वाराणसी पञ्च अटल अखाडाका सयौँ साधुसन्त पशुपतिनाथ मन्दिर आइपुग्नुभएको छ । उहाँले भन्नुभयो, “सन्त समाजको आफ्नै नियम हुन्छ, त्यसैले भगवान् पशुपतिनाथ मन्दिर दर्शन गर्ने उपयुक्त अवसर महाशिवरात्रि पर्व नै हो । विश्वशान्ति र सद्भावको कामना गर्न बाबा पशुपतिनाथको दर्शनका लागि आउने गर्छु ।” 

शिव सन्यासी सम्प्रदायका अखाडा पञ्चायती महानिर्वाणी अखाडा, निरञ्जनी अखाडा, तपोनिधि आनन्द अखाडा, पञ्चदशनाम जुना अखाडा, पञ्चदशनाम आह्वान अखाडा, पञ्चदशनाम पञ्च अग्नि अखाडासहित भारतका १३ वटै अखाडाबाट साधुसन्त पशुपतिनाथ मन्दिर आइपुगेका छन् । सन्यासी गिरीले हिन्दु धर्मावलम्बीको बाहुल्य रहेको नेपालको शान्ति, समुन्नति र स्थायित्वको कामना गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल तपोभूमि हो । बाबा पशुपतिनाथको सानिध्यमा आउँदा भगवान्सँग सिधै साक्षात्कार भएको अनुभूति हुन्छ । नेपालमा मुहार फेरियोस्, हाम्रो कामना यही छ ।”

सन्त गिरी जस्तै नासिकका शिवसचितानन्द भारती पनि महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिर आउनुभएको छ । उहाँले पहिलो पटक काठमाडौँ आएको र भगवान् पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्दा आनन्दित भएको बताउनुभयो । उहाँले जेनजी आन्दोलनका क्रममा नेपालमा विध्वंस भएको सुनेपछि यस पटक पशुपतिनाथ मन्दिर गएर शान्ति र स्थिरताका लागि कामना गर्ने अठोट लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “निकै ठुलो त्रासदिबाट हाम्रो छिमेकी देश उठ्दै छ । सन्त समाजले कामना गरेको छ कि पशुपतिनाथको देशमा शान्ति होस्, मङ्गल होस्, सबैको कल्याण होस् ।” 

‘धार्मिक पर्यटनबाटै उठ्न सक्छ नेपाल’

साधुसन्त मात्रै होइन, भारत, भुटान, कम्बोडियासहित विभिन्न देशबाट महाशिवरात्रि पर्वमा भगवान् पशुपतिनाथ मन्दिर दर्शन गर्नका लागि भक्तजन आएका छन् । मुम्बईका राघवेन्द्र सेलारले धार्मिक पर्यटनबाट नेपालको आर्थिक विकासमा भारतका भक्तजनले योगदान गर्न सक्ने बताउनुभयो । उहाँले बर्सेनि ५० लाखभन्दा धेरै भक्तजन नेपाल आउने आधार बनाउन पशुपतिनाथ मन्दिरसँगै लुम्बिनी, पोखरा र मुक्तिनाथ मन्दिरसम्म जाने गरी भौतिक संरचना निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बहुराष्ट्रिय कम्पनीमा काम गर्ने भएकाले व्यवसायको सिलसिलामा वर्षमा दुई–तीन पटक काठमाडौँ आउँछु । परिवारलाई पनि लिएर आउन मन छ तर काठमाडौँ आउने सडक राम्रो छैन । त्यसैले पूर्वाधारको कुरामा ध्यान पु¥याउनुपर्ने देखेको छु ।”

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पूजाआराधना 

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन र पूजाआराधना गर्नुभएको छ । राष्ट्रपति पौडेलसँगै राष्ट्रपति पौडेल र प्रथम महिला सबिता पौडेलले पशुपतिनाथको दर्शन र पूजाआराधना गर्नुभएको हो । प्रधानमन्त्री कार्कीले पनि पशुपतिनाथ मन्दिरमा दर्शन र पूजाआराधना गरी मूलभट्टबाट प्रसाद ग्रहण गर्नुभयो । उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हासहितका उच्च सरकार पदाधिकारी उपस्थित हुनुहुन्थ्यो । 

आठ लाखले गरे पूजाआराधना 

महाशिवरात्रि पर्वका अवसरमा आठ लाखभन्दा बढी भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रकाशमणि शर्माले शिवरात्रि पर्वमा नेपाल, भारतसहित विभिन्न देशबाट आएकामध्ये आठ लाख भक्तजनले मन्दिरभित्र प्रवेश गरी पूजाआराधना गरेको बताउनुभयो । 

उहाँका अनुसार श्रद्धालुलाई सहज रूपमा पूजाआराधनाका लागि सम्पूर्ण रूपमा व्यवस्थापकीय पक्षलाई ध्यान दिँदा सहज भएको छ । उहाँले भन्नुभयो, “मन्दिर प्रवेश गर्न लाइनमा बसेका भक्तजनलाई चाँडै पूजाआराधना गर्ने व्यवस्था मिलाउनका लागि विशेष ध्यान दिइएको छ ।”